Logo

मेलम्चीको पानी चैतभित्रै काठमाडौं ल्याउन सकस, कहिलेसम्म पानी आइपुग्ने भन्ने अझै टुंगो लागेन

मेलम्चीको पानी चैतभित्रै काठमाडौं ल्याउन सकस, कहिलेसम्म पानी आइपुग्ने भन्ने अझै टुंगो लागेन



काठमाडौं । सरकारको मेलम्चीको पानी चैतभित्रै काठमाडौं पुर्याउने योजना असफल हुने देखिएको छ । निर्माण पक्षले युद्धस्तरमा काम गरिरहेपनि कामकै क्रममा नयाँ–नयाँ समस्या आइपर्दा चैत्रभित्र पानी काठमाडौं ल्याउन नसकिने अवस्था देखिएको हो । खानेपानी मन्त्री उमाकान्त चौधरी हरेकजसो सार्वजनिक कार्यक्रमहरुमा चैतभित्रै काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुर्याउने उद्घोष गर्दै आएपनि निर्माण पक्षले भने काम सम्पन्न हुन नसकिने संकेत गरेको छ ।

सरकारले जसरी पनि अस्थायी रुपमा छिटो काठमाडौं ल्याइपुर्याउने गरि निर्देशन दिएअनुरुप आयोजनाले पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेको छ । हाल आयोजनाको गेट नम्बर १, ९, १७, २१ र ३८ मा युद्धस्तरमा काम भइरहेको छ । यी गेटहरुमा भरिएको गेग्रान, ढुंगा माटोलगायत फोहोर हटाउने काम अन्तिम चरणमा पुगेपनि अझै कति काम बाँकी छ यकिन छैन ।

हाल गेग्रान भरिएका गेटलाई खोल्ने, बन्द गर्ने कामहरु भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले बताए । उनका अनुसार सुरुङको गेटमा बाँकी रहेको केही गेग्रान पूर्णरुपमा सफा गर्न अझै ३ देखि ४ दिन लाग्नेछ । यदि सुरुङभित्र गेग्रान नभरिएको भए अबको ४ दिनमा सुरुङमा पानी पथान्तरण गर्न सकिने आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले बताए । उनका अनुसार मन्त्रालयको निर्देशनअनुसार नै आयोजनाले ठेकेदार कम्पनीलाई काम तीब्र्र रुपमा अघि बढाउन निर्देशन दिइसकेको छ ।

यदि मेलम्चीको पानी काठमाडौं ल्याउने हो भने करिव १५ देखि २० दिन अघि नै सुरुङमा पानी हालिसक्नुपर्छ । तर, यो महिनाको जम्मा १४ दिनमात्रै बाँकी रहेकाले मन्त्रीको आश्वासन असफल हुनसक्ने डिभिजनल इन्जिनियर कुँवर बताउँछन् । ‘हामी मन्त्रीको निर्देशन अनुसार नै भटाभट काम गरिरहेकै छौं,’ उनले भने, ‘नयाँ काम भएकाले यति दिनमा काम सकिएर पानी झार्न सकिन्छ भन्ने एकिन हुनेथियो, तर, काम पुरानै र कति क्षति भएको छ भन्ने एकिन नभएकाले यति दिनभित्रै पानी झार्न सकिन्छ भनेर भन्न सकिने अवस्था पनि छैन ।’

सुरुङमा पानी भरिन मात्रै १४ दिन लाग्छ । त्यसपछि सुन्दरीजलमा झरेको पानी प्रशोधनसहित काठमाडौंको वितरण प्रणालीमा हाल्ने गरिन्छ । तर, हालसम्म पानी पथान्तरण नै कहिले गर्न सकिन्छ भन्ने एकिन भएको छैन । ‘काम भएअनुसार भन्ने हो भने अवको ३ देखि ४ दिनमै पानी पथान्तरण गर्न सकिन्छ,’ उनले भने, ‘तर, सुरुङमा अन्य समस्या नदेखिएको खण्डमा ।’ आयोजनाले पहिले सुरुङमा गेग्रान नभरिएको अनुमान गरेको थियो । तर, १७ नम्बर गेट हुँदै सुरुङसम्मै गेग्रान भरिएको देखिएपछि निर्धारित समयभन्दा काम सम्पन्न गर्न ढिलाई हुने देखिएको छ ।

काम गर्दै जाँदा नयाँ–नयाँ समस्या थपिँदै गएकाले सुरुङमा पानी हाल्ने समयसमेत टुंगो लगाउन नसकिएको अवस्था छ । गेटहरु खोल्दा खिया लागेको, ढुंगा अड्किएकोलगायतका समस्या देखिएका छन् । इन्जिनियर कुँवरका अनुसार कहिलेकाहीँ गेटमा भएको एउटा नट खोल्नै दिनभरीसमेत लाग्ने गरेको छ । यसरी काम हुँदा पनि मन्त्रीले तोकेको समयसीमा पालना गर्नुपर्ने चुनौती आयोजनालाई छ । करिव २० बर्षको मेहनतपछि गत बर्षको फागुन १० गते मेलम्ची नदीको पानीलाई अस्थायी बाँध बनाएर काठमाडौं ल्याइएको थियो । परीक्षणका लागि मात्रै मेलम्चीबाट काठमाडौंमा पानी पुगेपनि त्यसको ४ महिना पछि आएको बाढीका कारण आयोजना क्षेत्र ध्वस्त बन्यो ।

असार १ गते राति आएको बर्षाका कारण मेलम्ची आयोजनाको हेडवक्र्समा बाढी पस्दा अस्वाभाविक रुपमा गेग्रान भरिएको थियो । बाढीले २ दशक लगाएर बनाएका धेरै संरचनामा गम्भीर क्षति पुर्याएको छ । यसले अस्थायी रुपमा काठमाडौं पुगेको मेलम्चीको पानी पुनः रोकियो र कहिलेसम्म बन्ने भन्ने सुनिश्चितता पनि भएन । यससँगै सरकारले अध्ययन समिति बनाएर सोको रिपोर्टअनुसार आयोजनाको पुनर्निर्माणका लागि काम पनि अघि बढ्यो ।

त्यसयता ४ महिनाजति त पुनर्निर्माणका लागि भन्दै ठेक्का सम्झौतामै खेर गयो । त्यसपछि आयोजनाको लागत सुनिश्चिततामा खेर गयो र बल्ल २ महिना अघि मात्रै काम सुरु भयो । चीनको सिनो हाइड्रोले उक्त पुनर्निमाणको ठेक्का पाएर काम अघि बढाइसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार गत जनवरी ३० तारिखदेखि नै उक्त आयोजनाको हेडवक्र्समा भरिएको गेग्रान हटाउने काम भइरहेको छ । हाल गेग्रान हटाएर गेटहरु खोल्ने काम भइरहेको छ । मन्त्रालयकै निर्देशनमा समितिले ठेकेदार कम्पनीलाई तीब्र रुपमा काम गर्ने निर्देशन दिएपछि सोहीअनुसार काम भइरहेको उनले बताए । पन्तका अनुसार तत्कालका लागि केही काम अझै बाँकी रहेकाले हाल अस्थायी रुपमा मात्रै काठमाडौंमा पानी खसाल्ने र स्थायी रुपमै पानी ल्याउनका लागि अध्ययन भइरहेको छ ।

आयोजनास्थलमा ठूलो क्षति भएकाले र पहिरो आउने सम्भावना अझै भएकाले स्थायी रुपमा पानी पठाउने तरिका, उपायबारे अध्ययन भइरहेको उनको भनाई छ । ‘पुरानै संरचनाले पुग्ने नपुग्ने, नयाँ संरचना बनाउनुपर्छ कि पर्दैनलगायतका कुराहरुमा हाल अध्ययन भईरहेको छ,’ उनले भने, ‘उक्त अध्ययनको प्रतीब्रेदन अनुसार काठमाडौंमा मेलम्चीको पानी स्थायी रुपमै पठाउने प्रक्रिया सुरु गरिने छ ।’ यसको अध्ययनका लागि एशियाली विकास बैंक (एडीबी)ले आयोजनामा आएको बाढी पहिरोका कारण पुगेको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायका लागि जलाधार संरक्षण गर्नै विषयमा अध्ययन गरिरहेको छ ।

विस २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरी यसको काम अघि बढाइएको थियो । त्यसको ९ बर्षपछि २०६४ सालमा नेपाल सरकार र प्रमुख दाता एशियाली विकास बैंकबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति गरिएको थियो । पुनर्संरचनामार्फत् आयोजनालाई दुई भागमा विभाजन गरी मुख्य पानी पथान्तरण कार्य मेलम्ची खानेपानी विकास समितिमार्फत् र वितरण तथा व्यवस्थापन कार्य काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय गरिएको थियो ।

त्यसपश्चात विभिन्न चरणमा आइपरेका अवरोधका बीच पनि काम अघि बढेर २०७७ फागुन २२ गते मेलम्चीको पानी सुन्दरीजल ल्याइपुर्याइएको थियो । यस्तै २०७७ चैत १५ गते मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा खसालियो र चैत २० गते राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटनसमेत गरिएको थियो । त्यसपछि गत असार पहिलो साताः बाढीबाट ठूलो क्षति हुँदा हाल आयोजना पुनर्निर्माण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL