Logo

२० प्रतिशत जनसङ्ख्या मात्र स्वास्थ्य बीमामा, बीमा गरेका ३० प्रतिशतले गर्दैनन् नविकरण

२० प्रतिशत जनसङ्ख्या मात्र स्वास्थ्य बीमामा, बीमा गरेका ३० प्रतिशतले गर्दैनन् नविकरण



काठमाडौं । स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले बिहीबार आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताए ।

उनका अनुसार विसं २०७२ मा कैलाली जिल्लाबाट सञ्चालन भएको स्वास्थ्य बीमा अहिलेसम्म ५३ लाख चार हजार २ सय ७० जनाले मात्र गरेका छन् । अर्थात कूल जनसङ्ख्याको २० दशमलव ०३ प्रतिशत जनसङ्ख्याले मात्र बीमा गरेका छन् । तीमध्ये २० लाख ८९ हजार ५ सय ९९ जना अर्थात (३९ दशमलव ३९ प्रतिशत) ले मात्र बीमा सेवा लिएका छन् । बीमितमध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेका पाइएको छ ।

‘अन्य देशको तुलनामा हामीले पनि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको छौँ । जापान, कोरियालगायत देशमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको छ’, उनले भने, ‘हामीले सोचेजस्तो रुपमा कार्यक्रमलाई लैजान सकेका छैनौँ ।’

उनले कोरोना भाइरसको कारणले पनि बीमा कार्यक्रमलाई प्रभाव पारेकाले दुई वर्ष प्रभावकारी रूपमा काम गर्न नसकिएको स्पष्ट पारे । उनले स्वास्थ्य बीमा बोर्डलाई सरकारले कानुनी रूपमा स्वायत्त संस्थाको रुपमा परिभाषा गरे पनि व्यावहारिक रूपमा संस्था स्वायत्त हुन नसक्दा काममा समस्या भएको बताए ।

स्वायत्त संस्थाको रूपमा बोर्डलाई लैजानका लागि सरकारसँग ३७२ जनाको स्वीकृत दरबन्दी माग गरेको छ । ३ हजार ५ सय रुपियाँको वार्षिक बीमा गरेवापत १ लाख बराबरको स्वास्थ्य उपचार उपलब्ध हुन्छ । बोर्डले ४ सय ४१ सरकारी र निजी अस्पतालमासँग बीमा गरेवापतको स्वास्थ्य उपचारका लागि सम्झौता गरेको छ । बोर्डले बीमा कार्यक्रममार्फत अति गरिब, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, क्षयरोगी, अति अशक्त अपाङ्गता भएकालाई सरकारले नै बीमाको रकम उपलब्ध गराउने गरेको छ ।

नेपालमा अहिलेसम्म १५ लाख ८ हजार ५ सय १४ बीमित परिवारले बीमा कार्यक्रममा सहभागी रहेका छन् । अति गरिब परिवारको ४ लाख ८८ हजार ४ जनाले, ज्येष्ठ नागरिक ६ लाख ३४ हजार ७ सय ३५, एचआइभी सङ्क्रमित २५ हजार २ सय ८९ जना, अति अशक्त अपाङ्गता ९३ हजार ६ सय २९ जना, कुष्ठरोग सङ्क्रमित २ हजार ८ सय ४९, क्षयरोगी २ हजार ४ सय ७४ जनाले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका छन् ।

८ स्थानीय तह बाँकी

स्वास्थ्य बीमा कार्यक्रम आठ स्थानीय तहमा अझै लागू हुन सकेको छैन । जिल्लाका ७ सय ४५ स्थानीय तहमा बीमा कार्यक्रम लागू गरिए पनि उपत्यकाका आठ स्थानीय तहमा बीमा कार्यक्रम लागू गरिएको छैन । बोर्डका शाखा अधिकृत सिर्जना पौडेललका अनुसार काठमाडौँ जिल्लाको काठमाडौँ महानगर, किर्तिपुर, बुढानिलकण्ठ, शङ्खरापुर, नागार्जुन तथा ललितपुर जिल्लाको ललितपुर महानगण्रपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छैन ।

सरकारले स्वास्थ्य सेवा उपभोगको पहुँच तथा उपभोगको सुनिश्चित गर्ने सेवाको विस्तार एव गुणस्तर अभिवृछि गर्न, आर्थिक जोखिम घटाउने तथा न्यूनतम रकम पूर्व भुक्तानीको आधारमा २०७२ चैत २५गतेदेखि बीमा कार्यक्रम सुरु गरेको हो । भोलि शुक्रबार देशभरि नै ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ बीमा छैटौँ बीमा दिवस मनाइँदैछ ।

बीमा कार्यक्रममार्फत गरिब, विपन्न एवं सुगम क्षेत्रमा सेवाको पहुँच पुगेको बताइएको छ । बीमा कार्यक्रमअन्तगर्त बोर्डले अहिलेसम्म १६ अर्ब ७९ करोड ६८ लाख अस्पताललाई भुक्तानी गरिसकेको छ । यो आर्थिक वर्षमा चैत २० गतेसम्म साढे ६ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL