काठमाडौं । नेपालमा केही समयता महँगी निरन्तर बढिरहेको रहेको छ । पछिल्लो समय दैनिक उपभोग्य सामग्रीदेखि प्राय सबै वस्ुतहरुसम्म मूल्य बढिरहेकोे छ । जसका कारण उपभोक्ताहरु निकै चिन्तित छन् । तपाई कुनै पनि सामान खरीद गर्न पसलमा पुग्दा पहिलेभन्दा मूल्य बढी तिर्नुपरेपछि तपाईले महँगी बढेको जानकारी पाउनुहुन्छ ।
यस्तोमा तपाईले मूल्य किन बढ्यो भनेर प्रश्न गर्नुभयो भने त्यहाँ विभिन्न जवाफ आउँछन् । कसैले उत्पादकले मूल्य बढाएको भनेर भन्छ भने कसैले होलसेलले, कसैले ढुवानीभाडा बढेर त कसैले सरकारले नै मूल्य बढाएको भनेर जवाफ दिन्छन । पछिल्लो समय भने नेपालमा महँगी बढ्नुमा उद्योगीदेखि खुद्रा पसलेसम्मले रुस–युक्रेन युद्धका कारण बढ्दो इन्धनको मूल्य र कच्चापदार्थको मूल्य बढनु रहेको बताइरहेका छन् ।
सामान्य उपभोक्ताले कुनै पनि वस्तुको मूल्यवृद्धिमा विभिन्न पक्ष जिम्मेवार हुन्छन् भन्ने कुरा बुझ्दैनन् । उपभोक्ताले आफुले खरीद गर्ने वस्तु सहज र सुलभ मूल्यमा पाउनु उपभोक्ताको अधिकार पनि हो । यसैले सरकारले मूल्य नियन्त्रणका लागि विभिन्न व्यवस्था गरेको छ । तर, पनि मूल्वृद्धि भने निरन्तर छ ।
नेपालमा कसरी मापन गरिन्छ ?
नेपालमा नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति शीर्षकमा हरेक महिना वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीतिको विवरण सार्वजनिक गर्ने गर्छ । यसमा राष्ट्र बैंकले होलसेल प्राइस इन्डेक्स (इब्लुपीआइ) अर्थात थोक मुद्रास्फीति र कन्ज्युमर प्राइस इन्डेक्स (सिपीआइ) अर्थात खुद्रा मुद्रास्फीतिको दर प्रकाशन गर्ने गरेको छ । राष्ट्र बैंकले यसका लागि ४ हजार बढी वस्तुको ६० वटा सेक्टरबाट अध्ययन गरि तथ्यांक सार्वजनिक गर्ने गरेको छ ।
नेपाल राष्ट्र बैंक अन्तरगत अनुसन्धान तथा विकास (आरएण्डडी) का कार्यकारी निर्देशक प्रकाश श्रेष्ठका अनुसार राष्ट्र बैंकले यसका लागि मासिक, पाक्षिक तथा साप्ताहिक रुपमा विभिन्न वस्तु र सेवाको अध्ययन गरेर तथ्यांक निकाल्ने गर्छ । जसबाट नै नेपालमा महँगी अर्थात मुद्रास्फीतिको वास्तविक अवस्था सार्वजनिक हुने गरेको छ । राष्ट्र बैंकले इब्लुपीआई र सिपिआइका लागि सन् २०१७–१८ र सन २०१४–१५ लाई आधार वर्षका रुपमा लिने गरेको छ । यस्तो आधार वर्ष समयानुकुल परिवर्तन हुने श्रेष्ठले बताए ।
कसरी बढ्छ मूल्य ?
बजारमा महँगी बढनुमा सबैभन्दा मुख्य पक्ष इन्धनको मूल्यमा हुने वृद्धि हो । इन्धनको मूल्यमा वृद्धिले मुद्रास्फीतिमा चौतर्फी प्रभाव पारेको हुन्छ । यसले खाद्यान्न र पेय पदार्थ तथा उत्पादनसम्म यातायातको लागत बढाउँछ । विज्ञहरूका अनुसार इन्धनको मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा खुद्रा मुद्रास्फीति करिब १ प्रतिशतसम्मले बढ्छ । तर, राष्ट्र बैंकले भने यति नै प्रतिशत भनेर उल्लेख गर्ने गरेको छैन् । इन्धनको मूल्यवृद्धिले समग्र वस्तुको मूल्य बढने भएकाले इन्धनको मूल्य नियन्त्रणका लागि सरकारले उपयुक्त तत्काल कदम चाल्न आवश्यक हुने उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । अन्यथा मुद्रास्फीति नियन्त्रण गर्न गाह्रो हुन्छ ।
खुद्रा र थोक मुद्रास्फीति बीचको भिन्नता ?
थोक मुद्रास्फीतिले थोक व्यापारीको बिन्दुमा मूल्यमा भएको वृद्धिलाई मापन गर्दछ र केवल सामानको मूल्यमा भएको वृद्धिलाई ध्यानमा राख्छ, जबकि खुद्रा मुद्रास्फीतिले खुद्रा विक्रेताको बिन्दुमा मूल्यवृद्धि मापन गर्दछ र वस्तु र सेवाहरूको मूल्यमा भएको वृद्धिलाई पनि समावेश गर्दछ ।
भारतमा थोक मुद्रास्फीतिमा उत्पादित वस्तुको सबैभन्दा बढी भार ६४.२३ प्रतिशत रहेको छ । जबकि खुद्रा मुद्रास्फीतिमा सबैभन्दा बढी ४५ दशमलव ८६ प्रतिशत खाद्य तथा पेय पदार्थलाई दिइएको छ । अर्थात्, जब खाद्य वस्तुहरूमा मुद्रास्फीति हुन्छ्, तिनीहरू खुद्रा मुद्रास्फीतिमा प्रतिबिम्बित हुन्छन् । अर्कोतर्फ उत्पादित वस्तुको मूल्य बढेसँगै यसको असर थोक मुद्रास्फीतिमा देखिन्छ । यी दुई अंकको मापन फरक भएकाले थोक मुद्रास्फीतिबाट खुद्रा मुद्रास्फीति अनुमान गर्न गाह्रो हुन्छ ।
उपभोक्ताहरूमा थोक मुद्रास्फीतिको प्रभाव
थोक मुद्रास्फीतिले उपभोक्तालाई तुरुन्तै नभई आगामी दिनमा असर पार्छ । यसमा माग र आपूर्तिका अतिरिक्त इन्धनको मूल्यवृद्धिले ढुवानी महँगो हुने गरेको छ । उदाहरणका लागि भारतमा यातायात लागत सामान्यतया उत्पादनको लागतको १४ प्रतिशत मानिने गरेको छ । यस्तो अवस्थामा एक सय रुपैयाँको वस्तु थोक बजारबाट खुद्रा पसलमा पुगेमा ११४ रुपैयाँ पुग्छ । तर, यसबीचमा पेट्रोल, डिजेलको मूल्य बढेपछि ढुवानी खर्च पनि बढ्छ ।
यस्तो अवस्थामा त्यो वस्तु ११४ को सट्टा रु ११७ वा रु ११८ बन्छ । यसबाहेक मागभन्दा कुनै कारणले आपूर्ति प्रभावित भएमा मूल्य बढ्छ । यही कारण हो कि जब थोक मुद्रास्फीति बढ्छ, यसले आगामी दिनहरूमा खुद्रा मुद्रास्फीतिको रूपमा उपभोक्ताहरूलाई असर गर्छ । नेपालमा भने यति नै प्रतिशत भनेर वस्तुको उत्पादनमा इन्धनको लागत मूल्य नतोकिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठ बताउँछन् । यस्तै उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले पनि नेपालमा उत्पादनमा इन्धनको लागत तोक्ने कुनै व्यवस्था नरहेको बताए ।
नेपालमा मुद्रास्फीतिको पछिल्लो अवस्था
नेपाल राष्ट्र बैंकले गत बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(आर्थिक वर्ष २०७८–७९ को नौ महिनाको तथ्यांकमा आधारित) मा २०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात महँगी ७.२८ प्रतिशत रहेको छ । नेपालमा मूल्यवृद्धि निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो ।
चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । चैत महिनामा औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ । २०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ । चैत महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
२०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो । चैत महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ । सोही महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ ।