Logo

उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डल र मन्त्री बडूबीच भेटघाट, उद्योग व्यवसाय क्षेत्रका समस्याबारे ध्यानाकर्षण

उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डल र मन्त्री बडूबीच भेटघाट, उद्योग व्यवसाय क्षेत्रका समस्याबारे ध्यानाकर्षण



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेटघाट गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्री बडूसमक्ष भेटघाट गरेको हो ।

लामो समयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पाएकोमा निजी क्षेत्र खुसी भएको महासंघका अध्यक्ष गोल्छाले बताए । अब उद्योग मन्त्री बडूले उद्योग व्यवसाय क्षेत्रका समस्यालाई समाधान गरेर अघि बढ्न महासंघले आग्रह गरेको छ ।

अध्यक्ष गोल्छाले तरलता अभाव, चर्को ब्याजदर, विद्युत कटौती, इन्धनको चर्को मूल्य वृद्धिलगायतका कारण औद्योगिक क्षेत्र समस्यामा परेको बताए । उनले उद्योगमन्त्रीबाट यस क्षेत्रको समग्र समस्या समाधानमा चाल्ने प्रयासमा महासंघले पूर्ण सहयोग गर्ने विश्वास पनि दिलाए ।

छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र सघाई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, महानिर्देशक गोकर्णराज अवस्थीको सहभागिता थियो । विद्यमान समस्याका विषयमा महासंघले राखेका चासोप्रति आफू गम्भीर रहेको र यस सम्बन्धमा आफूले छिट्टै बृहद छलफल आयोजना गर्ने मन्त्री बडूले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL