काठमाडौं । जलस्रोतमा विश्वकै दोस्रो सम्पन्न देशको रुपमा चिनिएको नेपालमा भने वर्षेनी पानी आयात भने बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा खानेपानी आयात झण्डै ५ गुणाले बढेको छ । चालु आर्थिक बर्षको ८ महिनामा नेपालले ४९ लाख ८४ हजार रुपैयाँको पानी आयात गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालले गरेको उक्त आयात गत आर्थिक वर्षको सोही अबधिको तुलनामा झण्डै ५ गुणाले बढी रहेको छ । गत आबको पहिलो ८ महिनामाको अवधिमा जम्मा १० लाख ७० हजार रुपैयाँ बराबरको खानेपानी आयात भएकोमा चालु आबको उक्त अवधीमा ४९ लाख ८४ हजार रुपैयाँ बराबरको पानी आयात गरेको छ । चालु आर्थिक बर्षको पहिलो ८ महिनामा नेपालले ४३ हजार १५ लिटर पिउन योग्य पानी आयात गरेको हो । भन्सार विभागको तथ्यांक अनुसार नेपालले गरेको उक्त आयात गत आर्थिक वर्षको सोहि अबधिको तुलनामा ३३ हजार ६ सय ८ लिटरले बढी हो ।
नेपालले पछिल्ला ५ बर्षमा कुल ५ करोड २५ लाख ६१ हजार रुपैयाँ बराबरको ११ लाख ९९ हजार ७ सय ४४ लिटर पानी आयात गर्दा २ करोड ५८ लाख ५६ हजार रुपैयाँ भन्सार राजस्व उठेको छ । यस्तै सोही अवधिमा नेपालले जम्मा एक करोड ८६ लाख ८३ हजार रुपैयाँ बराबरको १८ हजार ६ सय ८३ लिटर पानी निर्यात गरेको छ ।
नेपालले गर्ने पानी आयातमा ठूलो हिस्सा भारतको रहेको छ । चालु आबको पहिलो ८ महिनामा मात्र भारतबाट १३ हजार ९ सय ६० लिटर पानी आयात गरेको छ । गत आबको सोहि अबधिमा आयात भएको खानेपानीमा सबैभन्दा धेरै ७ हजार ९४ लिटर पानी बेलायतबाट आयात भएको थियो । यस्तै गत बर्षको उक्त अबधीमा भारतबाट १ हजार ८ सय ५२ लिटर पानी आयात भएको विभागको तथ्यांकमा देखिन्छ । भारत र बेलायतवाहेक फिजी, चाइना र जापानबाट समेत नेपालले पानी आयात गर्दै आएको छ ।
विभागको तथ्यांकअनुसार उक्त आयात भएको पानी गत आबको तुलनामा ८ हजार ८ सय ५० लिटरले बढी हो । गत बर्षको उक्त अवधीमा १७ हजार १ सय २७ लिटर पानी आयात गरेकोमा चालु आबको सोहि अवधीमा २९ हजार ९ सय ७५ लिटर पानी आयात गरेको छ । नेपालले पछिल्लो समय पानी निर्यात बढाए पनि यसको आयात रोक्न सकेको छैन ।
पछिल्लो समय नेपाबाट पानीको निर्यातमा पनि बृद्धि भएको छ । चालु आबको पहिलो ८ महिनामा नेपालले गरेको पानी निर्यात गत आबको पहिलो ८ महिनाको तुलनामा ६ लाख ९५ हजार रुपैयाँले बढेको छ । नेपालले गत बर्षको पहिलो ८ महिनामा चीन र कतारमा पानी निर्यात गरेको विभागको तथ्यांकले देखाएको छ । यस्तै चालु आबको ८ महिनामा अस्ट्रेलिया, कतार र फ्रान्समा पानी निर्यात भएको देखिन्छ ।