Logo

अर्थमन्त्रीको दाबी-प्रधानमन्त्री र म पुँजीगत खर्च बढाउन निरन्तर लागिपरेका छौं, अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो निराशजनक छेन

अर्थमन्त्रीको दाबी-प्रधानमन्त्री र म पुँजीगत खर्च बढाउन निरन्तर लागिपरेका छौं, अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो निराशजनक छेन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताएका छन् । कास्कीको लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहीबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पूँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिएको जानकारी दिए । ‘पूँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेकोमा प्रधानमन्त्रीज्यू र म पनि चिन्तामा छौं’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले पनि विकासे मन्त्रालयसँग छलफल थाल्नुभएको छ । मैले त बुधबार नै छलफल गरेर बजेटको लक्ष्य र कार्यक्रमअनुसार खर्च बढाउन दबाब दिएको छु । फेरी पनि विभिन्न माध्यमबाट ताकेता गरिरहनेछु ।’

उनले विकास खर्च लक्ष्यअनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताए । ‘अहिलेको तरलता समाधान गर्न ३० अर्ब रुपैयाँ बजारमा आउनुपर्ने देखिन्छ । केही दिनअघि ११ अर्ब रुपैयाँ त आएको छ तर यो समस्या समाधान गर्नका लागि पर्याप्त छैन’ उनले भने । प्रधानमन्त्री देउवासँग समन्वय गरी अर्थतन्त्रमा देखिएका समस्या हल गर्न निरन्तर संवाद अघि बढाएको पनि उने जानकारी दिए ।

पूँजीगत खर्च गर्ने परम्परागत शैलीका कारण लक्ष्यअनुसार उपलब्धि हाँसिल नभएको उनको भनाइ छ । गत बर्ष पनि पूँजीगत खर्चमा उल्लेख्य प्रगति नभएको स्मरण गराउँदै उनले भने, ‘गत बर्षको माघ मसान्तसम्म १७.८६ प्रतिशत पूँजीगत खर्च भएको थियो । यो बर्ष २५ भदौमा प्रतिस्थापन विद्येयक ल्याई बजेट कार्यान्वयन नै ढिला हँुदा पनि गत बर्षको तुलनामा एक प्रतिशत मात्रै कम अर्थात् १६.०८ प्रतिशत पूँजीगत खर्च भएको छ ।’
केही आयोजनाको काम सम्पन्न भएपनि भुक्तानी गर्न बाँकी रहेकाले पँुजीगत खर्च लक्ष्यअनुसार नदेखिएको उनले बताए । आर्थिक बर्षको अन्त्यसम्ममा ९० प्रतिशत पूँजीगत खर्च गर्न निर्देशन दिएको र त्यसमा आफु आशावादी रहेको मन्त्री शर्माले बताए ।

त्यस्तै मन्त्री शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराशजनक अवस्थामा नरहेका बताए । विभिन्न क्षेत्रका तथ्यांक बताउँदै उनले अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान हुने बताए । ‘गत आर्थिक बर्ष ०७७–७८ को पहिलो ६ महिनामा मूल्यवृद्धिको दर ३.५६ प्रतिशत बिन्दुमा थियो । चालू आवको शुरुबाटै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, खाने तेल, प्लास्टिक, स्टील तथा स्टीलजन्य बस्तुलगायको निरन्तर मूल्य वृद्धि हुँदा नेपालमा असर देखिएको छ । यद्यपी, चालू आवको मध्यावधि समिक्षा गर्दा मूल्यवृद्धि दर ५.०३ प्रतिशतमा रही बाञ्छित सिमा भित्रै रहेको छ’ उनले भने ।

गत वर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य सतप्रतिशत बढेको, खाने तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै ७० प्रतिशतसम्म बढेको जानकारी उद्योगीले नै दिएको, प्लास्टिक, स्टील र स्टीलजन्य बस्तुको अन्तर्राष्ट्रिय मूल्य पनि ५० देखी ६० प्रतिशत बढेकोले शोधनान्तरमा चाप परेको बताए । ‘यसरी अन्तर्राष्ट्रिय भाउ बढ्दा हामीले भुक्तानी गर्ने रकम बढ्न गई शोधनान्तरमा चाप परेको हो । यद्यपी, हामीले आयातमा कडाई गर्ने नीति लिएर शोधानान्तर घाटाको हालको स्थितिलाई न्यूनीकरण गर्ने प्रयास गरिरहेका छौं ।’

घट्दो रेमिट्यान्सको समस्या समाधान गर्न हुण्डी कारोबारलाई नियमन गर्न थालेको तथा क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायतका गैरकानूनी आर्थिक क्रियाकलाप रोक्न प्धानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी प्रहरी, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभागलगायतको समन्वयमा क्रियाशील भइरहेको उनले बताए । चालू आर्थिक वर्षमा निर्यात व्यापारमा ठूलो सुधार ल्याएको शर्माले बताए । ‘निर्यातमा निक्कै ठूलो सुधार भएको छ । विगतमा एक खर्बको निर्यात गर्न एक आर्थिक बर्ष कुर्नुपर्ने अवस्था थियो । अहिले त्यसलाई अन्त्य गरिएको छ’ उहाँले भन्नुभयो, ‘यसपाली ६ महिनामै निर्यातमा ९५.५ प्रतिशत सुधार भई निर्यात एक खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म निर्यात झन् सुधार भई एक खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।’

मन्त्री शर्माले निजी क्षेत्रलाई साझेदार नभई अशिंयार बनाई आर्थिक विकासका क्षेत्रमा काम गर्ने बताए । ‘देशको अर्थतन्त्रमा निजी क्षेत्रको ७२ प्रतिशत योगदान छ । यस्तो योगदान गर्ने क्षेत्रलाई सरकार अशिंयार बनाई काम गर्न चाहन्छ’ उनले भने । शर्माले पोखरामा कम्तीमा ५ दिनसमम पर्यटकहरु बस्नैपर्ने गरी पूर्वाधार विकास गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL