Logo

पुनः उकालो लाग्दै कच्चा तेलको मूल्य, नेपालमा इन्धनको मूल्य फेरि बढने अनुमान

पुनः उकालो लाग्दै कच्चा तेलको मूल्य, नेपालमा इन्धनको मूल्य फेरि बढने अनुमान



काठमाडौं । अन्तरराष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य पुनः उकालो लाग्न सुरु गरेको छ । गत मार्च ८ मा हालसम्मकै उच्च प्रतिव्यारल १ सय २७ डलर पुगेको कच्चा तेलको मूल्य ओरालो लागेर ९५ डलर प्रतिव्यारलसम्म पुगेको थियो । गत मार्च १६ मा घटेर ९५ दशमलव ६४ डलर प्रतिव्यारल पुगेको कच्चा पेट्रोलियमको मूल्य पुनः उकालो लागेर आईतबारसम्म विश्वबजारमा १ सय २० डलर प्रतिव्यारलसम्म पुगेको छ ।

विश्व बजारमा यसरी मूल्य बढिरहँदा नेपालमा पनि यसको असर पर्ने निश्चित नै हुन्छ । धेरै देशहरुमा पहिलेको तुलनामा लगातार तेलको मूल्य बढिरहेकाले नेपालमा पनि बढ्ने निश्चितजस्तै भएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । भारतीय बजारमा आज आइतबार मात्रै पेट्रोलियमको मूल्य प्रतिलिटर ५० देखि ५५ पैसाले बढेर ९० देखि भारतीय रुपैयाँ १ सय ८ सम्ममा कारोबार भईरहेको छ । नेपालले पनि भारतीय आयल निगमले (आईओसी)ले पठाएको मूल्य अनुसार नै पेट्रोलियमको मूल्य निर्धारण हुने भएकाले पुनः नेपालमा मुल्य बढ्ने अनुमान प्रवक्ता उपाध्याएको छ । ‘विश्व बजारमा पेट्रोलियमको मूल्य पुनः लगातार उकालो लागिरहेकाले नेपालमा मुल्य नघट्ने अनुमान यसै पनि लगाउन सकिन्छ,’ उनले भने, ‘अब पेट्रोलियमको मूल्य घट्न त घट्ला तर, धेरै अन्तरले नभई १, २ रुपैयाँले मात्रै ।’

oil price

नेपाल आयल निगमले भारतीय आयल निगमले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा पठाएको मूल्य सूचीअनुसार पेट्रोलियमको मूल्य निर्धारण गर्ने गरेको छ । मार्च १५ मा भारतीय आयल निगमले पठाएको मूल्य सूचीअनुसार नेपालमा पेट्रोलियमको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको थियो । गत चैत २ यता नेपालमा पेट्रोल १ सय ५५, डिजेल १ सउय ३८ र हवाई ईन्धन १ सय ५१ रुपैयाँ प्रतिलिटरमा कारोबार भईरहेको छ ।

अवको ४ दिनपछि अर्थात आगामी विहीबार पुनः आईओसीले नेपाललाई नयाँ मूल्य पठाएपछि मात्रै नेपालमा मूल्य कतिले बढ्ने वा घट्ने भनेर निर्धारण गर्न सकिने प्रवक्ता उपाध्यायले बताउँछन् । तर, अन्तरराष्ट्रिय बजारमा भईरहेको मूल्य ट्रेन्डलाई हेर्दा पुनः नेपालमा तेलको मूल्य बढेर आउन सक्ने उनको आँकलन छ । ‘ब्रेन्ट कच्चा तेलको मूल्य पुनः लगातार उकालो लागिरहेको अवस्थामा छ, भारतमा पनि लगातार तेलको मूल्य बढ्दो छ,’ उनले भने, ‘भारतले मूल्य बढाएर पठाएपनि स्वतः नेपालमा यसको मूल्य बढिहाल्छ ।’

उच्च कर

पछिल्लो समय नेपालमा लगातार पेट्रोलियमको मूल्य बढिरहँदा ढुवानी खर्च, सार्वजनिक यातायातलगायत सबैको मूल्य उकालो लागेको छ । यसरी हरेक सेवाको मूल्य उच्च रुपमा वृद्धि हुँदा सेवाग्राही मर्कामा परेका छन् । सरकारले पेट्रोल र डिजेल अनुदानमा दिँदा एकातिर नेपाल आयल निगमको घाटा चुलिँदो छ भने अर्कातिर सर्वसाधारणले हरेक वस्तु तथा सेवाको मूल्य उच्च तिर्नुपरिरहेको छ । जसमा सबैभन्दा ठुलो हिस्सा सरकारी करको हुन्छ । नेपालमा विक्री हुने पेट्रोलियमको मूल्यमा कर मात्रै १९ रुपैयाँ देखि २ सय ७३ रुपैयाँसम्म लाग्ने गरेको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोलियमको खरिद मूल्यमा नेपालले मूल्य अभिवृद्धि कर (भ्याट), प्रशासनिक र बिक्री खर्च (बीमासहित), प्राविधिक नोक्सानी, ढुवानी, बिक्रेता कसिमनसमेत जोड्ने गरेको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४१ रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ३२ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा र बाह्यमा १२ रुपैयाँ ६३ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २७३ रुपैयाँ ९४ पैसा कर लाग्छ । सो करसँगै ढुवानी खर्च, निगमको प्रशासनिक खर्च, विक्रेताको मुनाफा पनि जोडिएपछि तेलको मूल्य अचाक्ली महँगो हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL