Logo

मनलाग्दी भाडा असुल्दै उपत्यकाका सार्वजनिक सवारीसाधन, प्रतियात्रु १० रुपैयाँसम्म बढी उठाउँदै

मनलाग्दी भाडा असुल्दै उपत्यकाका सार्वजनिक सवारीसाधन, प्रतियात्रु १० रुपैयाँसम्म बढी उठाउँदै



काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनका लागि यात्रुसँग कति भाडा लिने भन्ने निर्धारण गरिदिएको छ । नयाँ बर्षदेखि नै लागु हुनेगरी यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै अन्तरप्रदेश चल्ने सवारीसाधनको भाडा १० देखि १५ प्रतिशत बढायो । त्यसैको सिको गर्दै छोटो तथा मध्यम रुटका सार्वजनिक सवारीसाधनले पनि आफ्नो भाडा बढाए ।

पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको मूल्य, पार्टपुर्जाको मूल्य, श्रम शुल्कलगायत बढेपछि यातायात व्यवसायीले भाडा समायोजनको माग गरेपछि भाडा बढेको हो । तर, पछिल्लो समय सार्वजनिक सवारीसाधनले सरकारले ताकेको नभई आफुखुशी भाडा यात्रुसँग असुलिरहेका छन् ।

सरकारले शहरभित्रै चल्ने सार्वजनिक सवारीसाधनका लागि रुट तोकेर भाडा निर्धारण नगरिदिएकाले सार्वजनिक सवारीसाधनका चालक र सहचालकले आफुखुसी भाडा उठाउने गरेको नेपाल यातायात व्यवसायी केन्द्रिय महासंघका महासचिव भरत नेपाल स्वीकार्छन् । ‘हाम्रै मागअनुसार सरकारले पेट्रोलियमको मूल्य बढेको भन्दै मूल्य समायोजन गरिदियो तर, यहाँको भाडा यति भनेर निर्धारण गरिदिएन,’ उनले भने, ‘यसैको मौकाको फाइदा उठाउँदै सार्वजनिक सवारीसाधनका चालक, सहचालकले यात्रुसँग बढी भाडा उठाईरहेका छन् ।’

यात्रुलाई कुन रुट कति किलोमिटरको छ र कति भाडा लाग्छ भनेर जानकारी उपलब्ध गराई यात्रुलाई सचेत गराउनुपर्ने उनको भनाई छ । यात्रु सचेत नहुँदा यसको फाईदा सीधै सार्वजनिक सवारीसाधनका धनीलाई हुन्छ । हाल धेरैजसो सार्वजनिक सवारीसाधनले २० रुपैयाँ लिनुपर्ने ठाउँमा २५ रुपैयाँ र २५ लिनुपर्ने ठाउँमा ३० रुपैयाँ लिँदै आएका छन् । यस्तो भाडा सार्वजनिक सवारीपिच्छे फरक छ । कतिपयले सरकारले तोकेकै भाडा लिने गरेको भएपनि धेरैजसोले यात्रुलाई लुट्ने मनसाय राख्ने गरेको देखिन्छ ।

यसैको पछिल्लो उदाहरण हुन् कोटेश्वरकी मीना लामा । उनी दैनिकजसो आफ्नो कार्यालयको कामको लागि न्युरोड गेटसम्म सार्वजनिक सवारीसाधनमार्फत जान्छिन् । करिव ३ बर्षदेखि यही बाटो हिँड्दा ४ प्रकारको भाडा तिरेको अनुभव उनी सुनाउँछिन् । गत बर्ष असोज अघिसम्म उनले कहिले १५ रुपैयाँ त कहिले २० रुपैयाँ तिर्दै आएकी थिईन । त्यसपश्चात सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएपछि उनले २५ रुपैयाँ तिर्नुपर्याे, हाल उनी ३० रुपैयाँ तिरेर कोटेश्वरदेखि रत्नपार्कसम्म आउँछिन् । सरकारले हाल तोकिदिएको वास्तविक भाडादर उनलाई लागु भएन । उनलाई कोटेश्वरदेखि न्युरोड गेटसम्मको दूरी कति छ भन्ने जानकारी नभएकै कारण उनी हालसम्म सार्वजनिक सवारीसाधनबाट ठगिँदै आएकी हुन् ।

तर, सरकारले तोकेअनुसार भाडादर लागु हुनेहो भने उनले कोटेश्वरदेखि न्युरोड गेटसम्म २० रुपैयाँ तिरे पुग्ने हो । यहाँसम्मको दूरी जम्मा ५ किलोमिटर छ । सरकारले शुन्य देखि ५ किलोमिटरसम्मको भाडा २० रुपैयाँ तोकिदिएपनि सवारी सहचालकहरुले आवश्यकभन्दा १० रुपैयाँसम्म बढि असुलिरहेका छन् ।

बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनको न्यूनतम भाडा १८ बाट बढाएर २० रुपैयाँ गत बैशाख १ देखि बनाएको छ । यसअघि उपत्यकामा २० किलोमिटरभन्दा माथिको भाडा ३५ रुपैयाँ थियो । यसलाई बढाएर ३८ रुपैयाँ बनाएको छ । सरकारले काठमाडौं उपत्यकाका लागि शुन्यदेखि ५ किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ २० किलोमिटरसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथिको ३८ रुपैयाँ भाडा तोकिदिएको छ ।

तर, सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रुहरुलाई र स्वयं सवारीचालकलाई पनि कुन रुटको कति भाडा भन्ने जानकारी हुँदैन । सवारीधनीहरुले हचुवाका भरमा दूरी बढी भएको भन्दै भाडा लिईरहेका छन् भने यात्रु उनीहरुले भनेबमोजिम भाडा तिर्न बाध्य छन् ।

यसका लागि सरकारले यो रुटमा यहाँदेखि यहाँसम्म यति भाडा भनेर तोकिदिएपछि कारवाही गर्न र कार्यान्वयन गर्न पनि सजिलो हुने बताउँछन महासंघका महासचिव नेपाल । उनका अनुसार मनलाग्दी भाडा असुल्नुमा सवारीचालक र सहचालकको गल्ती त छँदैछ त्यसभन्दा ठूलो गल्ती सरकारले गरिरहेको छ । भाडा समायोजन मात्रै गरेपछि झन यात्रु मारमा परेको भनाई छ । समायोजन भएको भाडा कहाँदेखि कहाँसम्मको कति भन्ने कुरा यात्रुलाई जानकारी दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्