Logo

आठ महिनामै साइकल आयात एक लाखले घट्यो, पूर्वाधार नहुँदा साइकल चढने नेपाली घट्दै

आठ महिनामै साइकल आयात एक लाखले घट्यो, पूर्वाधार नहुँदा साइकल चढने नेपाली घट्दै



काठमाडौं । साइकलमैत्री पूर्वाधार नहुँदा साइकल चढने नेपाली घट्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो आठ महिनामै नेपालमा साइकल आयात झण्डै एक लाखले घटेको छ । गत आर्थिक बर्ष (आब)को पहिलो ८ महिनामा भएको साइकल आयातको तुलनामा चालु आबको सोही अबधिमा झण्डै १ लाखले घटेको हो ।
भन्सार विभागको तथ्यांकअनुसार साइकल आयातमा पछिल्लो ८ महिनामा ठूलो गिरावट आएको हो । गत आवको पहिलो ८ महिनामा आयात भएका साइकलको तुलनामा चालु आबको सोही अवधिमा ९९ हजार २ सय ७८ थान कम साइकल आयात भएको छ । आयात भएका साइकलमा सबैभन्दा धेरै भारत र त्यसपछि चीनबाट आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आबको पहिलो ८ महिनामा १ अर्ब ४५ करोड ८८ लाख ९९ हजार रुपैयाँ बराबरका ३ लाख ९३ हजार ८ सय ३७ थान साइकल आयात भएको थियो । चालु आबको सोही अबधिमा भने १ अर्ब ४५ करोड ८१ लाख १२ हजार रुपैयाँ बराबरका जम्मा २ लाख ६० हजार ९ सय ४६ थान मात्र साइकल आयात भएको छ ।
यो अवधिमा नेपालले विभिन्न २१ देशबाट गरि कुल २ लाख ६० हजार ९ सय ६४ ओटा साइकल आयात गरेको देखिन्छ । तथ्यांक अनुसार नेपालले सबैभन्दा धेरै भारतबाट २ लाख ६ हजार ९ सय ४६ त्यसपछि चीनबाट ८५ हजार ५ सय ८७ थान साइकल आयात गरेको छ । यसका साथै नेपालले हङकङबाट ७ सय ८६, ईन्डोनेशियाबाट ४ सय २८, श्रीलंकाबाट १ सय ३५, ताईवानबाट ६४, कम्बोडियाबाट १०, बेलायत ४, बहराईनबाट ३, अमेरीकाबाट ३ र म्यानमार, कुबेत, सिंगापूर, जापान, इजरायल, तान्जानीया, ओमन, जर्मनीबाट पनि साइकल आयात गरेको देखिन्छ ।

कोभिडले जनजीवन प्रभावित पारेको समय साइकल ब्यापारले राम्रो गति लिएको भएपनि अहिले ब्यापारमा सुस्तता आएको जमलका साइकल ब्यावसायी सुरज बैद्यले बताए । अहिले पेट्रोलियम पदार्थको विकल्पका रुपमा ब्याट्रिबाट चल्ने स्कुटर र मोटरसाइकल पनि बजारमा आएकाले ग्राहकको रोजाई त्यतातिर मोडिएको हुन सक्ने उनको बुझाई रहेको छ । उनका अनुसार साइकल बिक्री घटनुमा कोरोना माहामारीमा धेरैले किनेका र एकपटक किनेपछि ४÷५ बर्षलाई ढुक्क हुने भएकाले अहिले ब्यापार सुस्ताएको हो । यसका साथै काठमाडांैका सडक साइकलमैत्री नहुँदापनि साइकलको ब्यापारमा कमी आएको उनले बताए । बैद्यले साइकलको ब्यापारलाई पूर्वाधारलगायत विविध पक्षले असर गरेको बताए ।

‘काठमाडौंलगायत नेपालका ठूला शहरमा भएका सडकनै साइकलमैत्री छैन्न । यहाँका शहरमा चल्ने ठूला सवारीले पेलेर हिडने गरेकाले सुरक्षाको अवस्था डरलाग्दो रहेको छ ।’ सुरक्षित साइकल लेन नभएका कारण साइकलमा सर्बसाधारणको रुचि बढ्न नसकेको साइकल अभियन्ताको बुझाई रहेको छ । ललितपुर महानगरपालिकाले सडक किनारालाई हरियो रंगले छुट्याउदै साइकलमैत्री सडक बनाएको छ । महानगरको उक्त प्रयास एक सकारात्मक कदम भएको विश्व साइकलयात्री पुस्कर शाहले बताए । उनले उक्त प्रयासलाई महत्वपुर्ण रुपमा हेरिएपनि समग्र शहर अझै साइकलमैत्री हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

पछिल्लो समय साइकल प्रयोगकर्ता घटनुमा पहिलो कुरा सुरक्षाको भएको शाहको भनाई छ । ‘यसकालागि साइकलमैत्री सडक हुनु अनिवार्य हो, यसमा राज्यको ध्यान पर्याप्तमात्रामा नपुग्नु चिन्ताको विषय हो’, उनले बताए । उनले पटक–पटक साइकलमैत्री सडकका लागि राज्यको ध्यानाकर्षण गराए पनि राज्यले मागलाई सुन्ने तर माग सम्बोधनमा राज्य जहिल्यै चुकेको बताए । सरकारले आफ्नो आन्दोलनलाई सुन्ने गरेको तर कार्यान्वयन नगरेको उनको भनाई छ । काठमाडौ उपत्यकाकै ८ लेनको रिङरोड पनि साइकलमैत्री नभएको उनले बताए । साइकल लेनबिनाको सडक सुरक्षित नभएको साइकल अभियन्ताको बुझाई रहेको छ ।

नेपाल सरकारले काठमाडौलगायतका शहरमा साइकलमैत्री लेनको राम्रो व्यवस्था गरिदिए साइकल प्रयोगकर्ता अझै बढने नेपाल साइकल समाजका सचिव राकेश महर्जनले बताए । उनका अनुसार समाजले साइकलका लागि आवस्यक पूर्वाधारका लागि राज्यसंग लविङ गर्ने, डिजाइन गर्ने र सुपरभिजन गर्ने गरेको छ । समाजले गरेको अध्ययनले ललितपुरमा बनेको साइकलमैत्री सडकसंगै जनचेतनामा भएको बृद्धिका कारण उपत्यकामा विगतको तुलनामा २ प्रतिशतले साइकल प्रयोगकर्ता बढेका छन । यद्यपि पछिल्ला बर्षमा साइकल प्रयोगकर्ता सोचेअनुरुप बढ्न नसक्नुमा सुरक्षा नै प्रमुख कारण रहेको उनले बताए ।

बिशेषगरि ठुला सवारीबाट नै साइकल चालक असुरक्षित भएको साइकल अभियन्ता तारालाल श्रेष्ठले बिजखबरसगको कुराकानीमा बताए । काठमाडौं लगायतका शहरमा साइकल यात्रीका लागि डर र त्रासका साथ यात्रा गर्नुपरेको सम्बन्धितहरुको भनाई छ । साइकलमा सवार व्यक्तिलाई पेल्दै गाडी चलाउने चालकलाई कारवाही गर्न प्रभावकारी कानुनको पनि अभाव रहेको श्रेष्ठको बुझाई छ । नेपालमा पेट्रोलियम पदार्थको अभावको समयमा र चर्को मुल्यबृद्धि भएपश्चात अधिकांशमा साइकलप्रतिको मोह बढाएपनि साइकलमैत्री पूर्वाधार नभएकै कारण धेरैले आफ्नो साइकल किन्ने योजना थाती राखेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL