Logo

आयात प्रतिस्थापनका लागि स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

आयात प्रतिस्थापनका लागि स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्न र विदेशी मुद्राको संचिति बढाउन स्वदेशी उद्योगहरुलाई प्रर्वद्धन गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित नेपाल मुद्रण उद्योग महासंघको चौथो महाधिवेशन तथा साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले स्वदेशी उद्योगहरुले भोगेका समस्याहरुलाई समाधान गर्न पहल गर्ने हो भने यसले आयात प्रतिस्थापन गर्नुका साथै ठूलो मात्रामा बाहिरिने पुँजीलाई स्वदेशमै रोक्न सकिने बताएका हुन् ।

“नयाँ नयाँ टेक्नोलोजि तथा गुणस्तरीय प्रविधिको अभावमा मुद्रण व्यवसायसँग सम्बन्धित वस्तुहरुको आयातमा मात्र ठूलो रकम मुलुक बाहिर जाने गरेको छ । यस सम्बन्धी समस्याको समाधान गर्दै स्वदेशी उद्योगहरुलाई प्रर्वद्धन गर्न सकेमा यसले आयात प्रतिस्थापन गर्दै अहिले बाहिरिएको ठूलो रकम मुलुकभित्रै रोक्न सकिन्छ”, उनले भने ।

८० अर्बको बजार रहेको मुद्रण उद्योगको समस्या समाधन गर्न महासंघको तर्फबाट आफुले पहल गर्ने बताउँदै, उनले यसका लागि लिखित सुझावहरु पेश गर्न आग्रह गरेका थिए । आइएमई समूहका अध्यक्षसमेत रहेका ढकालले आफ्नो समूहले पनि कागज उद्योगमा लगानी विस्तार गरेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्