Logo

बर्षाका कारण विद्युतको आन्तरिक उत्पादन बढ्यो, भारतबाट बिजुली आयात घटाइयो

बर्षाका कारण विद्युतको आन्तरिक उत्पादन बढ्यो, भारतबाट बिजुली आयात घटाइयो



काठमाडौं । पछिल्लो समय लगातार परिरहेको बर्षाका कारण नेपालमा विद्युतको आन्तरिक उत्पादन बढेको छ । चैत र बैशाखमा खडेरी परेर घटेको विद्युत उत्पादन पछिल्लो समय पानी परेपछि भने बढेको हो । नेपालमा धेरैजसो जलविद्युत आयोजना नदी प्रवाही ‘रन अफ रिभर’ (आरओआर)मा आधारित छन् । जसका कारण विद्युत उत्पादन हिउँदमा कम र बर्खायाममा बढी हुन्छ ।

हिउँदमा खोलानाला, नदी सुकेपछि विद्युत उत्पादन पनि घट्छ र नेपालले आफ्नो खपत पुरा गर्न भारतबाट विद्युत आयात गर्नुपर्छ । तर, बर्खायाममा खोलानालामा पानीको सतह बढेपछि विद्युत उत्पादन पनि बढेर आवश्यकताभन्दा बढी हुन्छ र भारतमा विजुली बेच्नुपर्ने अवस्था आउँछ ।

केहि दिन अघि नेपालमा विद्युत आपुर्ति मागअनुसार नपुगेको अवस्था थियो । गत बिहीबार प्रणालीमा १८ लाख ८० हजार युनिट विद्युत अपुग थियो । त्यसबेला भारतबाट आवश्यक विजुली आएन र नेपाली उत्पादनले पनि धान्ने अवस्था थिएन । तर, खपत अनुसारको विजुली आपुर्ति नभएपछि केही दिन उद्योगमा बिजुली कटौती नै गर्नुपर्ने अवस्थासमेत आएको थियो । तर, त्यसकै भोलिपल्ट अर्थात शुक्रबारदेखि नै नेपालका विभिन्न स्थानमा बर्षा सुरु भयो, नदीको सतह बढ्यो र नदिप्रवाही विद्युत आयोजनामार्फत हुने विद्युत उत्पादन पनि बढेको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई बताउँछन् ।

बिहीबार नेपालमा आन्तरिक उत्पादन २ करोड ११ लाख ५२ हजार युनिट विजुली उत्पादन भईरहेको थियो । तर, विद्युतको माग भने ३ करोड १४ लाख ३९ हजार युनिटको थियो । त्यसको पुर्ति गर्नका लागि नेपाल विद्युत प्राधिकरणले भारतबाट ८४ लाख ७ हजार युनिट विजुली आयात गरेको थियो । तर, पनि माग बढि भएपछि भनेको जति आपुर्ति हुन सकेको थिएन । तर, हिजो आईतबार भने विजुलीको मागजति विद्युत आपुर्ति भईरहेको प्राधिकरणले जानकारी दिएको छ ।

आन्तरिक उत्पादन बिहीबारको तुलनामा करिव ३५ लाख युनिटले बढेको छ । यसरी आन्तरिक उत्पादन बढेपछि भारतबाट आउने विजुलीको मात्रासमेत करिव ३१ लाख ६९ हजार युनिटले घटिसकेको छ । गत बिहीबार नेपालले ८४ लाख युनिट विजुली भारतबाट आयात गरेको थियो । त्यसअघिका दिनहरुमा पनि प्राधिकरणले करिव ९० लाख युनिटसम्म विजुली आयात गरिरहेको थियो । तर, आइतबार भने प्राधिकरणले ५२ लाख युनिट विजुली मात्रै भारतबाट आयात गरेको छ । आज नेपालमा विद्युतको माग २ करोड ९९ लाख युनिट बराबर छ । यो सबै माग भारतबाट ल्याएको विजुली र आन्तरिक उत्पादनले धानिरहेको प्राधिकरणले जानकारी दिएको छ ।

हाल नेपाल विद्युत प्राधिकरण मातहतका विदुतगृहहरुबाट ९३ लाख युनिट, प्राधिकरणका भगिनि कम्पनीहरुबाट ५३ लाख ४४ हजार युनिट र स्वतन्त्र उर्जा उत्पादक कम्पनीहरुबाट १ करोड ९९ हजार युनिट विद्युत उत्पादन भईरहेको छ । गत बिहीबार नेपालमा हुने यस्तो उत्पादनमध्ये प्राधिकरण मातहतका विदुतगृहहरुबाट ७८ लाख युनिट, प्राधिकरणका भगिनि कम्पनीहरुबाट ४२ लाख युनिट र स्वतन्त्र उर्जा उत्पादक कम्पनीहरुबाट ९० लाख युनिट विद्युत मात्रै उत्पादन भइरहेको थियो ।

अझै केहीदिन बर्षा हुने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणका कारण आन्तरिक विद्युत उत्पादन अझै बढ्ने अनुमान प्राधिकरणको छ । हाल नदीप्रवाहमा आधारित जलविद्युत आयोजना निर्माण गरिएका नदिहरुमा पानीको सतह केही बढेको छ । जसका कारण आन्तरिक उत्पादनमा ५ देखि ७ प्रतिशत विजुली थप भएको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई बताउँछन् । उनका अनुसार आन्तरिक विजुली उत्पादन बढ्दा भारतबाट ल्याउने विजुलीको मात्रा घटिरहेको छ ।

नेपालले साउन–भदौमा उत्पादन हुने विजुली बढी हुने भएपछि भारतमा बर्षामा २ सय मेगावाट विजुली बेच्नका लागि टेण्डर आह्वान गरिसकेको छ । तर, पुनः आइतबार पानी कम परेकाले सोमबार भने आन्तरिक विजुलीको उत्पादन केही घटेको प्रवक्ता भट्टराई बताउँछन् । उनका अनुसार सोमबार आन्तरिक उत्पादनमा केहि गिरावट आएको छ भने भारतबाट आउने विजुली आइतबारको तुलनामा बढेको छ । यस्तै प्रणालीमा केही मात्रामा विजुली अपुग पनि भईरहको उनले बताए । आज विद्युतको उच्चतम माग पनि बढेर १६ सय ५ मेगावाट पुगेको छ । यस्तो उच्चतम माग आइतबार १४ सय ९५ मेगावाट थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL