Logo

लाग्यो चुनाव : एक हप्तामा साढे ३ लाखले छाडे काठमाडौं, यातायात व्यवसायी मालामाल

लाग्यो चुनाव : एक हप्तामा साढे ३ लाखले छाडे काठमाडौं, यातायात व्यवसायी मालामाल



काठमाडौं । पछिल्लो एक हप्तामा मात्रै काठमाडौंबाट साढे ३ लाख मानिस बाहिरिएका छन् । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनका लागि राजधानीमा बसोबास गरिरहेका बाहिरी जिल्लाका मतदाताहरु धमाधम गाउँ फर्किरहेका हुन् ।

पछिल्लो १ हप्ता अर्थात गएको आइतबारदेखि हालसम्म ३ लाख ४६ हजार बढीले काठमाडौं छोडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता संजीव शर्मा दासले बताए । उनका अनुसार प्रत्येक दिन ४५ देखि ५० हजारको हाराहारीमा मानिसहरु काठमाडौं छोडेर बाहिरिँदैछन् ।

कार्यालयले दिएको तथ्यांक अनुसार गत आइतबार ५३ हजार जनाले काठमाडौं छोडेका थिए, त्यसको भोलिपल्ट सोमबार भने ५२ हजार जनाले काठमाडौं छोडेका थिए । यस्तै मंगलबार ४९ हजार, बुधबार ४७ हजार, बिहीबार ५२ हजार र शुक्रबार ५० हजार र शनिबार ५३ हजार जनाले काठमाडौं छोडेका हुन् ।

आगामी ३० गते स्थानीय तहको निर्वाचनका लागि मतदान हुादैछ । उक्त चुनावका लागि काठमाडौंमा बसोबास गर्ने बाहिरका मानिसहरु भोट हाल्नकै लागि बाहिरिने क्रम बढ्दै गएको नेपाल यातायात व्यावसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन् । अघिल्ला बर्षहरुको यो समयमा काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीसाधन प्रायः खाली हुन्थे । यो बर्ष भने बेसिजनमै गाडीहरु पूर्ण रुपमा संचालन भएको उनी बताउँछन् ।

‘अघिल्ला बर्षहरु मध्यम तथा लामो दूरीका बसहरु खाली नै हुन्थे, तर, यो बर्ष भने फरक छ,’ उनले भने, ‘यसपाली गाडी रिजर्भ गर्नेहरु र बुकिङ गरेर जानेहरुको संख्या बराबरैजस्तो छ ।’ उनका अनुसार बाहिरिने मानिसहरु बढेपछि थन्किएका गाडीहरु पनि निकालेर संचालनमा ल्याउनुपर्ने अवस्था आएको छ ।

स्थानीय तहको चुनावमा स्थानीय तहकै जनप्रतिनिधिहरुले काठमाडौंमा बस्ने मानिसहरुलाई गाउँ फर्कन भाडा पठाईदिने, गाडी बुकिङ गरिदिने, रिजर्भमा गाडी पठाउनेलगायतका कारण पनि काठमाडौं छोड्ने बढ्दै छन् । आफ्नो पक्षमा भोट हालुन भनेरै स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तहका मानिसहरुलाई भाडासम्म पठाईदिने गरेका छन् । गाउँ जान मन नभएपनि स्थानीय जनप्रतिनिधिले भाडा पठाईदिएपछि जान बाध्य भएको बताउँछन् अछाम कालेकाँडाका निरोज शाह । उनका अनुसार उनलाई जनप्रतिनिधिले नै गाडी भाडा र बाटो खर्च पठाइदिएका छन् ।

पछिल्लो समय जनप्रतिनिधि नै गाउँमा जनता बोलाउन थालेपनि काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ । निर्वाचन मिति नजिकिएसँगै भोलिदेखि झन् धेरै मानिसहरुले काठमाडौं छाड्ने बताइएको छ । तर, सरकारी निजी कार्यालय, विद्यालय, कलेजलगायत बन्द नभएकाले दशैंको जस्तो भने नभएको ट्राफिक प्रहरीका प्रवक्ता दास बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL