Logo

असारदेखि आवेदन दिएको एक सातामै ट्रायल, जेठसम्म ५ लाख ७२ हजारको परीक्षा सक्नुपर्ने

असारदेखि आवेदन दिएको एक सातामै ट्रायल, जेठसम्म ५ लाख ७२ हजारको परीक्षा सक्नुपर्ने



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन असार पहिलो हप्ता खोल्ने भएको छ । विभागले चैत १ देखि रोकेको ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन असार पहिलो हप्ता खोल्ने भएको हो ।

विभागले फागुन मसान्तमा सूचना जारी गरेर चैत १ देखि अनलाईन आवेदन रोकिएको जानकारी दिएको थियो । उक्त सूचनाअनुसार सो समयसम्म परेका अनलाइन आवेदनहरुलाई प्राथमिकतामा राख्दै छिटो भन्दा छिटो ड्राइभिङ लाइसेन्सको परीक्षा दिन पाउने ब्यवस्था मिलाउन चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र अनलाईन आवेदन प्रणाली बन्द रहने उल्लेख गरेको छ ।

फागुन मसान्तमा जारी भएको अनलाइन आवेदन बन्दसम्वन्धी सूचना पहिलो भने होईन । यसअघि कार्यालयले कहिले सर्भर नचलेर त कहिले कोरोनाका कारण पटक पटक सुचना जारी गर्दै बन्द गर्ने गरेको थियो । हालसम्म विभागमा ड्राइभिङ लाइसेन्सनका लागि आवेदन दिएका ५ लाख ७२ हजार जना रहेका छन ।

विभागका अनुसार जेठ महिनासम्म आवेदन दिएका सबैलाई परिक्षा दिलाईसक्ने गरी तयारी अगाडी बढाईएको हो । यसरी जेठभित्र आवेदन दिएका जति सबै ५ लाख ७२ हजार जनाकै परीक्षा गराउन दैनिक १० हजार बढीले ट्रायल दिने गरी विभागले तयारी गर्नुपर्ने देखिन्छ । यस विषयमा विभागसंग जानकारी लिदा आवेदन दिएका सेवाग्राहीको लिखित र प्रयोगात्मक परीक्षा छिटो गराउने गरि आवश्यक तयारी भइरहेको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताए । उनले प्रत्येक सेवाग्राही कार्यालयलाई सोहीअनुसार क्षमता विस्तारमा लागि जोड दिइरहेको बताए ।

यसअघि आवेदन दिएका सेवाग्राहीको कार्यालय भिजिट गर्ने डेट झण्डै दुई बर्ष पछि पर्ने गरेको थियो । यस्तो समस्यालाई निराकरण गर्ने उद्देश्यकासाथ कार्यालयले तयारी अगाडि बढाएको उनको भनाई रहेको छ । ५ महिना पहिलेदेखि सेवाग्राहीलाई कार्यालय भिजिट डेटमा कार्यालय उपस्थित हुन नसकेमा एकपटक पुनमौका दिदै आएको विभागले जानकारी दिएको छ । त्यसअघि कार्यालय भिजिट डेटमा सेवाग्राही कार्यालयमा उपस्थित हुन नसके सेवाग्राहीको आवेदन रद्ध भई पुनः आवेदन दिनुपर्ने अवस्था रहेको थियो । यसपटक आवेदन दिएका ५ लाख ७२ हजार जनाको लिखित र प्रयोगात्मक परीक्षा जेठभित्रै सक्ने र त्यसपछि लिइने आवेदनका लागि एक हप्तामै ट्रायल दिलाउने गरी तयारी भईरहेको विभागका प्रवक्ता भुषालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL