Logo

मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी शुरु, स्वास्थ्य उपकरण आयातमा सरकारले सहजीकरण गर्ने

मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी शुरु, स्वास्थ्य उपकरण आयातमा सरकारले सहजीकरण गर्ने



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपममा पाँचौं मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी बिहीबारदेखि राजधानीमा सुरु भएको छ । नेपाल मेडिकल सो, एसडी प्रोमो, केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको आयोजनामा भइरहेको उक्त प्रदर्शनीमा भारतको ईईपीसी इन्डिया समेत सहआयोजक रहेको छ ।

एक्स्पोको उदघाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य उपकरण आयातसम्बन्धी समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले जनतालाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा गुणस्तरीय स्वास्थ्य सुविधाका लागि यस्ता एक्सपो उपयोगी हुने धारणा राखे ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले औषधि र औषधिजन्य उत्पादनको लागत बढेको उल्लेख गर्दै मूल्य समायोजनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । ‘अहिले धेरै कुराको लागत बढेको छ जसको मार आषधि उद्योगीहरुमा पनि पर्न गएको छ,’ उनले भने, ‘औषधिको मुल्यमा लामो समयदेखि सरकारको कन्ट्रोल रहेका कारण हरेक बस्तुको मुल्य बढ्दा औषधिमा पनि मुल्य समायोजन गर्नु जरुरी छ ।’

कार्यक्रममा महासंघकै स्वास्थ्य तथा सीप विकास समिति सभापति हेमराज ढकालले कोभिड महामारीका बेला स्वास्थ्य पूर्वाधारको अभाव खट्किएको र स्वदेशी आयातकर्ताहरुको मेहनतका कारण स्थिति नियन्त्रणमा लिन सकिएको बताए । महासंघले कोरोनाको समयमा जनताको जीवन रक्षाका लागि ठूलो काम गरेको जानकारी दिँदै अबका दिनमा आवश्यक मात्रामा स्वास्थ्य उपकरणहरु राख्नुपर्ने बताए ।

एक्स्पो सफल बनाउन नेपालका विभिन्न स्वास्थ्य संस्था, औषधि उद्योग, प्रयोगशाला र मेडिकलहरूको साथ र सहयोगले रहेको केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेश घिमिरेले बताए ।

घिमिरेका अनुसार मेलामा १७० स्टल राखिएका छन् । जसमा भारतीय र नेपाली स्टलको बाहुल्यता रहेको छ । नेपालमा यस्ता सामग्री उत्पादनको सम्भावना रहे पनि भन्सारसम्बन्धी समस्या रहेको उनको भनाइ छ । आयोजकका अनुसार सन् २०२० मा नै आयोजना हुने भनिएको यो एक्स्पो कोभिड—१९ महामारीको कारण अहिलेको मितिमा सरेको हो ।

चैत १० देखि १२ गतेसम्म सञ्चालन हुने मेलामा नेपाल मेडिकल हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्स्पो, नेपाल फर्म्याक रहेका छन् । भारतबाट उत्पादक र निर्यातकर्ताको एक्स्पोमा उल्लेख्य उपस्थिति रहेको छ । एक्स्पोले नेपालको स्वास्थ्य संस्था र प्रयोगशालाहरूलाई अहिलेको उन्नत अवसरहरू प्रदान गर्दै उनीहरूका आवश्यकताहरू पूरा गर्ने लक्ष्य लिएको छ । नेपालमा वार्षिक ४० अर्बको केमिकल एन्ड मेडिकलसम्बन्धी सामग्रीहरुको आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्