Logo

दुई अर्बको सडक विस्तार योजना : पाँच हजार रुख काटनुपर्ने, २०८० सम्म काम सम्पन्न गर्नुपर्ने

दुई अर्बको सडक विस्तार योजना : पाँच हजार रुख काटनुपर्ने, २०८० सम्म काम सम्पन्न गर्नुपर्ने



काठमाडौं । रुख कटानमा भएको ढिलाइले सुर्खेत खण्डमा मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित भएको छ । रुख कटानसम्बन्धी प्रक्रियागत ढिलाइले हाल वन क्षेत्र नभएका स्थानमा मात्र सडक स्तरोन्नतिको काम भइरहेको छ ।

राजमार्गको पूर्वी खण्डमा ३५.०५ किलोमिटर र पश्चिम सुर्खेतमा ९४ किलोमिटर क्षेत्र पर्छ । सडक क्षेत्रमा साना ठूला गरी करिब पाँच हजार रुख कटान गर्नुपर्ने आयोजनाका सुर्खेत कार्यालय प्रमुख मुकुन्दप्रसाद लामिछानेले जानकारी दिए। कटान गर्नुपर्ने रुखको पहिचान, सामुदायिक वन उपभोक्ता समिति, सबडिभिजन र डिभिजन वन कार्यालयले आवश्यक प्रक्रिया सुरु गरिसकेका छन् । रुख कटानसम्बन्धी वन कार्यालयबाट तयार भएको फाइल वन विभाग, मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि मात्र कटानको बाटो खुल्नेछ । विद्युत्का पोल, ट्रान्सफर्मरलगायत संरचनालाई सार्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले अनुमति दिइसकेको उनले बताए ।

पूर्वी सुर्खेतको धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ । उक्त सडकले वीरेन्द्रनगर, लेकबेँसी र गुर्भाकोट नगरपालिकाका भू–भागलाई समेटछ । राष्ट्रिय राजमार्गको मापदण्डअनुसार यो सडकलाई नौ मिटर फराकिलो बनाइँदैछ । सडक स्तरोन्नतिका लागि रु एक अर्ब ९४ करोड ८४ लाख लागत अनुुमान गरिएको छ । ठेक्का सम्झौता भने रु एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको लामिछानेले बताए । विसं २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ ।

वन क्षेत्र नपर्ने स्थानमा सडकलाई फराकिलो बनाउन साइड कटिङलगायतका काम भइरहेका छन् । “नाला निर्माण, भित्ताको माटो काट्ने, साइडलेन, पर्खाल निर्माण तथा ग्राभेल जस्ता काम भइरहेका छन्”, लामिछानेले भने, “कतिपय स्थानमा नयाँ सडक निर्माण गर्नुपर्ने नभई पुरानै सडक विस्तार गर्नुपर्ने अवस्था छ ।” सुर्खेतको पश्चिम खण्डको सडक विस्तारको काम सुरु हुनसकेको छैन । पश्चिम खण्डमा पर्ने १३ किमी सडक प्रदेश सरकारले बनाउने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL