Logo

अत्याधिक मात्रामा भण्डारबाट तेल निकाल्न अमेरिकी राष्ट्रपतिको आदेश, ऊर्जा अभावको सङ्कट समाधान नहुने विश्लेषकको भनाइ

अत्याधिक मात्रामा भण्डारबाट तेल निकाल्न अमेरिकी राष्ट्रपतिको आदेश, ऊर्जा अभावको सङ्कट समाधान नहुने विश्लेषकको भनाइ



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रूस–यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् ।
आगामी ६ महिनामा सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिए यताकै उच्च १८ करोड ब्यारलसम्म तेल निकालिने अमेरिकी प्रशासनले जनाएको छ ।

यद्यपि दैनिक १० लाख ब्यारलको दरमा तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने विश्लेषकहरूले बताएका छन् । यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने बिश्लेषकहरूले बताएका बीबीसीले उल्लेख गरेको छ ।

यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि तेल सङ्कट समाधानको एउटा सामान्य पहलस्वरूप बाइडेनले पछिल्लो कदम चालेका हुन्।

रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता भएको र रूसबाट तेल खरिदमा प्रतिबन्धको घोषणा गरेसँगै अमेरिका, यूरोप लगायत विश्व बजारमा तेलको अभाव देखिएको र तेलको उच्च मागका कारण मूल्य वृद्धि भएको छ ।

यद्यपि कतिपय अमेरिकी सञ्चारमाध्यमले बाइडनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेको बताएका छन् । ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा बनेको छ । रासस एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL