Logo

शुन्य भन्सार सुविधामा नौ महिनामा २ अर्ब ७३ करोडको वस्तु आयात, सबैभन्दा बढी हतियार र गोलीगट्ठा

शुन्य भन्सार सुविधामा नौ महिनामा २ अर्ब ७३ करोडको वस्तु आयात, सबैभन्दा बढी हतियार र गोलीगट्ठा



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना (साउनदेखि चैतसम्म) मा शुन्य भन्सार सुविधा उपयोग गरि २ अर्ब ७३ करोड रुपैयाँ बढीको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार हातहतियार, रासायनिक मल, औषधिलगायत गरी २ अर्ब ७३ करोड २५ लाख ४६ हजार रुपैयाँ बराबरका वस्तु शुन्य भन्सारमा आयात भएको देखिएको हो ।

पछिल्लो ९ महिनामा शुन्य भन्सारमा आयात हुने वस्तुहरुमा सबैभन्दा बढी हातहतियार रहेको देखिन्छ । नेपालले चालु आवको ९ महिनामा मात्रै विभिन्न देशहरुबाट २ अर्ब १ करोड ५४ लाख रुपैयाँ बराबरका हतियार, गोलीगट्ठा, सैनिक ट्यांकरलगायत आयात गरेको छ । जसमध्ये ३८ करोड ३९ लाख रुपैयाँ बराबरका १५ ओटा मिलिटरी बख्तरबन्द गाडी आयात भएका छन् ।

यस्तै २ करोड ८४ लाख ७९ हजार रुपैयाँ बराबरका १ सय थान सट गन, २ करोड ८४ लाख ७९ हजार रुपैयाँ बराबरका १ सय थान पेस्तोल र रिभल्भर र ३१ करोड ५० लाख ९४ हजार रुपयाँ बराबरका १८ लाख २४ हजार ८२ थान गोलीगट्ठा र बम आयात भएको छ । यसै अवधिमा नेपालमा १ अर्ब २७ करोड ९६ लाख ९६ हजार रुपैयाँ बढीका १ लाख ७६ हजार ४ सय थान अन्य सैनिक हतियारहरु आयात भएको भन्सार विभागले तथ्यांकमा छ ।

यसैगरी शुन्य भन्सारमै १ करोड ९ लाख ७० हजार रुपैयाँ बराबरको १ लाख १६ हजार ६ सय ४९ किलो रासायनिक मल र यसको कच्चा पदार्थ आयात भएको छ । विभागकै तथ्यांकलाइ केलाउँदा यस अवधिमा नेपालले ८३ हजार किलो खनिज तथा फोस्फेट नामक रासायनिक मल, २२ हजार ४ सय किलो प्याकेजिङ गरिएको मल आयात गरेको छ । यस्तै नेपालमा पछिल्लो ९ महिनामै ७ हजार १ सय ५६ किलो पोटासियम सल्फेट, ४ हजार किलो फस्फोरस र पोटासियम आयात भएको छ ।

यस्तै शुन्य भन्सारमै मेडिकल प्रयोगका लागि ५३ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको ५१ लाख २ हजार किलो पोटासियम क्लोराईड आयात भएको छ । यो खासगरी रगतमा पोटासियमको मात्रा बढाई, मुटु, मृगौलालगायत अंगको कार्यप्रणाली चुस्त बनाउन प्रयोग हुन्छ । सरकारले अत्यावश्यक सेवामा प्रयोग हुने वस्तुको आयातमा भन्सार छुट सुविधा दिने गर्छ । साथै स्वदेशी उत्पादनलाई प्रवद्र्धन हुने खालका कच्चा पदार्थको आयातमा पनि भन्सार छुट सुविधा दिइएको हुन्छ ।

मानव रोगको उपचारमा प्रयोग हुने केही उत्पादन, कृषि उत्पादनमा प्रयोग हुने विभिन्न प्रकारका रासायनिक मल, पुस्तक, परम्परागत पात्रो, कपास, दृष्टिविहीनले प्रयोग गर्ने सेतो छडीलगायत वस्तु आयातमा भन्सार छुटको व्यवस्था छ । यस्तै महिलाको सौन्दर्य सामग्रीमध्ये टीका, चुरा, हाडजोर्नीको उपचारमा प्रयोग हुने उपकरण, मानव शरीरका कृत्रिम अंग, कृत्रिम जोर्नीहरूलगायतको आयातमा पनि भन्सार छुट सुविधा उपलब्ध हुन्छ ।

पछिल्लो ९ महिनामा नेपालमा शुन्य भन्सार सुविधाको उपयोग गरी १ करोड ६४ लाख बराबरको ३३ हजार ३ सय थान बैशाखी, ६ हजार ७ सय ५० थान हुलाक टिकट, २ हजार १ सय ७७ थान ह्विलचेयर, १२ हजार १ सय ९९ थान दृष्टिविहीनले प्रयोग गर्ने सेतो छडी र २ सय ३ सय ८६ थान मलेरिया जाँच गर्ने किट आयात भएको देखिन्छ ।

यी सबै वस्तुहरुमा नेपाल सरकारले शुन्य भन्सारमै आयात गर्न पाउने सुविधा उपलब्ध गराएको छ । यस्तै नेपालले यस अवधिमा शुन्य भन्सार सुविधाकै प्रयोग गरी ३० लाख रुपैयाँ बढीको एउटा विद्युतीय सवारीसाधन, एउटा ट्रकको च्यासिस, २८ हजार ८० ओटा कुखुरालगायत चराको अण्डा, ५ थान २००० सीसीको गाडीको च्यासिसलगायत पनि आयात गरेको छ । यस्तै शुन्य भन्सार सुविधामै नेपालले उन, धागोलगायतका वस्तुहरु पनि आयात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL