काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैत ४ देखि अन्तरराष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । महासंघले काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको हो ।
मेला चैत ८ गतेसम्म चल्ने छ ।
नेपाल सरकार र वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हुने मेलामा सहभागी हुन चाहने स्वदेशी तथा विदेशी कम्पनीका लागि महासंघले प्रदर्शनी कक्षसमेत खुला गरेको छ।
३ सयभन्दा बढी कक्षमार्फत स्वदेशी एवम् विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ । मेलामा भारत, चीन, बङ्गलादेश, पाकिस्तान, थाइल्याण्ड, भुटान, ताइवानलगायत देशका कम्पनीले भाग लिने महासंघका अध्यक्ष पशुपति मुरारकाले आयोजित पत्रकार सम्मेलनमा बताए।
मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै कक्ष राखिने छ । त्यस्तै तयारी पोसाक, छाला तथा छालाजन्य उत्पादन, सेवा क्षेत्रका विविध उत्पादन समावेश गरिने बताए।