Logo

अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य प्रतिव्यारल २७ डलरसम्मले घट्यो, नेपालमा भने किन बढेको बढ्यै ?

अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य प्रतिव्यारल २७ डलरसम्मले घट्यो, नेपालमा भने किन बढेको बढ्यै ?



काठमाडौं । अन्तरराष्ट्रिय बजारमा लगातार कच्चा तेलको मूल्य घटिरहेको छ । गत मार्च ८ मा प्रतिव्यारल हालसम्मकै उच्च १ सय २३ डलर पुगेको पेट्रोलियमको मूल्य बुधबार घटेर ९६ डलरको आसपासमा कारोबार भइरहेको छ । तर, नेपालमा भने अझै तेलको मूल्य बढेको बढ्यै छ ।

पछिल्लो १ हप्तामा मात्रै अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारल २७ डलरसम्मले घटेको छ । तर, नेपाली बजारमा भने पछिल्लो १ महिनामै पेट्रोलियम पदार्थको मूल्य मात्रै प्रतिलिटर १० रुपैयाँले बढिसकेको छ ।

नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा मूल्य बढेपछि बढाउने र घटेपछि घटाउने गरेको छ । नेपाल आयल निगमको घाटा चुलिएपछि घट्न नसकेको जस्तो देखिएपनि भारतबाट नै मूल्य बढेर आएका कारण मूल्य घटाउन नसकिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । उनका अनुसार नेपालमा पेट्रोलियमको मूल्य भारतले पठाएको मूल्य अनुसार निर्धारण हुने हो । पछिल्लो समय पनि भारतले नयाँ मूल्य पठाउँदा बढाएर पठाएका कारण नेपालमा बढेको हो ।

भारतले पठाएको खरिदमूल्य अनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८२ रुपैयाँ, डिजेल १ सय ६९, मट्टितेल १ सय १३ र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर २ हजार २ सय ४० रुपैयाँ पर्ने थियो । तर, निगमले घाटा खाएरै हालसम्म पेट्रोलियम पदार्थ बेचिरहेको प्रवक्ता उपाध्याय बताउँछन् । निगमका अनुसार हिजोराति बढेको मूल्य वृद्धिपछि पनि पेट्रोलमा प्रतिलिटर २८, डिजेलमा ३२ रुपैयाँ र एलपी ग्याँसमा ६ सय ६५ रुपैयाँ घाटा खाँदै बेचिरहेको जानकारी दिएको छ ।

निगमको खरिद मूल्यभन्दा विक्री मूल्य कम हुँदा निगमलाई पेट्रोलियम पदार्थको मूल्यमा १५ महिनामा ४ अर्ब ६५ करोड रुपैयाँ घाटा हुने प्रवक्ता उपाध्याय बताउँछन् । सोही घाटालाई पुर्ति गर्नका लागि पनि निगमले पेट्रोलियमको मूल्य बढाईरहेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

रुस र युक्रेनबीचको युद्धका कारण विश्वभर पेट्रोलियमदेखि सुनसम्मको मूल्य उच्च रुपमा बढेको थियो । तर, पछिल्लो समय भने एकाएक बढेर उच्च भएको विभिन्न वस्तुको मूल्य हाल लगातार ओरालो लागिरहेको छ ।

गत मार्च ८ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च प्रतिव्यारल १ सय ३० डलर पुगेको थियो । तर, यसको मूल्य हाल घटिरहेको भएपनि निगमले मूल्य बढाएरै बेचिरहँदा उपभोक्तालाई मार परेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । निगमले चुनावी खर्चको जोहो गर्नका लागि उपभोक्तालाई मारमा पारेर मूल्य बढाइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्