Logo

आइएमएफसँग चेम्बरको आग्रह : उर्जा, कृषि तथा पर्यटनमा जोड दिउँ, साना उद्यमीलाई सहयोग गरौं

आइएमएफसँग चेम्बरको आग्रह : उर्जा, कृषि तथा पर्यटनमा जोड दिउँ, साना उद्यमीलाई सहयोग गरौं



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले इन्टरनेशनल मनीटरी फण्ड (आइएमएफ)का प्रतिनिधिसमक्ष नेपालमा उर्जा, पर्यटन तथा कृषिमा प्राथमिकता दिन आह्वान गरेको छ । मंगलबार चेम्बर भवनमा आइएमएफका एशिया प्यासिफिक विभागका प्रमुख रवर्ट ग्रेगोरीसँग भएको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले उक्त आह्वान गरेका हुन् ।

हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको उनको भनाई थियो । नेपालको वैदेशिक व्यापारमा वढ्दै गएको व्यापार घाटालाइ न्युन गर्न बिकाश साझेदार संस्थाहरुले उर्जा,पर्यटन तथा कृषि क्षेत्रलाइ प्राथमिकता दिनु पर्नेमा उनले जोड दिएका हुन् ।

अध्यक्ष मल्लले नेपालको कृषिलाइ प्राथिमिकता दिन फूड वैंकको व्यवस्था हुनु पर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लागि एकल अंकको व्याजदर हुनु पर्नेमा जोड दिएका छन् । यस्तै साना तथा मझौला उद्यमहरुलाइ आइएमएफ जस्ता संस्थाहरुबाट सहयोग प्रदान हुनु पर्ने उनको भनाई थियो ।

आइएमएफका मिसन चिफ रवर्ट ग्रेगोरीले नेपालमा ६ महिनाको लागि बिदेशी मुद्राको भण्डार रहेकोले सन्तोषप्रद रहेको बताए । कोभिड नियन्त्रणको लागि गरिएको प्रयासको प्रशंसा गर्दै उनले कोभीड प्रकोप पश्चातको नेपालको समग्र आर्थिक परिस्थिति तथा युक्रेनको बिद्यमान परिस्थितिले व्यावसायीक क्षेत्रमा सृजना भएका बिबिध चुनौतिहरुवारे जिज्ञासा राखेका थिए । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, दीपक मल्होत्रा, दीपक श्रेष्ठ तथा सुरेन्द्र कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्