Logo

एफएनसीसीआई र नेपाल पर्यटन बोर्डबीच सम्झौता, पर्यटन प्रवर्द्धन गर्न समन्वय गरिने

एफएनसीसीआई र नेपाल पर्यटन बोर्डबीच सम्झौता, पर्यटन प्रवर्द्धन गर्न समन्वय गरिने



काठमाडौं । मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) र नेपाल पर्यटन बोर्ड बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पछि दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्नेछन् ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन वोर्डका प्रमुख कार्यकारि अधिकृत डा. धनन्जय रेग्मीले हस्ताक्षर गरेका हुन् । यसका लागि महासंघको पर्यटन विकास समितिले विशेष भूमिका निर्वाह गरेको थियो ।

आपसी समझदारी अनुसार पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकिय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तराष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने भएको छ ।

त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तराष्ट्रिय बजारीकरण, पर्यटनसंग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेशन, पार्क लगायत अन्य पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयाँ दिशा दिन यो सहमती कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष गोल्छाले समझदारीपत्रको अक्षरश कार्यान्वयनको प्रतिवद्धता पनि जनाएका छन् । कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसंग आवद्ध सवै संस्थाहरूको सहभागितामा छिट्टै एउटा वृहद कार्यक्रम आयोजनाको प्रस्ताव पनि गरे । कार्यक्रमबाट यस क्षेत्रलाई माथि उठाउन कम्तिमा ठोस कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्नुुपर्नेमा उनको जोड थियो ।

पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको भन्दै यसमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउनेतर्फ पहल हुनुुपर्नेमा जोड दिंदै भने, ‘यो सम्भव पनि छ । यसका लागि सरकारको सहयोग आवश्यक छ । साथै नेपालले गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ पहल गर्नुपर्ने सुुझाव अध्यक्षको थियो ।

काठमाडौं विमानस्थललाई अलि बढी पर्यटन लक्षित गरी सेवा विस्तार, गुणस्तर सुुधारमा जोड दिनुुपर्ने धारणा उनको थियो । अध्यक्ष गोल्छाले छिट्टै नेपाल भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय शहरहरुमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि संगै लैजान सकिने बताए ।

वोर्डका प्रमुख कार्यकारि अधिकृत डा. रेग्मीले निजी क्षेत्रको छाता संस्थासंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । पर्यटन विकासमा महासंघका अध्यक्षले राख्नुभएका सुुझाव निकै मननीय भएकाले कार्यान्वयनमा लैजानेतर्फ पहल गर्ने विश्वास दिलाए ।
पर्यटनसंग सम्बन्धित कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई छिट्टै अगाडि बढाउन उहांले आग्रह गरे ।

सो अवसरमा दुवै जनाले भारतीय र चिनिया पर्यटक आकर्षणमा विशेष कार्यक्रम ल्याउनुु पर्नेमा जोड दिए । महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले थलिएको पर्यटन उद्योगलाई माथि उठाउन यो सहकार्य गरिएको बताईन् । महासंघका महानिर्देशक गोकर्ण राज अवस्थीले धन्यवाद मन्तव्य दिंदै समझदारी अनुसारका कामलाई छिट्टै अगाडि बढाइने प्रतिवद्धता जनाए ।

सो अवसरमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पर्यटन तथा हवाई यातायात समितिका सदस्यहरू, बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने, महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL