काठमाडौं । विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना गाविस–२ स्थित सोलीघोप्टे भीर वरपर बाक्लो हुस्सु लागेका कारण उद्धारमा कठिनाइ भइरहेको छ । प्रतिकूल मौसमका कारण दुर्घटनास्थलमा उद्धारका लागि आएका दुई ओटा हेलिकप्टर अवतरण गराउन नसकेको बताइएको छ ।
नेपाली सेना तथा निजी क्षेत्रको अर्को हेलिकप्टर दुर्घटनास्थल वरपर अवतरणको प्रयास गरिरहेका छन् ।
बाक्लो कुइरो लागेका कारण विमान पहाडमा ठोक्किएको हुनसक्ने अनुमान गरिएको छ । तारा एयरको विमान पोखराबाट जोमसोमका लागि बुधवार बिहान ७ बजेर ५७ मिनेट जाँदा उडी सो क्षेत्रमा दुर्घटना भएको थियो ।
विमानमा दुई जना बालबालिका, दुई जना विदेशी सहित २३ जना सवार रहेका थिए । उक्त विमान बरिष्ठ पाइलट रोशन मानन्धरले उडाएका थिए । विमानको कोपाइलट विकेश एमफूल र एअर होस्टेस रमा रावल रहेकी थिइन् । दुर्घटनाग्रस्त तारा एयरको विमानमा रहेका १७ जनाको शव भेटिएको छ ।