Logo

पृथ्वीराजमार्गमा मुख्य सडकमै बिजोग : दुलेगौडा–कोत्रे सडकमा घाम लाग्दा धुलो, पानी पर्दा हिलो

पृथ्वीराजमार्गमा मुख्य सडकमै बिजोग : दुलेगौडा–कोत्रे सडकमा घाम लाग्दा धुलो, पानी पर्दा हिलो



काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा–कोत्रे सडकखण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी –२ हलेदीमा सडक मरमत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएपछि स्थानीयवासी सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक सम्बन्धित निकायमा धुलो नियन्त्रणका लागि आग्रह गरे पनि चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासी तीर्थराज खनालले बताए। स्थानीयवासीले शुक्रबार कोत्रेमा १५ मिनेट र शनिबार हलेदीमा ३० मिनेट राजमार्ग अवरुद्ध गरेका छन् ।

“हामीले राज्यलाई तिर्नुपर्ने सब कर तिरेका छौँ, तर पनि हाम्रो माग पूरा हुँदैन, सधैँ धुलो खाएर बस्नुपरेको छ”, उनले भने । सडक डिभिजन कार्यालयमा विभिन्न मितिमा डेलिगेशन गएर सडक मर्मतको माग गरिए पनि सुनुवाइ नभएको स्थानीय युवा शङ्कर पन्तले जानकारी दिए ।

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि ठेक्का लागिसकेकाले सडक डिभिजनले केही गर्न नसक्ने बताएको पन्तले बताए । “सम्बन्धित निकायमा गयो, माग सुनुवाइ हुँदैन, आन्दोलन गर्नुको विकल्प छैन”, उनले भने ।

सडकखण्ड धुलाम्य हुँदा यस ठाउँका स्थानीयवासीका अलवा राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणले पनि सास्ती भोग्दै आएका छन् । यस ठाउँको विभिन्न खण्डमा सडक भत्किँदा दुई पाङ्ग्र्रे सवारी दुर्घटनामा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL