Logo

महँगीले नेपाललगायत विश्वभर आम मानिसको बेहाल, तलबभन्दा मुद्रास्फीतिको वृद्धिद्धर दुई गुणा बढी

महँगीले नेपाललगायत विश्वभर आम मानिसको बेहाल, तलबभन्दा मुद्रास्फीतिको वृद्धिद्धर दुई गुणा बढी



काठमाडौं । अहिले नेपालसँगै विश्वभरका उपभोक्ता मुद्रास्फीति (महँगी) ले त्रसित छन् । रुस र युक्रेनबीचको युद्धका कारण कच्चा तेलको उच्च मूल्यले स्थिति झनै नराम्रो बनाएको छ ।

एकातिर, मुद्रास्फीति तीव्र गतिमा बढिरहेको छ, उपभोक्ताहरू खर्च कटौती गर्न बाध्य छन् । अर्कोतर्फ, मुद्रास्फीतिको तुलनामा कम ज्याला वृद्धिले संकट थपेको छ । यसैलाई मध्यनजर गर्दै विश्व वित्तीय संस्थाहरूले अर्थतन्त्रको वृद्धिको अनुमान घटाइरहेका छन् । ब्लूमबर्ग र मोर्गन स्टेनलीको एक रिपोर्टमा यो कुरा बाहिर आएको हो ।

मुद्रास्फीतिबाट पीडित अमेरिकी

अमेरिकाको आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको फेब्रुअरीमा त्यहाँ मुद्रास्फीति ७.९ प्रतिशत पुगेको छ । यो सन् १९८२ यताकै उच्च संख्या हो । अमेरिकामा मुद्रास्फीति दर अझै बढ्न सक्ने विज्ञहरुले बताएका छन् । वास्तवमा, अमेरिकी श्रम विभागले जारी गरेको फेब्रुअरीको मुद्रास्फीति प्रतिवेदनले फेब्रुअरी २४ मा युक्रेनमा रुसको आक्रमणपछि तेल र ग्यासको मूल्यमा भएको वृद्धिलाई समावेश गरेको छैन । रूसको आक्रमण पछि ग्यासको औसत मूल्यमा तीव्र उछाल आएको छ ।

२० वर्षमा सबैभन्दा कम ज्याला वृद्धि

प्रतिवेदनअनुसार गत वर्षको अन्त्यमा अमेरिकीहरूको औसत ज्याला वृद्धि ४.५ प्रतिशत थियो, जुन विगत २० वर्षमा सबैभन्दा कम तलब वृद्धि हो । जबकि मुद्रास्फीति यो भन्दा झण्डै दुई गुणा बढी छ । सरकारी उपभोक्ता मूल्य सूचकाङ्कको करिब एक तिहाइ हिस्सा ओगट्ने आवासको मूल्य ज्याला वृद्धिमा आएको गिरावटको बीचमा तीव्र वृद्धि भएको तथ्यांकले देखाएको छ । यसले उपभोक्तालाई त्रसित बनाएको छ । विश्वका प्राय देशहरुमा महँगीअनुसार श्रमिकको ज्याला वृद्धि हुन नसकेको तथ्यांकमा उल्लेख छ ।

मुद्रास्फीति आधारित मन्दीको डर

ब्रोकरेज फर्म मोर्गन स्ट्यान्लीले एक विज्ञप्तिमा भनेको छ, ‘वर्तमान भूराजनीतिक तनावले बाह्य जोखिमलाई बढाइरहेको छ र अर्थतन्त्रको लागि मुद्रास्फीति–प्रेरित मन्दीको डर पनि सृजना गरिरहेको छ ।’ मुद्रास्फीति–प्रेरित मन्दीले उत्पादन वा वृद्धि ठप्प हुँदा र मुद्रास्फीति उच्च रहेको अवस्थालाई बुझाउँछ । यो अवस्था निकै खतरनाक रहेको विज्ञहरुले बताएका छन् ।

नेपालमा महंगी झन तीब्र

नेपाल राष्ट्र बैंकले गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो । माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ ।

२०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत रहेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिङ्ग तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति क्रमशः १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत रहेको छ । गत माघ महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ माघमा यी क्षेत्रहरुमा क्रमशः २.१२ प्रतिशत, २.७८ प्रतिशत, ३.३० प्रतिशत र २.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्