Logo

चेम्बरको ७१ औं बार्षिकोत्सव : अप्ठ्यारो अवस्थामा पुगेको अर्थतन्त्र सुदृढ बनाउन सरोकारवालाको जोड

चेम्बरको ७१ औं बार्षिकोत्सव : अप्ठ्यारो अवस्थामा पुगेको अर्थतन्त्र सुदृढ बनाउन सरोकारवालाको जोड



काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले पछिल्लो समय देखिएको अर्थतन्त्रको समस्यालाई सँगै मिलेर समाधान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले सरकार र निजी क्षेत्र मिलेर यसका समस्या समाधानका उपाय खोज्नुपर्नेमा जोड दिएका हुन् । यस्तै उनले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रहसमेत गरेका छन् ।

कोरोनालगायत अन्य कारणबाट सङ्कटमा परेको नेपालको उद्यम तथा व्यवसाय क्रमशः लयमा फर्कंदै आएकाले नआत्तिइकन व्यावसायिक धर्म निर्वाह गर्न सभामुख सापकोटाले उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् । उनले कुशल व्यवसायी नै समाजको पथप्रदर्शकसमेत हुने भएकाले राज्यको नियम तथा कानून पालना गर्दै उद्यममा क्रियाशील हुन नेपालको व्यावसायिक क्षेत्रको ध्यानाकर्षण गराए ।

कार्यक्रममा मुख्यसचिव शङ्करदास वैरागीले व्यवसायिक क्षेत्रको प्रवद्र्धन र विस्तारका लागि सरकारले सहयोग गरिरहेको बताए । पछिल्ला दिनमा उद्योग तथा व्यवसायका क्षेत्रमा पनि नयाँ खालको जोखिम देखिए पनि सबैको सुझाव र सल्लाहका आधारमा सरकार अगाडि बढ्ने विश्वास उनले दिलाए । उनले उद्योगी तथा व्यवसायीको समस्या समाधानका लागि सरकारकातर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी नहुने धारणा व्यक्त गरेका छन् ।

यस्तै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कोरोनाको असर कम भएसँगै मुलुकको अर्थतन्त्र पूरानै लयमा फर्किन सङ्घर्षरत रहेको बताए । बजेट र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सबै क्षेत्रमा चाप परेको उनको भनाई थियो ।

बढ्दो आयात र कमजोर निर्यात, वैदेशिक सहायता तथा लगानीको अभावका कारण वैदेशिक मुद्राको अभाव भई मुलुकको व्यापारघाटा धान्न नसक्ने गरी बढेको उनले बताए । अध्यक्ष मल्लले विद्यमान समस्या समाधानका लागि सरकारी निकायले चनाखो भई चिन्तन गर्नुपर्ने र उपयुक्त उपाय निकालेर कार्यान्वयनमा लैजानुपर्ने खाँचो औंल्याए । अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि कार्यान्वयनयोग्य व्यावहारिक उपायबारे सुझाव दिनका लागि चेम्बर तयार रहेको उनको भनाइ थियो ।
हालसम्म ७० जिल्ला चेम्बर, ५१ नगर चेम्बर, ४३ वस्तुगत तथा द्विराष्ट्रिय चेम्बरहरु नेपाल चेम्बरमा आवद्ध भइसकेको बताउँदै उनले ७० भन्दा बढी मित्र राष्ट्रहरुका चेम्बरसंग समझदारी पत्रमा हस्ताक्षर भएको बताए ।

नेपाल चेम्बर मुलुकको समग्र निजी क्षेत्रको प्रेरणाको स्रोत पनि हो । त्यसैले नेपाल चेम्बरले संस्थागत सामाजिक उत्तरदायित्वको भावनालाई थप उजागर गर्दै विभिन्न सामाजिक कार्यहरुलाई पनि उत्तिकै प्राथमिकताका साथ तीव्रता दिँदै आएको छ । विगत केही वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको “कोभिड–१९” को प्रकोपले नेपाल पनि आक्रान्त बन्यो । त्यसको नियन्त्रणका विभिन्न निरोधात्मक तथा प्रतिकारात्मक उपायहरु अवलम्बन गर्दै नेपाल सरकार एवं नागरिक समाजको सहयोगको लागि चेम्बरले विभिन्न कार्यहरु सम्पन्न गरेको अध्यक्ष मल्लले बताए ।

नेपाल चेम्बर अफ कमर्सका संस्थापक एवं पूर्वअध्यक्षहरुको स्मृतिमा उनीहरुका सन्ततीहरुबाट स्थापित सम्मान तथा कदर–पत्र प्रत्येक वर्ष चेम्बरको वार्षिक साधारण सभाको अवसरमा प्रदान गरिँदै आएको छ । यस बर्ष पनि, विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिहरुलाई चेम्बरले सम्मानसहित कदरपत्र प्रदान गरेको छ ।

आफ्नो मन्तव्य राख्दै अध्यक्ष मल्लले अर्थतन्त्रमा सुधारका प्रारंभिक संकेतहरु देखिन थालेको अवस्थामा २०७६ को अन्त्य देखि फैलिएको ‘कोभिड– १९’ को संक्रमणले मुलुकको अर्थतन्त्रको प्रत्येक क्षेत्र प्रभावित हुन पुगेको बताए । हाल उक्त महामारीको प्रकोप करीव करीव नियन्त्रणमा छ । अव त्यसको नकारात्मक असरबाट अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कार्यमा सक्रिय हुनु संपूर्ण जिम्मेवार पक्षको प्रमुख दायित्व भएको छ । तसर्थ राज्यले अविलम्ब अर्थतन्त्रको पुनरुत्थानको लागि पुनकर्जा, पुनर्तालिका लगायत आर्थिक विकासको विशेष प्याकेजको घोषण गर्ने र निकट भविष्यमै जारी हुने आ.ब. २०७९÷८० को बजेट मार्फत त्यसलाई निरन्तरता दिने र विस्तार गर्ने काय हुनुपर्नेमा उनले जोड दिए ।

विद्यमान अवस्थामा मुलुकमा विद्युत आपूर्तिको समस्या उत्पन्न भएको छ । तरलताको चरम अभाव देखिएको छ । व्याजदर बढेको छ । पूर्वी युरोपमा चलेको सशस्त्र द्वन्दले पेट्रोलियम लगायतका केही अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या उत्पन्न हुनुका साथै उच्च मूल्य वृद्धि भएको छ ।

आम नागरिकले सहभागिता बढाउँदै गरेको र भर्खर भर्खर विकसित हुन लागेको पूँजी बजार एक्कासि ओरालो लाग्न थालेको पनि उनले बताए । ाम नागरिकसंग रहेको स–सानो पूँजी एकिकृत भई मेगा परियोजनाहरुमा परिचालन गर्न सकिने यो क्षेत्रलाई प्रोत्साहित गरिनुपर्छ । सेयर बजारको अवस्थाले नै वाह्य लगानीलाई पनि आकर्षित गर्ने हुँदा यसलाई प्रवद्र्धन गर्ने विषयमा जिम्मेवार पक्षको ध्यान जानु अति आवश्यक रहेको उनको भनाई थियो ।

वाह्य व्यापारमा मुलुकले वर्षेनी ठूलो घाटाको सामना गरिरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याँक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा कूल बस्तु निर्यात १ खर्व ४७ अर्व ७४ करोड र आयात १३ खर्व ८ अर्व ७३ करोड रुपैयाँ बराबरको रहेको छ । समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा ३४ दशमलव ५ प्रतिशतले वृद्धि भई ११ खर्व ६० अर्व ९८ करोड रुपैयाँ पुगेको छ । उक्त विवरण अनुसार कुल वस्तु व्यापार १४ खर्व ५६ अर्व ६४ करोड छ ।

प्रतिक्रिया दिनुहोस्
MBL