Logo

भारतमा कोभिड बढेपछि नेपालमा सतर्कता, जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

भारतमा कोभिड बढेपछि नेपालमा सतर्कता, जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले बुधबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।

“कोभिड–१९ को सङ्क्रमण भारतलगायत छिमेकी राष्ट्रमा पछिल्लो केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम नै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्ड पालना गर्न÷गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उहाँले सङ्ख्यात्मकरूपमा सङ्क्रमण केही कम भएजस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको उल्लेख गर्नुभएको छ । मन्त्रालयले खोप लगाएको तीन महिना पूरा भएकालाई बुष्टर मात्रा खोप लगाउनसमेत आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन, खोप लगाउन प्रेरित गर्न र जारी खोप अभियानमा साथ दिनका लागिसमेत सबैलाई आग्रह गरेको छ ।

वैशाखको पहिलो सातासम्म १५ जनाभन्दा कममा सङ्क्रमण

वैशाख महिनाको पहिलो हप्तामा सङ्क्रमण १५ जनाभन्दा नै कममा देखिएको छ । मन्त्रालयको तथ्याङ्कानुसार वैशाख १ गते चार जनामा सङ्क्रमण देखिएको छ । यस्तै वैशाख ७ गते १३ जनामा सङ्क्रमण देखिएको थियो । वैशाख २ मा १४, वैशाख ३ मा नौ, वैशाख ४ गते १२, वैशाख ५ गते १० र वैशाख ६ गते १० जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL