Logo

युक्रेन-रुस युद्ध : न्यून र मध्यम आय भएका देशमा खाद्य संकट उत्पन्न हुन सक्ने, नेपालमा पनि असर देखियो

युक्रेन-रुस युद्ध : न्यून र मध्यम आय भएका देशमा खाद्य संकट उत्पन्न हुन सक्ने, नेपालमा पनि असर देखियो



काठमाडौं । युक्रेन र रुसबीचको युद्धले कोरोनाले पारेको प्रभाव न्यूनीकरणमै असर पारेको विश्व बैंकले जनाएको छ । युद्धको प्रत्यक्ष असर मुख्यतया न्यून तथा मध्यम आय भएका देशहरुको अर्थतन्त्रमा पर्न थालेको विश्व बैंकले चेतावनी दिएको छ । युद्धले युक्रेनको अर्थतन्त्रसँगै समग्र क्षेत्रमा भयावह अवस्था सृजना गरेको छ । हालसम्म कति जनाको हताहती भयो भन्ने एकिन विवरण भने नआइसके पािन यो युद्धले विश्वभर प्रत्यक्ष असर परेको छ ।

विश्व बैंकका अनुसार दुई देशबीचको युद्धले दुबै देशको बलियो व्यापार, अर्थतन्त्र तथा बसाईसराईलगायत प्रभावित भएको छ । यसले तत्कालै ठुलो संकटसमेत ल्याइदिएको छ । खाधान्न समाग्रीमा प्रमुख निर्यात राष्ट्रका रुपमा रहेका रुस र युक्रेनसँगकको आयातमा भर पर्ने धेरैजसो देशहरु यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । नेपालले पनि हाल त्यसैको प्रभावको सामना गर्नु परिरहेको जानकारहरु बताउँछन् । विश्व बैंकले यस्तो संकट रुस र युक्रेनबाट ७५ प्रतिशत बढी गहुँ आयात गरेर धान्ने युरोप, मध्य पूर्वी अफ्रिका र मध्य एशियाका केहि देशहरुमा देखिने बताएको छ ।

संकट टार्न ३ उपाय

वल्र्ड इकोनोमिक फोरमका केही अनुसन्धाताका अनुसार विश्वभर वा युक्रेन र रुसको युद्धको चपेटामा परेका देशहरुका लागि खाद्य संकटबाट बच्न ३ उपाय अबलम्बन गर्न सकिन्छ । जसमा पहिलो स्थानमा भनिएको छ अन्न उत्पादन गर्ने ठुला देशहरुले यस्तो अन्नको निर्यात बढाउनुपर्छ ।

यस्ता देशहरुको स्टकमा रहेको अन्न पनि निर्यात गर्न सकिए न्यून तथा मध्यम आय भएका देशहरुमा खाद्य संकट टार्न सकिन्छ । यस्तै तेल उत्पादक राष्ट्रहरुले कम मूल्यमा इन्धन आपुर्ति गरेको खण्डमा ढुवानी खर्च घटेर त्यस्ता देशहरुलाई सहजीकरण हुने बताईन्छ । यस्तै यस्ता देशका नागरिकहरुलाई सरकारले आर्थिक तथा खाद्य उपलब्ध गराएर सहयोग गर्न सक्ने सुझाव विशेषज्ञहरुले दिने गरेका छन् ।

विशेषज्ञहरुका अनुसार युक्रेनले मात्रै बार्षिक ४० करोड मानिसलाई खान खुवाउन सक्ने अन्न उत्पादन गर्ने गरेको छ । तर, यस्तो बेलामा धेरैजसो किसानहरु युद्धमा होमिएकाले अन्न उत्पादन शुन्यमा झर्ने बताईएको छ । जसको असर विश्वका गरिव देशमा पर्ने निश्चित छ । विश्वभर आपुर्ति हुने केही अन्न र यसको बीउको आपुर्तिमा युद्धको असर पर्ने देखिन्छ । यसले एकातिर यस्ता वस्तुको मूल्यमा उच्च वृद्धि गरिदिएको छ भने न्यून तथा मध्यम आय भएका देशहरुमा त भोकमरीको अवस्था सिर्जना गरिदिएको छ ।

विश्व बैंकको तथ्यांकलाई केलाउँदा विश्व बजारमा आपुर्ति हुने खानेतेलको बियाँ, मकै र गहुँ निर्यातको ४० प्रतिशत बढी हिस्सा युक्रेनले ओगट्छ । यसले के पनि देखाउँछ भने युक्रेन विश्व बजारमा सुर्यमुखी तेलको सबैभन्दा ठुलो निर्यातकर्ता हो । यहाँको सुर्यमुखी तेल भारत, चीन, टर्की र नेदरल्याण्डलगायतका देशमा पुग्छ । युक्रेनले विश्वबजारमा निर्यात हुनेमध्ये १३ प्रतिशत हिस्सा मकैको र ५ प्रतिशत बढी हिस्सा गहुँको ओगट्छ ।

यता विश्वबजारमा निर्यात हुने गहुँमध्ये १८ प्रतिशत हिस्सा रुस एक्लैले ओगट्छ । यस्तै कुल रासायनिक मलको १४ प्रतिशत हिस्सा पनि रुसले नै ओगट्ने तथ्यांकले देखाउँछन् । विश्व बैंकको अनुसार विश्व बजारमा इन्धन र खनिज पदार्थ पठाउने महत्वपुर्ण देश पनि रुस हो ।

यसले विश्व बजारमा भएको प्राकृतिक ग्याँसमध्ये एक चौथाई हिस्सा आफैले उत्पादन गरेर निर्यात गर्छ । यस्तै १८ प्रतिशत कोईला, १४ प्रतिशत प्लाटिनम र ११ प्रतिशत कच्चा पेट्रोलियम निर्यातको हिस्सा रुसले ओगटेको छ । पछिल्लो ६ महिनामा मात्रै विश्व बजारमा कच्चा तेलको मूल्य आधाभन्दा बढीले बढेको छ । यो प्रक्रियाले निरन्तरता पाए चीन, दक्षिण अफ्रिका, टर्की, इन्डोनेशियालगायतका देशको आर्थिक वृद्धिदर २० देखि ५० प्रतिशतले खस्कने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

नेपालले के–के गर्छ आयात ?

नेपालले चालु आर्थिक बर्षको ८ महिना (साउन–फागुन)मा रुसबाट मात्रै ४ अर्ब ४३ करोड १५ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ । नेपालले रुसबाट खासगरी सुर्यमुखीको तेल र बियाँ, तोरीको तेल र बियाँ, भटमासको कच्चा तेल, चक्लेट, धनियाँ, केराउ, अप्टिकल फाईबरलगायतका मालवस्तु आयात गरेको छ । यस्तै नेपालले रुसबाट जर्सी, टिसर्ट, कागज, स्याम्पु, बडी लोशन, लुब्रीकेन्टलगायतका वस्तुहरु पनि आयात गरेको देखिन्छ ।

यता अर्काे युद्धक्षेत्र युक्रेनबाट भने नेपालले पछिल्लो ८ महिनामा कच्चा तेल नै धेरै आयात गरेको देखिन्छ । युक्रेनबाट नेपालले ८ महिनामा कुल १८ अर्ब ५ कोड ५५ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ । जसमध्ये १७ अर्ब ९२ करोड रुपैयाँ बराबरको त कच्चा तेल मात्रै छ । नेपालले युक्रेनबाट पछिल्लो ८ महिनामा ७ करोड ५२ लाख लिटर कच्चा सोयाविन तेल, ४८ लाख ४३ हजार लिटर भटमासको कच्चा तेल र ४ करोड ६२ लाख किलो तेलजन्य बियाँ आयात गरेको छ । यो तथ्यांक भन्सार विभागको हो । यस अवधिमा नेपालले युक्रेनबाट धनियाँ, केराउ, महिलाका लुगा, जुत्ता, बेकरीका लागि आवश्यक मेशिन, कम्प्युटरको नेटवर्क, मोबाईल स्मार्ट वाच र स्टपरसमेत आयात गरेको छ ।

पछिल्लो समय नेपालमा युक्रेन र रुसबाट आउने तेलहनको मूल्य अत्याधिक बढेको छ । यसले एकातिर इन्धनको मूल्य बढाईदिँदा ढुवानी खर्च अत्याधिक महंगो भएको छ भने निर्यात हुने सबैजसो बस्तुहरु नेपाली बजारमा छोईनसक्नु भएका छन् । यस्तो परिस्थितिले नेपाललाई पनि भोकमरीको बाटोमा नपुर्याउला भन्न नसकिने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्