Logo

एनटिआइएसमा सूचिकृत बस्तुको निर्यात निरासजनक

एनटिआइएसमा सूचिकृत बस्तुको निर्यात निरासजनक


रक्षा रेग्मी
0
Shares

काठमाडौं । सरकारले निर्यातका लागि उच्च प्राथमिकतामा राखेका बस्तुहरुको निर्यात उल्लेख्य रुपमा घटेको छ । सीमा नाकामा भएको अवरोध तथा पेट्रोलियम पदार्थको अभावले निर्यात योग्य उच्च प्राथमिकताका रहेका वस्तुहरुको निर्यात घटेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जानकारी दिएको छ ।

उच्च प्राथमिकतामा रहेका रहेक बस्तुको निर्यात वार्षिक १ अर्बभन्दा बढी पुर्याउने भनिएपछि ६ महिना वितिसक्दा कतिपपय बस्तुको निर्यात ४ करोडभन्दा बढी हुन सकेको छैन । सो अवधिमा आर्टिकल तथा सिल्भर जेवेलरीको निर्यातमा ४२ प्रतिशतले गिरावट आई ४ करोड २२ लाख रुपैयाँ बरावरको मात्र निर्यात भएको छ । यस्तै, इसेन्सियल आयल ९ करोड ८२ लाख रुपैयाँ बरावरको निर्यात भएको छ भने महको निर्यात शुन्यमा झरेको छ ।

गत आवको ६ महिनामा ३२ करोड १२ लाखको मह निर्यात भएकोमा चालू आवमा भने निर्यात हुन सकेको छैन । नेपालमा महको गुणस्तर मापन गर्ने यन्त्र नभएका कारण निर्यात हुन नसकेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एकिकृत व्यापार रणनीति (एनटीआईएस) अन्तरगत रहेका बस्तुको निर्यात ९ अर्व ७१ करोड ८९ लाख रुपैयाँ मात्र छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा करिव ४ अर्वले कमी हो । गत आवको पहिलो ६ महिनामा १३ अर्व ७७ करोड ३८ रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । विशेषगरी चालू आवमा त्यस्ता वस्तुको भारततर्फको निर्यात घटेको बताइएको छ ।

प्रवद्र्धन कन्द्रको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामा निकासीको उच्च प्राथमिकतामा परेको बस्तुमध्ये जडिबुटीको निर्यातमा सवैभन्दा बढी गिरावट आएको छ । गत आवका तुलनामा जडिबुटीको निर्यात ७८ दशमलव ९ प्रतिशतले घटेको छ । गत आवको सो अवधिमा १ अर्ब १६ करोड २९ लाख रुपैयाँ बरावरको जडिबुटी निर्यात भएकोमा चालू आवमा २४ करोड ४८ लाखमा रुपैयाँको मात्र निर्यात भएको छ ।

यसैगरी, फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा ५८ दशमलव ६ प्रतिशतले ह्रास आई रु.२ अर्व ५२ करोडको मात्र निर्यात भएको भएको छ । सो अवधिमा चाउचाउको निर्यात ५५ प्रतिशतले घटेको छ । गत साउनदेखि पुससम्म २० करोड २७ लाखको चाउचाउ निर्यात भएको छ ।

उच्च प्राथमिकतामा रहेको बस्तुहरुको निर्यात हुन नसकेकै कारण सरकारले त्यसलाई परिमार्जन गर्दै कतिपय बस्तुहरु हटाएको छ । यस अघि निर्यातको लागि उच्च प्राथमिकतामा १३ बस्तु राखिएकोमा हाल त्यसलाई घटाएर ९ मा झारिएको छ । त्यसमध्ये पनि धेरैलाई हटाएर नयाँ थपिएको छ ।

सो अवधिमा अलैचीको निर्यात भने ६१ दशमलव २ प्रतिशतले बढेको छ । गत बर्षको पहिलो ६ महिनामा १ अर्व ४८ करोड ५ लाख बराबरको अलैँची निर्यात भएको थियो । तर, चालु आवको सो अवधिमा २ खर्व २८ करोड ६१ लाखको अलैँची निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै चिया तथा अदुवाको निर्यातमा पनि बृद्धि भएको छ । गत बर्ष १ अर्व १८ करोड २३ लाख बराबरको चिया निर्यात भएकोमा चालु आवको पुससम्म १ अर्व २८ करोड ६० लाखको निर्यात भएको छ ।

अदुवाको निर्यात गत बर्षको सो अवधिको तुलनामा १८ दशमलव ८ प्रतिशतले बढेको छ । गत बर्षको अघिल्लो ६ महिनामा २० करोड ११ लाखको अदुवा निर्यात भएकोमा चालु आवको सो अवधिमा २३ करोड ९० लाखको निर्यात भएको छ ।

करिव ५ महिना लामो भारतीय अघोषित नाकाबन्दीले देशको कुल वैदेशिक व्यापारमै ह्रास आएको छ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालको कुल आयात र निर्यात दुवै घटेको छ । सो अवधिमा नेपालको निर्यात व्यापारमा २८ दशमलव ६ प्रतिशतले ह्रास आई रु. ३१ अर्व ४४ करोडमा सिमित भएको छ ।

नेपालबाट भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, फ्रान्स, टर्की, चीन, जापान, इटाली, क्यानडा, वंगलादेश, नेदरलेण्ड्स, अष्ट्रेलिया र स्वीट्जरल्याण्डलगायत देशमा वस्तु निर्यात हुन्छ ।

६ महिनाको निर्यात तथ्याङ्क

ntis-6

प्रतिक्रिया दिनुहोस्
MBL