काठमाडौं । देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा मुख्य हिस्सा ओगटदै आएको कृषि क्षेत्रको योगदान घटने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहिीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-७९ को राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धीअनुसार चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर २.३ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
धानको उत्पादनमा भएको ह्रासका कारणले यस क्षेत्रको वृद्धिमा कमी आउने अनुमान विभागले गरेको हो । जिडिपीमा यस क्षेत्रले २३.९५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । तथापि कृषि अन्तरगको मत्स्य उत्पादनमा पनि वृद्धि भएको अनुमान गरिएको छ ।
विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८-७९ मा उपभेक्ताको मुल्यमा ५.८४ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि (कुल कुल गार्हस्थ्य उत्पादनको वृद्धि) हुने देखिन्छ । हालसम्म पनि बिश्वमा कोभिड १९ को महामारीको अवस्था विद्यमान रहेकोर कोभिड १९ को असरलाई न्यून गर्नको लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरूको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने विभागले उल्लेख गरेको छ ।
तथापि हालका दिनहरूमा नेपालमा कोभिड १९ को प्रभावको अवस्था साह्रै न्यून रहेको र यस आर्थिक वर्षको अन्तिमसम्म नै यसको नकारात्मक असर नरहने साथै आर्थिक क्रियाकलापहरू सामान्य किसिमले सञ्चालन हुने विभागले उल्लेख गरेको छ । चालु आर्थिक वर्ष २०७८-७९ को छ देखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूका आधारमा तयार गरिएको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । सोही वृद्धिदर गत आर्थिक वर्ष २०७७÷७८ मा ३.८३ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७६-७७ मा २.४२ प्रतिशत ऋणात्मक रहेको अन्तिम अनुमान रहेको छ।
जीडिपीमा कुन क्षेत्रको योगदान कति
विभागले बृहत् औद्योगिक समूहलाई समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर तथ्याङ्क विश्लेषण गरेको छ । चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्र र द्वितीयको क्षेत्रको योगदान केही बढ्न गएको देखिन्छ तर प्राथमिक क्षेत्रको योगदानमा गत आर्थिक वर्ष भन्दा कमी आएको देखिन्छ ।
१. प्राथमिक क्षेत्र
यस क्षेत्र अन्तर्गत कृषि वन तथा मत्स्य र खानी तथा उत्खनन् क्षेत्र पर्दछन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २४.५ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७-७८ को तुलनामा चालु आर्थिक वर्ष २०७८-७९ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर स्थिर मूल्यमा २.४४ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । चालु आर्थिक वर्षमा धानवालीको उत्पादनमा भएको ह्रासले गर्दा यस क्षेत्रको उत्पादनमा गत आ. व. को भन्दा कम वृद्धि दर रहेको छ ।
२. द्वितीय क्षेत्र
यस क्षेत्रअन्तर्गत उद्योग, विद्युत् तथा ग्याँस, पानीको आपूर्ति र निर्माण क्षेत्र पर्दछन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १३.७ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७८-७९ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा १०.२९ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । खासगरी माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट गत आर्थिक वर्षको अन्त्यदेखि विद्युत उत्पादन शुरू, निर्माण कार्यमा वृद्धि तथा औद्योगिक उत्पादनमा वृद्धि आदिका कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव पारेको पाइन्छ ।
३. सेवा क्षेत्र
यस क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, अवास तथा भोजन सेवा, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, घरजग्गा कारोवार, पेशागत तथा प्रशासिनक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरू पर्दछन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ६१.८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को तुलनामा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ५.९३ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । कोभिड १९ को महामारीले ऋणात्मक भएका अवास तथा भोजन सेवा र यातायात क्षेत्रका आर्थिक कृयाकलापमा भएको वृद्धि तथा व्यापार तथा निर्माण कृयाकलापमा भएको वृद्धिको कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर बढी भएको हो ।
मुख्य औद्योगिक वर्गीकरण अनुसार कुल मूल्य अभिवृद्धि
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २३.९५ प्रतिशत तथा गैर कृषि क्षेत्रले ७६.०५ प्रतिशत योगदान रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
१.कृषि क्षेत्र
चालु आर्थिक वर्षको कृषि क्षेत्र (कृषि, वन तथा मत्स्य) को कुल मूल्य अभिवृद्धि २.३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ। त्यसैगरी गैर कृषि क्षेत्रको ६.८८ प्रतिशतलेवृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।
२. खानी तथा उत्खनन्
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ०.५८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । खानी तथा उत्खनन क्षेत्रमा अघिल्लो आर्थिक वर्ष २०७७-७८ को तुलनामा यस वर्षको कुल मूल्य अभिवृद्धि वृद्धिदर ८.१५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण क्षेत्रमा भएको वृद्धि सँगसँगै यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर पनि सकरात्मक रहने अनुमान छ ।
३. उद्योग
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ५.६५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । उद्योग क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८-७९ मा कुल मूल्य अभिवृद्धि ६.१४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।
४. विद्युत, ग्याँस, वाष्प तथा वातानुकिलत आपूर्ति सेवा
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा ३६.६७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा माथिल्लो तामाकोशी जल विद्युत आयोजनाबाट विद्युत उत्पादन शुरू भएका कारण यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य रूपमा वृद्धि हुने अनुमान छ ।
५. पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलापहरू
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ०.५१ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७-७८ को तुलनामा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि ०.७२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।
६. निर्माण
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ६.१७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्ष को तुलनामा चालु आर्थिक वर्ष २०७८-७९ मा निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि ९.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । कोभिड १९ को कारण निर्माणाधीन आयोजनामा बिश्व बजारबाट उपकरण लगायत सामाग्रीको आपूर्तिमा आएको अवरोध हटेको तथा निर्माण सामाग्रीको आयात तथा उत्पादन समेत वृद्धि भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धि हुने अनुमान छ ।
७. थोक तथा खुद्रा व्यापार, गाडि तथा मोटरसाइकल मर्मत सेवा
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १६.४० प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस थोक तथा खुद्रा व्यापारको क्षेत्रमा आर्थिक वर्ष २०७७-७८ को तुलनामा चालु आर्थिक वर्ष मा कुल मूल्य अभिवृद्धि ९.१२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । कोभिड १९ को माहामारीबट आपूर्ति प्रणालीमा आएको रोकावट हटेकोले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धि दरमा सकारात्मक असर गरेको छ ।
८. यातायात तथा भण्डारण
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ५.९८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रको कुल मूल्य अभिवृद्धि मा अघिल्लो वर्ष २०७७-७८ को तुलनामा यस आर्थिक वर्ष मा ४.५४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । कोभिड १९ को महामारीको कारण बिश्वव्यापी रूपमा आवतजावतमा आएको अवरोध तथा कोभिड १९ को महामारीको असर न्यून भए तापनि यस क्षेत्रको मूल्यअभिवृद्धि स्थिर मुल्यमा अघिल्ला सामान्य वर्षको अवस्थामा फर्किन सकेको देखिदैन ।
९. आवास तथा भोजन सेवा
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १.६५ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रको कुल मूल्य अभिवृद्धि , अघिल्लो आर्थिक वर्ष २०७७-७८ को तुलनामा चालु आर्थिक वर्षमा सुधार भइ ११.४२ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ ।आन्तरिक पर्यटनमा कोभिडको सड्क्रमण प्रभाव कम हुँदै गएको गत आर्थिक वर्षको तुलनामा पर्यटन आगमनमा उल्लेख्य वृद्धि भएको कारणले यस क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदरमा सकरात्मक प्रभाव परेको देखिन्छ ।
१०. सूचना तथा सन्चार
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २.०९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रको कुल मूल्य अभिवृद्धि मा अघिल्लो वर्ष २०७७-७८ को तुलनामा यस आर्थिक वर्षमा ३.५८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।
११. वित्तीय मध्यस्थता
वित्तीय मध्यस्थता क्षेत्र भित्र बैंकिङ समूहमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीहरूको साथै सहकारी संस्थाहरूको कारोबार रहेका छन् । बीमा समूहमा बीमा समिति, जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरूको कारोबारहरू रहेका छन् । त्यस्तै गरी सामाजिक सुरक्षा योगदान समूहमा नेपाल धितो पत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज , कर्मचारी संचय कोष, नागरिक लगानी कोष आदिका कारोबारहरू रहेका छन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ६.८६प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । समग्र रूपमा यी क्षेत्रका क्रियाकलापमा भएको बढोत्तरीको कारणले अघिल्लो आर्थिक वर्ष २०७७-७८ को तुलनामा चालु आर्थिक वर्षमा ६.०६ प्रतिशतले कुल मूल्य अभिवृद्धि मा वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।
१२. घरजग्गा कारोवारको सेवा
यस क्षेत्र अन्तर्गत मुख्यरूपमा जग्गा जमिनको खरिद बिक्री, जग्गा जमिन भाडामा लगाउने, अन्य घरजग्गा कारोवारका सेवा दिने तथा आफ्नै घर आवासवाट उपलब्ध आवास सेवाहरू पर्दछन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ८.७९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७८÷७९ मा ३.८२ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ ।
१३. पेशागत बैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरू
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ०.९९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७८-७९ मा ३.७८ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ ।
१४ प्रशासनिक तथा सहयोगि सेवाका क्रियाकलापहरू
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ०.७८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७८-७९ मा ४.४० प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रको वृद्धि दर गत आर्थिक वर्षको भन्दा बढी हुने अनुमान छ ।
१५.सार्वजनिक प्रशासन तथा रक्षा
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ७.७३ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा चालु आर्थिक वर्ष २०७८-७९ को कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.०५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । तीन तहको सरकारको सार्वजनिक प्रशासन तथा रक्षामा गरिएको खर्चको आधारमा यस क्षेत्रमा उक्त वृद्धि दर हासिल हुने अनुमान छ ।
१६. शिक्षा
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ८.१ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७८-७९ मा कुल मूल्य अभिवृद्धि ४.०८ प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरिएको छ । निजी तथा गैरसरकारी क्षेत्रहरूबाट संचालित शैक्षिक गतिविधिहरूमा भएको परिवर्तित सूचकको आधारमा तयार गरिएको अनुमान अनुसार पछिल्लो वृद्धिदर हासिल हुने प्रारम्भिक अनुमान गरिएको छ । मध्यवर्ती उपयोग कम भएको तर आयमा बढोत्तरी भएका कारण निजी शैक्षिक संस्थाहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर बढेको हो । तथापि विद्यार्थी संख्या उल्लेख्य रूपमा नबढेका कारण यस क्षेत्रको मूल्य अभिवृद्धि पनि सामान्य रूपमा मात्र वृद्धि भएको देखिन्छ ।
१७. स्वास्थ्य तथा सामाजिक कार्य
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १.७९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रतर्फ आर्थिक वर्ष २०७७-७८ को तुलनामा चालु आर्थिक वर्षमा ६.९१ प्रतिशतले कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । स्वास्थ्य सेवाको पहुँच विस्तारका साथ साथै मानिसहरूमा स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि हुनु तथा निजी स्वास्थ्य संस्थाहरूको आयमा पनि क्रमिक रूपमा वृद्धि हुनु जस्ता कारणले यस प्रकारको वृद्धि देखिएको हो ।
१८ अन्य सेवाका क्रियाकलापहरू
औद्योगिक वर्गीकरण अनुसारका कला मनोरन्जन तथा अन्य रोजगारदाता घरपरिवारका क्रियाकलापहरू र आफ्नो उपयोगको लागि घरपरिवारको वस्तु तथा सेवा उत्पादनका क्रियाकलापहरूलाई अन्य सेवाका क्रियाकलापहरूमा समावेश गरिएको छ । यी क्षेत्रले ०.६१ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा कुल मूल्य अभिवृद्धि वृद्धिदर अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७८-७९ मा ३.७९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । केन्द्रीय तथा स्थानीय सरकारको सामुदायिक, सामाजिक क्षेत्रमा गरिएको खर्चको आधारमा र निजी क्षेत्रहरूबाट संचालित एफ.एम. रेडियो तथा टेलिभिजन जस्ता मनोरञ्जनात्मक सेवाको आर्थिक गतिविधिहरूको आधारमा यस क्षेत्रको गार्हस्थ्य उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।
औद्योगिक वर्गीकरणअनुसार कुल गार्हस्थ्य उत्पादनको हिस्सा तथा कुल मूल्य अभिवृद्धिको वृद्धिदर
चालु आर्थिक वर्ष २०७८-७९ को कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा विगत वर्षहरू जस्तै कृषि क्षेत्रको रहेको अनुमान गरिएको छ । गत आर्थिक वर्ष कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको २४.९ प्रतिशत हिस्सा ओगटेकोमा चालु आर्थिक वर्षमा यो हिस्सा घटेर २३.९५ प्रतिशत हुन पुगेको अनुमान गरिएको छ ।
समावेश गरिएका २१ वटा औद्योगिक क्रियाकलापहरूमध्ये पछिल्ला ४ आर्थिक क्रियाकलापहरूलाई अन्य सेवाका क्रियाकलापमा समावेश गरी प्रस्तुत गरिएका १८ किसिमका आर्थिक क्रियाकलापहरूमा गत आर्थिक वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनको अंश सामान्य बढ्नेमा यातायात तथा भण्डारण, थोक तथा खुद्रा व्यापार, विद्युत, ग्याँस, वाष्प तथा वातानुकिलत आपूर्ति सेवा , निर्माण, उद्योग, आवास तथा भोजन सेवा र स्वास्थ्य तथा सामाजिक सेवाका क्रियाकलापहरू गरी ७ वटा क्रियाकलापहरू छन् ।
सामान्यरुपमा घट्नेमा कृषि वन तथा मत्स्य, घरजग्गा कारोवारको सेवा, वित्तीय मध्यस्थता, सूचना तथा सन्चार, सार्वजनिक प्रशासन तथा रक्षा, पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलापहरू, अन्य सेवाहरू, पेशागत बैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरू र प्रशासनिक तथा सहयोगि सेवाका क्रियाकलापहरू आदि ९ क्रियाकलापहरू छन् भने खानी तथा उत्खनन् र शिक्षाको हिस्सा बरावर नै रहेको छ ।
त्यसैगरी गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धि वृद्धिदर को अध्ययन गर्दा प्रस्तुत गरिएका १८ औद्योगिक क्रियाकलापहरूमध्ये २ वटा क्षेत्रको अघिल्लो आर्थिक वर्षको वृद्धिदर भन्दा कम रहने अनुमान रहेको छ तथापि वृद्धि दरहरू सकरात्मक नै छन् । यी क्षेत्रहरू कृषि वन तथा मत्स्य र पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलापहरू हुन् । बाँकी १६ वटा क्षेत्रको तुलनात्मक हिसाबले वृद्धिदर बढेको देखिन्छ । चालु आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धि वृद्धि दर सबै भन्दा बढी बिद्युत तथा ग्याँस ३६.६७ प्रतिशत रहने अनुमान छ भने त्यसपछि क्रमशः आवास तथा भोजन सेवा (११.४२ प्रतिशत), निर्माण, उद्योग, खानी तथा उत्खनन् , स्वास्थ्य तथा सामाजिक सेवा लगायतका १६ आर्थिक क्रियाकलापहरूको वृद्धि दरहरू गत आर्थिक वर्षको भन्दा बढी छन् ।