Logo

महालेखाका कारण ढिलो भयो लाइसेन्सको अनलाइन आवेदन, राजश्व भुक्तानीको समस्या

महालेखाका कारण ढिलो भयो लाइसेन्सको अनलाइन आवेदन, राजश्व भुक्तानीको समस्या



काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले अनलाइन भुक्तानीको व्यवस्था चाँडो नगरिदिँदा लाइसेन्सको अनलाइन आवेदनमा ढिलाई भएको छ । यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिँदा त्यसैमार्फत भुक्तानी गर्न सकिने गरी नयाँ प्रणालीको विकास गरेको छ । जसमार्फत डकुमेन्टदेखि कार्यालयमा गई भुक्तानी गर्नुपर्ने राजस्वसमेत अनलाइनबाटै तिर्न सकिन्छ । तर, विभागले यसको सबै प्रणाली विकास गरिसकेपनि राजस्व भुक्तानीको समस्या भने समाधान नभएका कारण आवेदन खुलाउने प्रक्रियामा ढिलाई भईरहेको हो ।

सरकारी कार्यालयहरुको राजस्व भुक्तानी महालेखा परीक्षकको अनलाइन भुक्तानी प्रणालीमार्फत हुन्छ । कार्यालयको पुरानो भर्सनमा कनेक्ट आईपीएस र इसेवामार्फत राजस्व भुक्तानी गर्नुपर्ने सुविधा थियो । नयाँ आएको भर्सनमा भने हालसम्म कुमारी बैंक मात्रै जोडिएको छ । वालेट र अन्य भुक्तानी सेवाप्रदायकहरु जोडिने क्रममै छन् । जसका कारण हालै लाइसेन्सको अनलाइन आवेदन खोल्दा सेवाग्राहीलाई राजस्व भुक्तानीमा समस्या हुने भएकाले ढिलाई भईरहेको विभागका प्राविधिक निर्देशक सन्तोष पोख्रेलले बताए ।

उनका अनुसार मलेनिकालाई सबै बैंक, वालेट तथा भुक्तानी सेवाप्रदायकलाई आफ्नो प्रणालीमा जोड्नका लागि अझै १ देखि डेढ महिना लाग्नेछ । त्यहाँसम्मका लागि विभागले बरु लाइसेन्सका लागि फारम भरिसकेपछि राजस्वको भौचर जेनरेट हुने र सोही भौचर जुनसुकै बैंकमा गएर बुझाउन सकिने व्यवस्था गर्दैछ ।

प्रणालीमा यस्तो व्यवस्था सिर्जना गर्न कम्तीमा २ देखि ३ दिन लाग्ने विभागका निर्देशक पोख्रेलले बताए । उनका अनुसार विभागले अनलाइनबाटै पूर्ण रुपमा राजस्व बुझाउनका लागि भने केही दिन अझै लाग्ने भएपनि हाललाई अस्थायी रुपमै राजस्व बुझाउने प्रणाली विकास गरी आवेदन खुला गर्ने तयारी भएको छ । उनले आगामी २ देखि ३ दिनमा लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी गरिरहेको बताए ।

विभागले विकास गरेको प्रणालीको सबैजसो काम सम्पन्न भईसकेको छ । आवेदन लिने प्रणाली जेठ पहिलो हप्ता नै तयार भईसकेको भएपनि अनलाइन भुक्तानीको प्रणालीमा मलेनिकाले नै ढिलाई गरिदिँदा ढिलाई भएको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु बताउँछन् । उनका अनुसार अब खुल्ने नयाँ लाइसेन्सको अनलाइन आवेदनमार्फत कुन कार्यालयमा कति जनाले फारम भरेका छन, आफ्नो पालो कहिले आउने, कति जनाले आवेदन भर्न पाईनेलगायतका जिज्ञासाहरु पनि हेर्न पाईनेछ । यसपछि सेवाग्राहीले आफ्नो पायक पर्ने दिनका आधारमा ट्रायल र लिखित परिक्षाको डेट फिक्स गर्न सक्नेछन् ।

यातायात व्यवस्था विभागले हालसम्म आएका आवेदनलाई टुंगोमा पुर्याउने आवेदन लिने नयाँ प्रणालीको विकास गर्ने भन्दै २ महिना अघि लाइसेन्सको अनलाइन आवेदन स्थगित गरेको थियो । त्यसयता देशभरका धेरैजसो कार्यालयहरुमा आएका आवेदनको टुंगो लगाई लिखित र प्रयोगात्मक परिक्षा सम्पन्न गरिसकेको प्रवक्ता पनेरुले बिजखबरलाई बताए । काठमाडौं उपत्यकाका केही कार्यालयहरुमा भने ठूलै भिड लाग्ने भएपछि केहि अंश मात्रै सेवाग्राही बाँकी रहेको र अन्य क्षेत्रमा करिव सम्पन्न भइसकेको उनको भनाई छ ।

यसपश्चात खूल्ने नयाँ आवेदन प्रणालीमा आवेदन दिनेले अनलाइनबाटै राजस्व भुक्तानी गर्न सक्नेछन् भने परीक्षाको मिति पनि आफै तोक्न सक्नेछन् । नयाँ प्रणालीमा लाइसेन्सको आवेदन लिनका लागि कोटा प्रणाली तोकिनेछ । एक दिनमा कति आवेदन लिने भन्ने कोटा तोकिएपछि सोही अनुसार लिखित र प्रयोगात्मक परिक्षा लिने तयारी विभागको छ । यसका लागि विभागले डेढ महिनाको छोटो अवधिमै नयाँ सिस्टम विकास गरेको हो । विभागले नयाँ प्रणालीमा छिटो लाइसेन्स आवश्यक हुनेहरुका लागि पनि छुट्टै व्यवस्था गरिदिएको छ । जसमा भेरिफाईड सबै डकुमेन्ट अपलोड गरेर चाँडोभन्दा चाँडो लाइसेन्स प्राप्त गर्न सकिने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्