Logo

भन्सार छलेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर, ४ करोड ४६ लाख विगो दाबी

भन्सार छलेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर, ४ करोड ४६ लाख विगो दाबी



काठमाडौं । कानूनले तोकेअनुसारको राजस्व र भन्सार महशुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको विकास भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले आज दायर गरेको एक मुद्दाका आधारमा भन्सार छलेर व्यवसाय गर्ने मान्यता व्यवसायीमा देखिएको पाइएको हो ।

विभागले ४ जनाविरुद्ध ४ करोड ४६ लाख ३७ हजार १ सय ८४ रुपैयाँ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । पर्सा पटेर्वा स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौँ–५ बस्ने रवीन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौँ–७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएकोे छ ।

विभागका अनुसार उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ । विभागले बख्रेल र पन्तसँग जनही १ करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग १ करोड ४३ लाख ९२ हजार ३ सय ६ रुपैयाँ र घिमिरेसँग ७ लाख ८० हजार ८ सय १८ रुपैयाँ बिगो माग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्