Logo

खाने नुनमै चरम लुट, २० रुपैयाँमा पाइने नुन काठमाडौंमै ३० रुपैयाँसम्म तिरेर किन्न उपभोक्ता बाध्य

खाने नुनमै चरम लुट, २० रुपैयाँमा पाइने नुन काठमाडौंमै ३० रुपैयाँसम्म तिरेर किन्न उपभोक्ता बाध्य



काठमाडौं । उद्योगीहरुले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएको भन्दै धेरैजसो वस्तुको मूल्य वृद्धि गरिरहेका छन् । स्थानीय चुनावको बढ्दो रौनक र सम्बन्धित मन्त्रालय नै मन्त्रीविहिन हुँदा बजार अनुगमनमा सरकारी चासो शून्य देखिन्छ । जसका कारण उपभोक्ता बजारमा कम मूल्यमा पाईने वस्तु नै अत्याधिक मूल्य तिरेर उपभोग गर्न बाध्य हुँदैछन् ।

पछिल्लो समय बजारमा उपभोग्य वस्तुहरुको मूल्य केही महिना अघिको तुलनामा ५० देखि शतप्रतिशतले नै बढेको छ । उद्योगीहरुले उत्पादनमूल्य नै वृद्धि गरेर व्यापारीकहाँ पठाएपछि खानेतेल, लत्ताकपडा, खाद्यान्नलगायत सबै वस्तुको मूल्य अचाक्ली बढेको छ ।

तर, सरकारले प्रत्यक्ष रुपमा मूल्य नियन्त्रण गरेको खानेनुनमा समेत अचाक्ली मूल्य वृद्धि भएको देखिन्छ । नेपालमा नुनको विक्री वितरण र भण्डारणको आधिकारिक निकाय साल्ट ट्रेडिङले व्यापारीहरुलाई नुन प्रतिकिलो १९ रुपैयाँ ४० पैसामा वितरण गर्दै आएको छ । यसको उच्चतम खुद्रा मूल्य (एमआरपी) २० रुपैयाँ तोकिएको भएपनि व्यापारीहरुले भने कामाडौंमै प्रतिकिलो २५ देखि ३० रुपैयाँ लिँदै आएका छन् । यसरी तोकिएको एमआरपीभन्दा बढी मूल्यमा कसैले कुनै पनि वस्तु विक्री वितरण गर्न पाईँदैन । तर, व्यापारीहरुले पछिल्लो समय ढुवानी भाडा बढेको भन्दै सरकारले वितरण गर्ने नुनको समेत मूल्य अत्याधिक बढाएका छन् । अन्य वस्तुको मूल्य अत्याधिक बढेपछि त्यसको लहैलहैमा लागेर नेपाली व्यापारीहरुले नुनको समेत मूल्य सोहीअनुसार बढाएका हुन् ।

यता खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर भने व्यापारीहरुलाई नुनमा फाइदाभन्दा बढी घाटा भएपछि यस्तो गरेको हुनसक्ने बताउँछन् । हाल धेरैजसो व्यापारीले २५ रुपैयाँसम्म प्रतिकिलो नुनको लिईरहेका छन् । यो पनि सीधै लुट भएको उनको भनाई छ । तर, व्यापारीले खाद्य संस्थान वा साल्ट ट्रेडिङबाट नुन ल्याउन आफ्नै ढुवानी खर्च तिर्नुपर्छ । ‘व्यापारीहरु नुनमा घाटा खाएर बेचिरहेका छन्,’ उनले भने, ‘कि साल्ट ट्रेडिङले व्यापारीलाई ढुवानी खर्च दिनुपर्छ नत्र व्यापारीहरु नुन बेच्नै नसक्ने अवस्थामा पुग्न सक्छन् ।’

उनी नुनमा आवश्यकताभन्दा बढी मूल्य असुल्नेलाई कारबाही गर्नुपर्ने बताउँछन् । सरकारले नै यसको मूल्य तोकिदिएको छ । तर, व्यापारीले त्यो भन्दा बढी लिन नहुने उनको भनाई छ । यता साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारी भने व्यापारीलाई ढुवानी खर्च उठाउन भनेर नै नुनमा ६० पैसा छुटमा दिने गरेको बताउँछन् । डिलर वा ठूलो परिमाणमा नुन लैजानेलाई साल्ट ट्रेडिङले प्रतिकिलो १९ रुपैयाँ ४० पैसामा नुन वितरण गर्दै आइरहेको छ ।

पछिल्लो समय विभागीय मन्त्रालय मन्त्रीविहिन हुँदा अचाक्ली मूल्यवृद्धिमा कसैको ध्यान नपुगेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । उनका अनुसार व्यापारीले उपभोक्ताबाट अचाक्ली मूल्य असुल्दा पनि वाणिज्य विभागले काम गर्न सकेको छैन, उपभोक्ता अधिकारकर्मीहरु स्वयंले काम गर्न पाएका छैनन्, मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीलेसमेत वाणिज्य सचिवलाई भेट्नेसम्म फुर्सद पाएका छैनन् । जसका कारण बजार अनियन्त्रित हुँदैछ । यसो हुँदा विभिन्न माध्यमबाट उपभोक्ता अधिकारकर्मी र स्वयं वाणिज्य विभागमै गुनासोको थुप्रो लागेपनि उचित सुनुवाई हुन नसकिरहेको उनले बताए । गुनासो सुनुवाई नै नहुँदा बजारमा सबै उपभोग्य वस्तुको मूल्य आकाशिँदा नियन्त्रण हुन सकेको छैन । जसमा खाने नुन पनि एक हो ।

यसरी तोकिएको मूल्यभन्दा बढी पैसा उपभोक्तासँग असुल्ने व्यापारीलाई ३ लाख रुपैयाँसम्म जरिवाना हुने उनले बताए । साल्ट ट्रेडिङले आयो, भानु, शक्ति र तेज ब्राण्डमा नेपालभरी आयोडिनयुक्त नुन वितरण गर्ने गरेको छ । हरेक जिल्लाका जिल्ला सदरमुकाममा यस्ता खाद्य वस्तु वितरण गर्नका लागि खाद्य संस्थानको कल्पना गरिएको छ । तिनै संस्थानमार्फत सर्वसाधारणलाई नुन वितरण गर्ने गरिएको छ । तर, सर्वसाधारलाई दिने मूल्यमा व्यापारीले नुन खरिद गरेर सर्वसाधारणलाई मूल्य थपेर बेच्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL