काठमाडौं । काठमाडौंको चावहिल चोक नजिकै घर भएकी पूर्णमाया सिलवाल घर बेचेर अन्तै जाने सुुरसार गर्दैछिन् । दिनहुँजसो गाडीको हाईँहुँई र त्यसमाथि चर्काे हर्नको आवाजले उनी दिक्क छिन् । बिहान निद्रा खुलेदेखि राति सुतुन्जेलसम्म पनि चोकबाट आएको चर्काे हर्नको आवाजले उनी राम्रोसँग निदाउन सक्दिनन् । चर्काे हर्नको आवाजकै कारण उनका छोराछोरीलाई पढ्न असजिलो भएको भन्दै गौरीघाट आफन्तकोमा डेरा लिनुपरेको दुःख उनीसँग छ । विस २०६६ सालमा किनेको घर हाल गाडीको आवाज र हर्नकै कारण घाँडो भएको बताउने उनी त्यो घर बेच्ने तरखरमा छिन् ।
पूर्णमायामात्रै नभएर उक्त क्षेत्र वरिपरिका नागरिकहरु पनि गाडी, बाईकलगायतले ठूलो आवाज गर्दै बजाउने हर्नका कारण दिक्क छन् । काठमाडौंका मूख्य सडकका दायाँबायाँ र आसपास बस्ने सबै बासिन्दाको दुःख हो यो । यस्तै दुःखलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालीकाले विभिन्न निकायसँगको सहकार्यमा उपत्यकालाई हर्न निषेधको घोषणा विस २०७३ सालमै गरेको थियो । विस २०७४ बैशाख एक गतेदेखि उक्त घोषणा कार्यान्वयन पनि भयो । त्यसको केही महिना महानगरपालिका, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले पर्चा पम्पलेट राख्ने, सचेतना जगाउनेलगायतका कार्यहरु अघि बढाएपछि केही सुधार आएको थियो ।
काठमाडौंका मुख्य सडक आसपास बस्नेहरुले केही राहत पाएका थिए । तर, त्यसको कहेी महिना पछि नै पुरानै समस्या दोहोरियो । सबैजसो सवारीसाधनले पुनः पुरानै तरिकाले हर्न बजाउन सुरु गरे, सम्बन्धित निकायले पनि वास्ता गर्न छोड्यो । हालसम्म आईपुग्दा अवस्था पुनः नाजुक बनेको सर्वसाधारण बताउँछन् । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुनेदेखि राजधानी भित्रिने र बाहिरिने मोटरसाइकल, टेम्पो तथा चारपांग्रे सवारी साधनहरुले हर्न बजाउन नपाउने नियम २०७४ बैशाख १ गतेदेखि लागु भएको थियो । जसमा अत्यावश्यक सवारीसाधन जस्तै, शववाहन, दमकल, एम्बुलेन्सबाहेकले हर्न पूर्ण रुपमा निशेध गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
ध्वनि प्रदुषण नियन्त्रण गर्न सर्वसाधारणबाट आग्रह आएपछि काठमाडौं महानगरपालिकाले यो नियम लागू गर्न पहल गरेको थियो । त्यसबेला काठमाडौं महानगरपालिकाका प्रमुख ईश्वरीराज पौडेल थिए । हर्न बजाएमा सवारीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले सुरुमा ५ सय, १ हजारदेखि १५ सय रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । बिरामी बोकेको एम्बुलेन्स, शव बाहन, दमकल लगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारी साधनको हकमा भने यो नियम लागू नहुने व्यवस्था छ । सार्वजनिक, निजी, सरकारी र पर्यटक सवारीले भने दुर्घटना हुने खतरा र एक भागबाट अर्को भाग नदेखिने मोड आएमा मात्र हर्न बजाउन पाउने व्यवस्था छ ।्
विश्व स्वास्थ्य संगठनले अन्तरराष्ट्रिय मान्यता अनुसार ७० देखि ८० डेसिबलको हर्नलाई सामान्य माने पनि काठमाडौं उपत्यकामा गुड्ने सवारीहरुले १ सयदेखि १ सय २० डेसिबलसम्म ध्वनि निकाल्ने गरेका छन् । जसलाई रोक्न यो व्यवस्था गरिएको थियो । तर, पछिल्लो समय यसको व्यवस्था गरेका निकायहरु काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाले समेत यसमा ध्यान दिन सकेको छैन ।
यो व्यवस्था करिव डेढ बर्ष प्रभावकारी रुपमा लागु भएपनि हाल पुरानै हालतमा पुगको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् । उनका अनुसार सबै निकायको समन्वय र एकआपसमा समझदारी नहुँदा उक्त व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । तर, अब भने यो व्यवस्था पुनः कार्यान्वय गर्न लागिपर्नु पर्ने अवस्था आएको उनको भनाई छ । ‘कोरोनालगायतका घटनाहरुले हर्न निषेधको व्यवस्था कार्यान्वयनका लागि केही अप्ठ्यारो अवस्था सिर्जना भएको थियो,’ उनले भने, ‘अव सबै कुराहरु सहज हुँदै गएकाले यसलाई व्यवस्थित कार्यान्वयनको खाँचो छ, त्यसको लागि हामीहरुले छलफल अघि बढाएका छौं ।’
विस २०७४ मा उक्त व्यवस्था लागु भएयता पहिलेजस्तो हर्न भने बज्न छोडेको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषाल बताउँछन् । उनका अनुसार उक्त व्यवस्था कार्यान्वयन हुनुअघि काठमाडौंमा कान थुनेर हिँड्नुपर्ने अवस्था भएपनि पछिल्लो समय त्यस्तो समस्या भने कम भएको छ । त्यसकै बीच हर्न निषेधको व्यवस्था गरिएपपछि पूर्णरुपमा घटेको हर्न बनाउने प्रवृत्ति पछिल्लो समय भने बढेको छ । यसलाई नियन्त्रण गर्नका लागि नियम र व्यवस्था बनेको भएपनि कार्यान्वयनको पाटो भने प्रभावकारी नभएको उनको बुझाई छ । यसका लागि पुनः सबै निकायको समन्वयमा यसलाई प्रभावकारी बनाउनुपर्नेमा उनी जोड दिन्छन् । ‘हामी यसलाई चाँडै प्रभावकारी कार्यान्वयन गर्नका लागि सबै निकायसँग छलफल अघि बढाउँछौं,’ उनले भने, ‘यसका लागि जनचेतना जगाउनु बिशेष जरुरी छ ।’
यस्तै पछिल्लो समय ट्राफिक प्रहरीले पनि दैनिक ५० देखि १ सय जनालाई जथाभावी हर्न बजाएकै आधारमा कारवाही गरिरहेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक संजीव शर्मा दासका अनुसार पछिल्लो समय हर्न बजाउने र भाग्ने चालकलाई सिसीटीभीमार्फत निगरानी गरेरै कारबाही गर्ने गरिएको छ । जथाभावी हर्न बजाएकै आधारमा हिजोमात्रै ७२ जना र आज ११ बजेसम्म ५० जना सवारीचालक कारबाहीमा परिसकेको उनी बताउँछन् ।
पछिल्लो समय कुनै सवारीचालकले हर्न बजाएमा त्यसको नम्बर कन्ट्रोल रुममा नजिकको ट्राफिक प्रहरीले पठाउँछ । त्यहीअनुसार प्रत्येक चोकमा रहेका क्यामेरामार्फत उक्त चालकलाई सम्बन्धित स्थानमा जरिवाना गराउने व्यवस्था मंगलबारदेखि लागु गरिएको उनले बताए । ‘हामी जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरिरहेकै छौं,’ उनले भने, ‘कसले हर्न बजाएर गयो भन्ने एकिन हुन नसक्ने भएपछि सिसीटीभीमार्फत निगरानी थालेका हौं ।’