Logo

इम्बोस्ड नम्बर प्लेट जडान कछुवा गतिमा, चर्को शुल्क र उपयोगिता नदेखिदा सवारी धनीले रुचि देखाएनन

इम्बोस्ड नम्बर प्लेट जडान कछुवा गतिमा, चर्को शुल्क र उपयोगिता नदेखिदा सवारी धनीले रुचि देखाएनन



काठमाडौं । सरकारले सबै सवारीसाधनहरुमा जडान गर्ने लक्ष्यसहित शुरु गरेको अत्याधुनिक नम्बर प्लेट (इम्बोस्ड नम्बर) प्लेट जडान प्रक्रियामा सुस्तता देखिएको छ । करिव ५ बर्ष अघि नै सुरु गरिएको इम्बोस्ड नम्बर प्लेट जडान हालसम्म पनि विभिन्न कारणले रोकिँदा यसको प्रगति भनेबमोजिम नदेखिएको सम्बद्ध अधिकारीहरु बताउँछन् ।

हाल नाम राखिएका ६ ओटा प्रदेशका लागि छपाई भइरहेको इम्बोस्ड नम्बर प्लेट विभिन्न १७ हजार सवारीसाधनमा मात्रै जडान गरिएको छ । सेवाग्राहीले चासो नदेखाउँदा े जडान कार्यमा भनेबमोजिमको प्रगति हुन नसकेको विभागका प्रवक्ता लोकनाथ भुषाल बताउँछन् । उनका अनुसार विभागले आफ्नो समयसीमा ख्यालमा राखेर यसको छपाईको काम तीव्र बनाएर १ लाख ७५ हजार बढी नम्बर प्लेट छापिसकेकोे छ । तर, सेवाग्राहीहरु नै यसतर्फ आकर्षित नहुँदा जडानमा भने तीव्रता दिन नसकिएको उनले बताए ।

हालसम्म १७ हजार ४ सय वटा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसकिएको विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन् । उनका अनुसार उनकै कार्यकालमा इम्बोस्ड नम्बर प्लेट जडानको प्रक्रिया तीव्र रुपमा अघि बढेको छ ।

सरकारले विसं २०७३ जेठ १७ गते अमेरिकी र बंगलादेशको जोइन्ट भेन्चर कम्पनी डेकाटुर टाईगरसँग ५ बर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी सम्झौता गरेको थियो । तर, सम्झौता भएको ५ बर्षमा विभिन्न अड्चनका कारण कम्पनीले ४ हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकेको थियो ।

यसबीचमा कम्पनीबिरुद्ध सर्वाेच्चमा इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने भन्दै रिट परेपछि लामो समय सर्वाेच्चबाट आदेश नआउँदा थप ढिलाई भएको थियो । गत बर्ष मात्रै सर्वाेच्चले अंग्रेजी भाषा नै प्रयोग गर्न सकिनेगरी आदेश दिएपछि कम्पनीले गत बर्षको साउनदेखि यसको काम अघि बढाएको थियो । तर, कम्पनीको म्याद भने सर्वाेच्चको आदेश आएको १० महिनापछि अर्थात गत जेठ महिनामा सकियो । कम्पनीको म्याद सकिएपछि अघि नबढेको काम बीचमा अड्चन् भएको भन्दै विभागले कम्पनीलाई सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समय २८ महिना थपिदिएको थियो ।

यसबीचमा पनि कम्पनीले तोकिएका २५ लाख सवारीसाधनमा नम्बर प्लेट जडान गर्ने कार्य गर्न नसक्ने देखिएपछि विभागले विभिन्न सहजीकरण गरिदिने गरेको छ । जसमा सरकारी सवारीसाधनलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेट नवीकरण हुने, नयाँ दर्ता हुनेलगायतका निजी सवारीसाधनमा पनि इम्बोस्ड जडान अनिवार्य गरिएको छ ।

आगामी जेठ १ गतेदेखि नवीकरण गर्ने सवारीमा प्लेट जडान गर्न राजपत्रमा समेत सूचना प्रकाशित भइसकेको अवस्थामा यसको जडान तिव्र बनाएको बताएपनि भनेबमोजिम भने तीव्रता देखिँदैन । यातायात व्यवस्था विभागले गत बर्षको मंसिर १ गतेदेखि नै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको थियो । जसका लागि सेवाग्राहीले विभागको वेबसाईटमार्फत फारम भरेर आफ्नो पालो अनुसार विभागमा उपस्थित हुनुपर्ने थियो ।

विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि सवारीसाधनलाई वर्गीकरण गरी मूल्य तोेकेको छ । विभागले २ पाँग्रे सवारीसाधनका लागि २ हजार ५ सय रुपैयाँ तोकेको छ भने ३ पाँग्रे सवारीसाधनका लागि २ हजार ९ सय रुपैयाँ तोकेको छ । यस्तै ४ पाँग्रे साना सवारीसाधनका धनीहरुले भने इम्बोस्ड नम्बर प्लेट जडान गरेवापत ३ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने हुन्छ । यस्तै ठुला सवारीसाधनका धनीहरुका लागि भने ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यसरी इम्बोस्ड नम्बर प्लेटको मूल्य उच्च हुँदा र त्यसको उपयोगिता नदेखेपछि सेवाग्राहीले यसमा ध्यान नदिएको यातायात विज्ञ बताउँछन् । इम्बोस्ड नम्बर प्लेट जडान गरिएको सवारीसाधन कुन नाकाबाट कता गयो भनेर थाहा हुन्छ । तर, त्यो रिड गर्नका लागि आरएफआईडी गेट आवश्यक पर्ने भएपनि त्यसको निर्माण प्रक्रिया भने अघि बढिसकेको छैन । यतायात व्यवस्था विभागले बिना कुनै प्रक्रिया बेगर नै सेवाग्राहीसँग चर्काे महशुलमा इम्बोस्ड नम्बर बेचिरहेको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले पनि विरोध जनाउादै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL