Logo

सुनचाँदी आपूर्तिको बैकल्पिक ब्यवस्था मिलाउन व्यवसायीको माग, २० औं हजार व्यवसायी संकटमा

सुनचाँदी आपूर्तिको बैकल्पिक ब्यवस्था मिलाउन व्यवसायीको माग, २० औं हजार व्यवसायी संकटमा



काठमाडौं । सुनचाँदीको आपूर्ति ब्यवस्था ठप्प भएपछि आपूर्तिको बैकल्पिक ब्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिकरुपमा आग्रह गर्ने निर्णय गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा आइतबार बसेको तीन महासंघको संयुक्त बैठकले आपूर्तिको बैकल्पिक ब्यवस्था अवलम्वन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक वस्तुवाहेक अन्य वस्तुहरुको एलसी नखोल्ने बैंकहरुको गत सताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ । आपूर्ति ठप्प हुँदा यस क्षेत्रमा आवद्ध २० औं हजार ब्यवसायी तथा लाखौं कालिगढको रोजीरोटी नै संकटमा पर्न सक्ने तथा आम उपभोक्ताको अधिकार कुण्ठित हुन जाने भएको भन्दै तीन महासंघले त्यो अवस्था आउन नदिन आपूर्तिको अन्य विकल्प खोज्न सरकारसँग आग्रह गर्ने भएका हुन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले विदेशी मुद्राको संचिती घटेको अहिलेको अवस्थामा बैंकहरुवाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई सुचारु राख्न बैकल्पिक ब्यवस्था अलवम्वन गर्नु पर्ने बताए । बिदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्नेगरी आन्तरिक स्रोत र अन्य बैकिल्पिक ब्यवस्था अवलम्वनगरी अहिलेको समस्या टार्न सकिने उनको भनाई छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले पनि सरकार, सुनचाँदी ब्यवसायी र आम उपभोक्ता सवैलाई सहज हुनेगरी आपूर्तिको विकल्प खोजिनु पर्ने बताए । यस्तै नेपाल हस्तकला ब्यवसायी महासंघका अध्यक्ष प्रचण्ड शाक्यले कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फि समस्या आएको भन्दै त्यसको निराकरणकालागि तीनैवटा संस्था संयुक्तरुपमा लागि पर्नुपर्ने बताए

सुनचाँदी क्षेत्रमा काम गर्दै आएको तीनैवटा छाता संस्थाको तर्फवाट एउटा साझा संयन्त्र बनाएर समस्या समाधानकालागि अगाडि बढ्ने सहमति भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले जानकारी दिए । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघ र नेपाल हस्तकला ब्यवसायी महासंघक सु्नचाँदीको क्षेत्रमा काम गर्ने छाता संस्था हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL