काठमाडौं । बीमा समितिले इन्जिनियरिङ बीमा दरसम्बन्धी निर्देशिका २०७८ हाललाई स्थगन गरेको छ । बीमा समितिले सोमबार काठमाडौंमा आयोजाना गरेको निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले उक्त कुरा बताएका हुन् ।
समितिले २०७८ साल असोज ६ गते उक्त निर्देशिका जारी गरेको थियो । तर, हाल उक्त निर्देशिका हाललाई स्थगन गरी यस सम्बन्धमा सुझाव सहितको प्रतिवेदन बुझाउन बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको छ ।
कार्यकारी निर्देशक पौडेल संयोजक रहेका उपसमितिमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०, नेपाल बीमक सङ्घ र पुनर्बीमा कम्पनीका दुई दुईजना प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल हेभिइक्युपमेन्ट व्यवसायी महासङ्घ, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सर्भेयर एसोसिएसन र पुनर्बीमा कम्पनीका एक एकजना प्रतिनिधि सदस्य तथा बीमा समितिका प्रतिनिधि सदस्य–सचिव रहेका छन् । उपसमितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समयावधि तोकिएको छ ।