Logo

कोरोनापछि यसवर्ष फागुपूर्णिमाको रौनक, रंग आयात मात्रै २० करोड रुपैयाँले बढ्यो

कोरोनापछि यसवर्ष फागुपूर्णिमाको रौनक, रंग आयात मात्रै २० करोड रुपैयाँले बढ्यो



काठमाडौं । नेपालमा प्रत्येक बर्ष फागुन शुक्ल पुर्णिमाका दिन फागु (होली) पर्ब मनाईदै आएको छ । परम्परा र संस्कृति झल्काउनका साथै संस्कृति जोगाउन यस्ता पर्वको महत्व रहने गरेको हो ।

नेपाल प्रज्ञा प्रतिस्ठानको नेपाली बृहत शब्दकोशका अनुसार, फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ छ्यापेर वा अबिर दली आनन्दका साथ मनाईने उत्सवलाई नै फागु वा होरी का रुपमा चिनिने गरेको छ । आपसी सदभाव बाड्दै रङ छ्यापेर वा अबिर दलेर मनाईदै आएको होलीमा पछिल्ला दिनमा अत्यधिक मात्रामा रङको खपत हुने गरेको छ ।

वर्षेनी नेपालमा रङको आयात बढ्दै आएको छ । पछिल्ला २ बर्षमा भने कोरोनाको असर यस व्यवसायमा पनि परेको थियो । व्यवसायीहरूका अनुसार फागुका लागि गत वर्ष अघिल्ला बर्षको तुलनामा ५० प्रतिशतभन्दा कम सामाग्री आयात भएको थियो ।

गत बर्ष र अघिल्लो बर्ष होलीमा मानिसको भेलासंगै कोरोना भाइरस फैलने त्रासका कारण सरकारले होली नखेल्न आग्रह गरेको थियो । यसपटक भने प्रशासनले सौहार्दपूर्ण वातावरणमा होली खेल्न सकिने जानकारी दिएको छ ।

यसका साथै अहिले उक्त अवस्थामा सहज भएसंगै गत बर्षको ६ महिनाको अवधिमा आयात भएको रंग भन्दा २० करोड ५४ लाख २७ हजार रुपैयाँ बढीको रंग आयात गरेको हो । चालु आर्थिक वर्षको ७ महिना (साउन–माघ)मा १ अर्ब ९६ करोड ९० लाख ३८ हजार रुपैयाँको ५३ लाख १० हजार ३६ किलोग्राम रंग आयात भएको छ । गत बर्षको उक्त अवधिमा १ अर्ब ७६ करोड ३६ लाख ११ हजार रुपैयाँ बराबरको ५७ लाख १२ हजार किलोग्राम रंग आयात भएको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक बर्ष २०७५-७६ मा ३ अर्ब १ करोड रुपैयाँ बराबरको रङ आयात भएको देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०७४-७५ मा कुल ३ अर्ब २७ करोड २६ लाख रुपैयाँ बराबरको रङ आयात भएकोे भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष २०७३-७४ मा भने १ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ बराबरको रंग आयात भएको थियो । नेपालमा दैनिक पुजापाठमा प्रयोग हुने रंग पनि यहि शीर्षक अन्तर्गत आउने गर्दछ । नेपालमा रंगको आयात कोरोना कालमा घटेता पनि समग्र रुपमा प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL