काठमाडौं । गत फागुन २५ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५ हजार ५ सय रुपैयाँ पुग्यो । युरो एसियाली मुलुक रुस र युक्रेनको प्रभावका कारण विश्वबजारमा नै त्यसदिन सुनको मूल्य २ हजार ५२ डलर प्रतिआउन्स पुगेको थियो ।
यसरी दुई देशबीचको प्रभाव परेको भन्दै बजार विश्लेषकहरुले सुनको मूल्य अझै लगातार उकालो लाग्ने बताईरहँदा त्यसपछिका दिन भने सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । रुस र युक्रेनको द्वन्द अघि नेपाली बजारमा सुनको मूल्य प्रतिातोला ९५ देखि ९८ हजार रुपैयाँको आसपासमा कारोबार भईरहेको थियो । तर, जव रुसले युक्रेनमाथि हमला गर्याे त्यसपछि विश्वबजारमा यसको मूल्य बढेसँगै नेपालमा पनि यसको असर देखिएको छ ।
गत फेब्रुअरी २४ तारिखका दिन रुसले युक्रेनमाथि सैनिक हमला सुरु गरेको थियो । त्यसदिनदेखि नै विश्वबजारम सुन, चाँदी, पेट्रोलियम पदार्थलगायतको मूल्य बढेको थियो । विश्व बजारमा हुने व्यापार चक्रलाई प्रत्यक्ष असर पार्ने यस्ता खालका वस्तुको मूल्य एकाएक बढेर मार्च ८, ९ र १० तारिदमा हालसम्मकै उच्च स्थानमा पुगे । तर, पछिल्लो समय भने मूल्य बढेर उच्च विन्दुमा पुगेका सबैजसो वस्तुहरुको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी छ ।
नेपालकै कुरा गर्दा पनि गत फागुन २५ गते सुनको मूल्य एकैदिन २ हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुग्यो । त्यसको अघिल्लो दिन अर्थात फागुन २४ गते नेपालमा सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
फागुन २५ यता भने हालसम्म सुनको मूल्य पुरानै लयमा फर्किसकेको देख्न सकिन्छ । हालसम्मकै उच्च मूल्यमा पुगेको दिनदेखि सुनको मूल्य लगातार गिरावट हुने क्रम जारी छ । रुस र युक्रेनबीच युद्ध झन चर्किँदै गएकाले सुनको मूल्यले अझै उचाई छुने विश्लेषण भईरहँदा त्यसैको भोलीपल्ट सुनको मूल्यमा एकैदिन ३ हजार ५ सय रुपैयाँ प्रतितोलामा गिरावट आयो । यस्तै फागुन २७ र २८ गते मूल्य बढेपनि त्यसपछिका दिनमा मूल्य घट्दै हालसम्म प्रतितोला ९९ हजार ८ सय रुपैयाँ झरेको छ । यो हालसम्मकै उच्च पुगेको दिनको तुलनामा प्रतितोला ५ हजार ७ सय रुपैयाँले कम हो । अर्थात करिव डेढ हप्तामै सुनको मूल्यमा साढे ५ हजार रुपैयाँ बढिको गिरावट आएको छ । यता अन्तराष्ट्रिय बजारमा पनि त्यसदिन यता सुनको मूल्य प्रतिआउन्स १ सय १८ डलरले घटिसकेको छ ।
तर यस्तो अवस्थामा अझै सुनको मूल्य बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । उनका अनुसार रुस र युक्रेनको युद्ध जारी भएकाले अझै यसको मूल्य बढेर नयाँ रेकर्ड बनाउने छ । ‘पछिल्लो समय सुनको मूल्यमा युद्धको असर कम परेजस्तो देखिएको मात्रै हो,’ उनले भने, ‘कुन दिन बढ्छ भन्न नसकिएपनि पहेँलो धातुको मूल्य अझै बढ्ने निश्चित छ ।’
हाल सरकारले उच्च शोधनान्तर घाटा, वैदेशिक मुद्रा संचितिमा गिरावट र उच्च मूल्यवृद्धिका कारण सुन आयातको कोटासमेत घटाईसकेको छ । मूल्य बढेकै कारण नेपालबाट विदेशी मुद्रा आवश्यकभन्दा बढी बाहिरिने भएपछि प्रतिदिन आयात गर्न पाईने सुनको कोटा घटाईएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले फागुन २२ गते एक परिपत्र जारी गर्दै यसअघि दिँईदै आएको प्रतिदिन २० किलोको आयातलाई घटाएर १० किलो तोकेको छ ।