काठमाडौं । केही दिनअघि सञ्चालनमा आएको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको भैरहवामा होल्ड गरिएको छ। चरा ठोकिएपछि राति नै फिर्ता जानु पर्ने जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ ।
हवाई जहाजको बाहिरी भागमा रगत देखिएको तर, रनवेमा कतै चरा नदेखिएको विमानस्थलका अधिकारीले बताएका छन्। पाइलटहरूले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन् । १ सय २१ जना यात्रु बोकेर आएको जजिरा एयरलाइन्सको जहाज राति पौने २ बजे चरासँग ठोकिए पनि सबै सकुशल रहेका छन् ।
काठमाडौँबाट प्राविधिक आएर चेकजाँच गरेपछि मात्र जजिराले यहाँबाट उडान भर्ने छ । जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेको जजिरा एयरलाइन्सले साताको ३ उडान गरिरहेको छ । सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको जजिराले निकट भविष्यमा दैनिक उडानको तयारी समेत गरेको छ ।