काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म निर्यात शुन्य देखिएको छ । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले आयात न्यून रहेको र निर्यात शून्य रहेको बताएका छन् ।
त्यस्तै राजस्व भने लक्ष्यभन्दा बढी सङ्कलन भएको उनले बताए । माघ मसान्तसम्म रु दुई अर्ब चार करोड राजस्व संकलन भएको छ । यस भन्सारको लक्ष्य ८२ करोड ६४ लाख रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत संकलन भएको हो ।
आर्थिक वर्ष २०७८र७९ असार मसान्तसम्म एक अर्ब ६४ करोड लक्ष्य लिएकामा रु दुई अर्ब चार करोड राजस्व उठेको थियो । राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताए । सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने उनले बताए । नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा उनको जोड छ ।
विसं २०७२ को भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीपछि नाका सजहरूपमा सञ्चालन हुनसकेको छैन । नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल, ओखर, लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोलालगायत छन् । भूकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो । रासस