Logo

अटो व्यवसायमा इन्धनको मूल्यवृद्धिले असर पर्छ ? व्यवसायी भन्छन्–पर्दैन, तरलता अभावको भने गम्भीर असर

अटो व्यवसायमा इन्धनको मूल्यवृद्धिले असर पर्छ ? व्यवसायी भन्छन्–पर्दैन, तरलता अभावको भने गम्भीर असर



काठमाडौं । नेपालमा पछिल्लो ६ महिनामा ७ पटक पेट्रोलियम पदार्थ (इन्धन) को मूल्य बढिसकेको छ । ६ महिना अघि प्रतिलिटर १ सय ३० रुपैयाँमा विक्री भइरहेको पेट्रोल अहिले १ सय ५० रुपैयाँ पुगेको भने डिजेलको मूल्य पनि प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ । सवारी साधनमा सबैभन्दा बढी प्रयोग भइरहेका यी इन्धनमा नेपाल आयल निगमले पछिल्लो पटक मूल्य बढाउँदा त एकैपटक प्रतिलिटर ५ रुपैयाँले बढायो ।

यसरी दिनप्रतिदिन पेट्रोलियम पदार्थको मूल्य बढिरहँदा ईन्धनबाट चल्ने सवारीसाधनको आयात, व्यापारलगायत घट्छ कि भन्ने चासो पनि उत्तिकै मात्रामा बढेको छ । पेट्रोलियमको मूल्य बढिरहँदा यसबाट चल्ने सवारीसाधनको व्यापारमा भने असर नपरेको व्यवसायी बताउँछन् । पेट्रोलियम पदार्थको मूल्य बढ्ने–घट्ने भइरहेपनि यसले अटो बजारको व्यापारलाई भने असर नगरेको नाडाका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

‘पेट्रोलियमको मूल्य घटबढ भइरहने कुरा हो यसले अटो व्यापारमा त्यति असर परेको छैन,’ उनले भने, ‘रुस र युक्रेनबीचको तनाव केही दिनपछि शान्त भएपछि मूल्य घटिहाल्छ त्यै भएर पनि यो क्षेत्रलाई असर गरेको जस्तो लाग्दैन ।’ उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भन्दा पनि अटो बजारलाई तरलता अभावले भने पिरोलिरहेको बताए ।

पछिल्लो समय बैंकिङ सेक्टरमा देखिएको तरलता अभावका कारण सवारीसाधन किन्न चाहने धेरैजसोले किन्न सकेका छैनन् । बैंकमार्फत ऋण पाउन मुस्किल भएपछि मोटरसाइकल र गाडीको व्यापार घट्दो छ । तरलता अभावकै कारण पनि हाल अटो व्यापार शून्यसरह भएको अध्यक्ष थापाले बताए ।

यस्तै यामहाका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्री पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बजारलाई असर नगरेको बताउँछन् । तर, पछिल्लो समय सरकारले ल्याएका विभिन्न नीतिहरुले भने अटोबजारलाई नै अप्ठ्यारो अवस्था गरिदिएको उनको भनाई छ । नेपाल राष्ट्र बैंकले गरेको आयातमा कडाई, बैंकहरुले जारी गरेको बैंक व्याजदर र पछिल्लो समय निम्तिएको तरलता अभावले भने मोटरसाईकल र चारपांग्रेको बजारलाई पनि अप्ठ्यारो परेको उनले बताए ।

हाल सरकारले सवारीसाधन आयातमा ५० प्रतिशत नगद मार्जिनको सीमा राखिदिएकाले सवारीसाधनमा थप भार परेको छ । जसका कारण उपभोक्तालाई झन बढी मूल्य हालेर साधन किन्नुपर्ने बाध्यता छ । पेट्रोलियम पदार्थको मूल्य बढेपछि सवारीसाधनको मूल्य घट्नुभन्दा पनि झन बढाउनुपर्ने अवस्था आएको उनको भनाई छ । ‘पेट्रोलियम पदार्थको मूल्य त आज बढ्छ भोलि घट्छ, तर, हामीले विदेशबाट ल्याएका सवारीसाधनको मूल्य त बढिराख्ने हो,’ उनले भने, ‘यस्तो बेलामा सवारीसाधनको मूल्य घटाउने भन्दा पनि बढाउनुपर्ने छ ।’

यस्तै नीतिका कारण पछिल्लो समय सवारीसाधन र यसका पार्टपुर्जाको आयातमा उल्लेख्य गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाउँछ । नगदमा मार्जिन राख्नुपर्ने वस्तुको आयात मात्रै गत पुष महिनाको तुलनामा माघमा १ अर्ब रुपैयाँले घटेको छ । जसमा सवारीसाधन पनि परेका छन् । नेपाल राष्ट्र बैंकले पहिलोपल्ट एक परिपत्र जारी गर्दै सवारीसाधनको आयातमा एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो ।

यता बैंकिङ सेक्टरमा यो बर्षको सुरुवातिदेखि नै तरलता अभाव जारी छ । जसका कारण हायरपर्चेज कर्जामा पनि गिरावट आएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । बैंकहरुले कर्जा प्रवाहमा कडाई गरेकाले यस्तो कर्जा प्रवाह घटेको बताईन्छ । पछिल्लो समय युरोएशियाली मुलक रुस र युक्रेनबीचको युद्धका कारण नेपालमा दैनिक उपभोग्य वस्तुको मूल्य लगातार उकालो लाग्ने क्रम जारी छ । जसमा विदेशबाट आयात हुने पेट्रोलियम पदार्थ, ग्याँस, सुनचाँदीलगायतमा उच्च मूल्यवृद्धि भईरहेको छ । पेट्रोलियम पदार्थको मूल्य पनि पछिल्लो समय हालसम्मकै उच्च पेट्रोलको प्रतिलिटर १ सय ५०, डिजेल र मट्टितेलको प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL