Logo

गोदाममै थन्कियो चीनले दिएको ‘इन्डक्सन’ चुलो, मन्त्रिपरिषद्बाट टुङ्गो लगाईँदै

गोदाममै थन्कियो चीनले दिएको ‘इन्डक्सन’ चुलो, मन्त्रिपरिषद्बाट टुङ्गो लगाईँदै


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । भारतीय नाकाबन्दीको समयमा चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘इन्डक्सन’ चुलो नेशनल ट्रेडिङको गोदाममा थन्किएर बसेको छ । बढी मुल्यका कारण उपभोक्ताहरुले नकिनेपछि गादाममै थन्किएर बसेको नेपाल ट्रेडिङका महाप्रवन्धक सत्यनारायण मेहताले बताए ।

सरकारले चीनले दिएको इन्डक्सन चुलोको मुल्य प्रति गोटा ११ हजार ९ सय ९६ रुपैयाँ निर्धारण गरेको थियो । तर, बजारमा पाइने मुल्यभन्दा एकदमै बढी भएकाले विक्री हुन सकेको छैन । हाल नेशनेल ट्रेडिङले २ हजार ८ सय रुपैयाँसम्ममा इन्डक्सन चुलो उपलब्ध गराउँदै आएको छ । सो मुल्यको तुलनामा चीनले दिएको इन्डक्सनको मुल्य एकदमै बढी हो ।

त्यतिवेला चीन सरकारले अनुदान स्वरुप दिएको भएपनि उसले नेपाललाई दिँदै आएको वार्षिक ग्राण्ड अन्तरगत दिएकाले सोही अनुरुप मुल्य निर्धारण गरिएको थियो । त्यतिवेला चीनले प्रति गोटा ९ हजार २ सय रुपैयाँमा उपलब्ध गराएको थियो । भन्सार तथा भ्याट लगाएका शुल्क जोड्दा अन्तिम मुल्य १२ हजार रुपैयाँ पर्न गएको छ ।

मेहताका अनुसार मुल्य घटाउनका लागि आपूर्ति मन्त्रालयमा सिफारिस गरिएको छ । अपूर्ति मन्त्रालयले पनि मन्त्रिपरिषद्बाट मात्रै मुल्य घटाउन सक्ने छ । ‘इक्डक्सन वार्षिक ग्राण्ड अन्तरगत आएकाले यसको मुल्य घटाउन अर्थ लगायत सम्पूर्ण सरोकारवाला मन्त्रालयसँग सहमति लिनुपर्छ,’ मेहताले भने, ‘जसले गर्दा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्बाटै मुल्य घटाउने तयारी गरेको छ ।’

हालसम्म चीनबाट ११ हजार ३ सय थान इन्डक्सन चुलो नेपाल भित्रिएको छ । उपभोक्तालाई खाना पकाउन ग्याँस अभावको समयमा इन्डक्सन वितरण गर्ने भनिएपनि हालसम्म विक्री हुन सकेको छैन ।

मुल्य घटाउन सहमति दिने निकाय अर्थ मन्त्रालय भने यस विषयमा आफुहरुलाई कुनै चासो नभएको बताउँदै आएको छ । ‘वाणिज्यले इन्डक्सन ल्याउँदा हामीसँग सहमति लिएर ल्याएको होइन,’ अर्थका एक अधिकारीले भने, ‘तसर्थ मुल्य निर्धारणमा पनि अर्थले कुनै चासो राख्दैन ।’ चीन सरकारले उपलब्ध गराएको मुल्यमा बेच्न सक्ने वा नसक्ने भन्ने विषयमा ल्याउनु पूर्व नै जानकारी लिनुपर्ने अर्थको भनाइ छ ।

यस अघि पनि आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयबीच कुरा नमिल्दा इन्डक्सनको मुल्य निर्धारणमा समस्या उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL