Logo

नेपालमा उत्पादित बिजुली सरकारले खेर जान नदिने, ग्याँसमा अनुदान कटौतीदेखि निशुल्क विजुली उपलब्ध गराउनेसम्मका योजना

नेपालमा उत्पादित बिजुली सरकारले खेर जान नदिने, ग्याँसमा अनुदान कटौतीदेखि निशुल्क विजुली उपलब्ध गराउनेसम्मका योजना



काठमाडौं । पछिल्ला केही बर्षयता चर्चाको विषय बन्दै आएको विद्युत खपतको मुद्दलाई आगामी आर्थिक बर्षको बजेटले सम्बोधन गर्ने पहल गरेको छ । जलविद्युत आयोजनाबाट बढ्दो विजुली उत्पादन, उत्पादित विद्युतको खपतको चिन्ता र बढ्दो इन्धन आयातको तथ्यांकलाई सन्तुलन गर्न सरोकारवालाहरुले विद्युत खपत बढाउनै पर्ने दवाब दिंदै आएका छन् । जाडोयाममा कम उत्पादन भएर आयात गर्नुपर्ने र बर्षायाममा बढी भएर खेर जाने अवस्थालाई सन्तुलन गर्नेगरी सरकारले बजेटमा पनि विभिन्नज व्यवस्थाहरु समावेश गरेको छ ।

आइतबार संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गरिएको आगामी आर्थिक बर्षको बजेटमा उर्जा क्षेत्र विकासका लागि मात्रै भन्दै ७५ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ । बजेटमा वर्षायाममा बढी हुने वा आगामी केही बर्षमा उत्पादनमा वृद्धि भई खेर जाने विजुलीको व्यवस्थापनलाई केन्द्रमा राखिएको छ । पछिल्लो समय उर्जा सम्बद्ध सरोकारवाला र उर्जा उत्पादकहरुले पनि आगामी केहि बर्षपछि नै आवश्यक बजारको व्यवस्थापन नगर्दा उर्जा उत्पादन बढी भएर खेरजाने भयावह अवस्था आउने सक्ने बताइरहेका छन् । सोही विषयलाई सम्बोधन गर्दै बजेटमा आगामी आर्थिक बर्ष प्रतिव्यक्ति विद्युत खपत कम्तिमा ४ सय युनिट पुर्याईने घोषणा गरिएको छ । यस्तै घरेलु, औद्योगिक, यातायात, कृषि, सिँचाइ क्षेत्रमा ऊर्जा उपयोग र खपत वृद्धि गर्न ऊर्जा खपत विशेष योजना बनाइ कार्यान्वयन गरिने कुरा बजेटमा उल्लेख छ ।

चार्जिङ स्टेशन निर्माण

विद्युतीय सवारी साधनको प्रयोग बढाउन नेपाल विद्युत प्राधिकरणले ५० स्थानमा चार्जिङ्ग स्टेशनहरू सञ्चालन गर्ने कुरा बजेटमा उल्लेख गरिएको छ । पछिल्लो समय बढ्दै गएको पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्य र यसले निम्त्याएको बढ्दो व्यापारघाटालाई सन्तुलन गर्न सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिएको छ । तर, त्यसका लागि चार्जिङ स्टेशनको अभाव रहेको सरोकारवालाहरुले औँल्याईरहेका छन् ।

सोही विषयलाई मध्यनजर गर्दै आगामी आवको बजेटले विभिन्न स्थानमा रहेका पेट्रोल पम्पमा पनि चार्जिङ स्टेशन निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने उल्लेख गरेको छ । यस्तै विद्युतीय चुल्हो, उपकरण तथा यातायातका साधन प्रयोग गरी थप विद्युत खपत गर्न प्रेरित गरिने पनि बजेटमा उल्लेख छ । ठूला शहरहरूको यातायात सेवा र भान्सालाई क्रमशः विद्युतीय प्रणालीमा परिणत गरिने बताइएको छ । यति मात्रै नभई सार्वजनिक निकायले विद्युतीय सवारी साधन खरिद गर्नुपर्ने व्यवस्था मिलाइनेसमेत बजेटमा उल्लेख छ ।

अब विद्युतीय इँटा भट्टा

सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत परम्परागत इँटा भट्टालाई विद्युतीय इँटा भट्टाले क्रमशः विस्थापित गर्दै लैजाने नीति लिएको छ । हालसम्म कोइला, काठलगायतबाट संचालित इँटा भट्टालाई विद्युतीय इँटा भट्टाले प्रतिश्थापन गर्दा नेपालमा विद्युत खपत झनै बढ्ने अनुमान गरिएको छ । यस्तै हालसम्म डिजेलमार्फत संचालन हुने ठुला मेशिनरी तथा बोईलरलाई क्रमशः विद्युतीय बोईलरले विस्थापन गरिने उल्लेख छ ।

खाना पकाउने ग्याँसको अनुदान कटौती

सरकारले नेपालमा उत्पादिन विजुली खपत बढाउन र खाना पकाउने ग्याँसको आयात घटाउन एलपी ग्याँसमा प्रदान गर्दै आएको अनुदान क्रमशः कटौती गरी विद्युत उपयोगमा अनुदान प्रदान गर्ने नीति लिएको छ । एलपी ग्यास छोडौं, विजुली जोडौं भन्ने अभियान नै सञ्चालन गरी खाना पकाउने इन्धनको रूपमा प्रयोग हुने दाउरा, गुइँठा र एलपी ग्याँसलाई प्रतिस्थापन गर्न वायोग्यास, विद्युतीय चुलो, सुधारिएको चुलो तथा अन्य उपयुक्त आधुनिक एवं किफायती प्रविधिको व्यापक रूपमा प्रर्वद्धन गर्ने बताईएको छ । यससँगै करीब १ लाख घरधुरीमा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच पुर्याईने बताईएको छ ।

एलपी ग्याँस विस्थापन

यस्तै सरकारले देशभरी नै एलपि ग्याँसको प्रतिस्थापन विजुलीबाट गर्नेगरी पहिलोपटक सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्याँस सिलिण्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था गरेको छ । यससँगै आगामी ३ महिनाभित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्यास सिलिण्डर मुक्त गराई क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाइने बजेटमा बताईएको छ ।

निशुल्क विद्युत

सरकारले नेपाली जनतालाई विद्युत खपतमा प्रोत्साहन गर्नका लागि भन्दै २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई निशुल्क विद्युत उपलब्ध गराउने भएको छ । विद्युत सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग गर्ने नीतिअनुरूप काठमाडौँ उपत्यकाबाट प्रारम्भ भएको स्मार्ट मीटर जडान कार्यलाई क्रमशः विस्तार गरिनेछ । विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर जडान गर्ने कार्य गर्नेसमेत बजेटमा बताईएको छ । काठमाडौं उपत्यकामा आगामी ३ वर्षभित्र विद्युत वितरण पूर्वाधार सबल बनाई एलपिग्याँस र पेट्रोलियम पदार्थको उपयोग उल्लेख्य रूपमा घटाइनेछ । कृषिमा आत्मनिर्भर हुन सिँचाइ कार्यमा खपत हुने विद्युतमा सहुलियत प्रदान गरिनेसमेत बजेटमा उल्लेख छ ।

विद्युत बजार व्यवस्थापन

सरकारले नेपालमा उत्पादन भई खेर जाने अर्थात उपज हुने विजुली विदेशमा निर्यात गर्ने नीतिसमेत लिएको छ । पछिल्ला बर्ष चर्चाको बिषय बनेको विद्युत निर्यातका लागि सरकारले विभिन्न कदमहरु चालिरहेको छ । तर, आगामी आर्थिक बर्षको बजेटमा विद्युत निर्यात व्यापारका लागि द्विपक्षीय तथा वहुपक्षीय व्यापार सम्झौता गरी आन्तरिक खपतबाट बचत भएको ऊर्जा निर्यात गरिने कुरा उल्लेख छ । यस्तै राष्ट्रिय तथा अन्तर्देशीय विद्युत प्रसारण लाइनको सुदृढीकरण, विस्तार एवं स्तरोन्नति गरी विद्युत प्रसारण एवं वितरण प्रणालीलाई प्रभावकारी र भरपर्दो बनाइने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL