Logo

सभामुख सापकोटाको आरोप : देशमा भ्रष्टाचार बढ्यो, नियन्त्रण नभए मुलुक सिद्धिन्छ

सभामुख सापकोटाको आरोप : देशमा भ्रष्टाचार बढ्यो, नियन्त्रण नभए मुलुक सिद्धिन्छ



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताएका छन् । पछिल्लो समय देशमा भ्रष्टार बढेको भन्दै यसलाई नियन्त्रण गर्न नसके देशनै सकिने बताएका हुन् ।
विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो रहेको जानकारी दिए ।

काठमाडौंमा आजदेखि सुरु भएको ‘निसाना’ शीर्षकमा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणको कुरा मात्रै हुने तर वास्तवमा नियन्त्रण गर्न भने गाह्रो देखिएको बताए । ‘ कार्टुन प्रदर्शनीले आफूलाई पनि भित्रभित्रै भ्रष्टाचारविरुद्ध लाग्न प्रेरणा मिलेको छ,’ उनले भने, ‘म आफ्नो विवेकले भ्याएसम्म भ्रष्टाचारविरुद्ध लागिरहने छु ।’

कार्टुन भनेको कलम नभई मुटुले बनाउने कुरा भएको र जसमा साच्चिकै समाजको चित्रण सिर्जना हुने उनको भनाई थियो । सत्यकुरा गर्न सजिलो भए पनि त्यसलाई अङ्गाल्न गाह्रो हुने बताउँदै उनले भ्रष्टाचारविरुद्धको अभियानमा हुने सङ्कल्पप्रति आफ्नो पूर्ण समर्थन हुने प्रतिवद्धता व्यक्त गरे । ‘भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन । यो राष्ट्रियतासँग जोडिएको विषय पनि हो,’ उनले भने, ‘यो बढ्दै गयो र यस्तै गरी हामीले यसविरुद्ध खबरदारी गरेनौं भने यसले हाम्रो प्यारो मातृभूमिलाई भित्रभित्रै खाइदिन सक्छ ।’

कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा तीनदिने उक्त कार्टुन प्रदर्शनी सुरु भएको हो । भ्रष्टाचारविरुद्ध सचेतना जगाउन दुई महिना भित्रमा सातै प्रदेशमा प्रदर्शनी गर्ने क्लबका अध्यक्ष वासु क्षितिजले जानकारी दिए । प्रदर्शनीमा ३६ जनाका ५० वटा कार्टुन समावेश छ ।

प्रतिक्रिया दिनुहोस्