Logo

गैर आवासीय नेपाली संघमा सहमति, चैत १० र ११ मा एकता महाधिवेशन

गैर आवासीय नेपाली संघमा सहमति, चैत १० र ११ मा एकता महाधिवेशन



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा सहमति भएपछि चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ। अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्रि केसी र रबिना थापाबीच सहमति भएपछि एनआरएन विभाजन हुनबाट रोकिएको छ ।

अध्यक्ष पदका तीनै जना प्रत्यासीले आज संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति भएको बताए । यसअघि देखिएका सबै विवाद समाधान गरी संघलाई एकजुट बनाएर लैजान आफूहरूबीच सहमति भएको उनीहरूको भनाइ छ ।

अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आ आफ्नो कमजोरी स्वीकार गरेको बताए । पछिल्लो सहमतिले संस्थालाई एकजुट बनाएको उनको भनाइ छ।

अध्यक्षका उम्मेदवार एवम् संघका सल्लाहकार कुल आचार्यले संसारभरका नेपालीहरूलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताए । पद भन्दा पनि पद्धतिका लागि एकजुट हुनु परेको उनको भनाइ थियो । संस्थालाई एकजुट बनाएर अगाडि अहिलेको आवश्यकता रहेको उनले औल्याए ।

अध्यक्षका उम्मेदवारद्वय केसी र थापाले पनि संस्था जोगाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताए । सहमतिअनुसार प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न अध्यक्ष पन्तले आग्रह गर्ने छन् भने उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि पन्तले फिर्ता लिने छन् । त्यसैगरी असन्तुष्ट पक्षका तर्फबाट दायर मुद्दा पनि फिर्ता हुने पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL