Logo

वर्ष २०७८ मा पेट्रोलियम बजार : रसिया-युक्रेन द्धन्द्धको असर, मूल्यमा उछाल आउँदा नेपालसहित विश्वमा हलचल

वर्ष २०७८ मा पेट्रोलियम बजार : रसिया-युक्रेन द्धन्द्धको असर, मूल्यमा उछाल आउँदा नेपालसहित विश्वमा हलचल



काठमाडौं । उपभोक्तालाई सडकदेखि भान्छासम्म आवश्यक वस्तुको रुपमा रहेको पेट्रोलियम पदार्थका लागिे बर्ष २०७८ धेरै धेरै उत्तारचढावको वर्षका रुपमा रह्यो । पछिल्ला विश्व घटनाक्रमसँग जोडिएको पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्यले उपभोक्ताको दैनिक जीवनदेखि भान्छासम्मै असर पारिरहेको छ ।

विस २०७८ लाई फर्केर हेर्दा पेट्रोलियम पदार्थको मूल्यमा यो बर्ष ठुलो उत्तारचढाव देखापर्याे । यसै बर्ष ओपेक राष्ट्रको मनोमानी र युरो एशियाली मुलुक रुस र युक्रेनबीचको तनावले यसको मूल्य हालसम्मकै उच्च हुन पुग्यो । विश्व बजारमा कच्चा पेट्रोलियमको मूल्य चैत ९ गते रेकर्ड विन्ुमा पुग्यो । अर्थात युक्रेन र रसियाबीचको युद्धका कारण विश्व बजारमा नै संकटको अवस्था सिर्जना हुने बताउँदै तेल उत्पादक राष्ट्रहरुले नै यसको मूल्य हालसम्मकै उच्च बनाएका थिए । त्यसअघि पनि कच्चा तेलको मूल्य विस्तारै उकालो लाग्ने क्रममै थियो ।

गत बर्षको यही अवधिको तुलनामा कच्चा पेट्रोलियमको मूल्य प्रति व्यारल ३७ डलरले बढेको छ । गत बर्ष कच्चा पेट्रोलियमको मूल्य प्रतिव्यारल ६३ डलर थियो । त्यसबेला नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २१ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ थियो । उक्त समय नेपालमा खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ हजार ४ सय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा अहिले मूल्य बढेर हाल ग्याँसको प्रतिसिलिण्डर १ हजार ६ सय रुपैयाँ, पेट्रोल प्रतिलिटर १ सय ६० र डिजेल र मट्टितेल प्रतिलिटर १ सय ४३ रुपैयाँ पुगेको छ ।

यसरी हेर्दा गत बैशाख १ यता नेपाली बजारमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य क्रमशः ३९ र ४० रुपैयाँले बढ्दा खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँले बढेको छ । नेपाल आयल निगमले भारतीय आयल निगमले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा पठाएको मूल्य सूचीअनुसार पेट्रोलियमको मूल्य निर्धारण गर्ने गरेको छ ।

पछिल्लो समय नेपालमा लगातार पेट्रोलियमको मूल्य बढिरहँदा ढुवानी खर्च, सार्वजनिक यातायातलगायत सबैको मूल्य उकालो लागेको छ । यसरी हरेक सेवाको मूल्य उच्च रुपमा वृद्धि हुँदा सेवाग्राही मर्कामा परेका छन् । सरकारले पेट्रोल र डिजेल अनुदानमा दिँदा एकातिर नेपाल आयल निगमको घाटा चुलिँदो छ भने अर्कातिर सर्वसाधारणले हरेक वस्तु तथा सेवाको मूल्य उच्च तिर्नु परिरहेको छ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा सबैभन्दा ठूलो हिस्सा सरकारी करको हुन्छ । नेपालमा विक्री हुने पेट्रोलियमको मूल्यमा कर मात्रै १९ रुपैयाँदेखि २ सय ७३ रुपैयाँसम्म लाग्ने गरेको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोलियमको खरिद मूल्यमा नेपालले मूल्य अभिवृद्धि कर (भ्याट), प्रशासनिक र बिक्री खर्च (बीमासहित), प्राविधिक नोक्सानी, ढुवानी, बिक्रेता कसिमनसमेत जोड्ने गरेको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४१ रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ३२ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा र बाह्यमा १२ रुपैयाँ ६३ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २७३ रुपैयाँ ९४ पैसा कर लाग्छ । सो करसँगै ढुवानी खर्च, निगमको प्रशासनिक खर्च, विक्रेताको मुनाफा पनि जोडिएपछि तेलको मूल्य अचाक्ली महँगो हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL