Logo

दक्षिण अफ्रिकी राष्ट्र बोत्स्वानासंग व्यापार साझेदारी गर्न चेम्बरको प्रस्ताव, राजदूतसँग अध्यक्ष मल्लले राखे यस्तो प्रस्ताव

दक्षिण अफ्रिकी राष्ट्र बोत्स्वानासंग व्यापार साझेदारी गर्न चेम्बरको प्रस्ताव, राजदूतसँग अध्यक्ष मल्लले राखे यस्तो प्रस्ताव



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अफ्रिकी राष्ट्र बोत्स्वानासंग व्यापार साझेदारी गर्न प्रस्ताव गरेको छ । नेपालका लागि बोत्स्वानाका राजदूत जिल्बर्ट एस म्याङगोलसंग जमलस्थित चेम्बर भवनमा बिहीबार भएको भेटवार्तामा व्यापारिक सहकार्य गर्न चेम्बरले आग्रह गरेको हो ।

उदयमान अर्थतन्त्र भएको बोत्स्वानाबाट हिराको कच्चापदार्थ ल्याएर नेपालमा प्रशोधनमार्फत पुन ः निर्यातको सम्भावना रहेकाले पहल गर्न चेम्बर अध्यक्ष राजेन्द्र मल्लले राजदूत म्याङगोलसंग आग्रह गरे । हिरा, तामालगायत बस्तुको निर्यातका लागि बोत्स्वाना विश्वमै प्रख्यात मानिन्छ । नेपाल र बोत्स्वानाबीच भौगोलिक दूरी टाढा भएपनि व्यापारिक माध्यमबाट आर्थिक गतिविधि बढाउन सकिने अध्यक्ष मल्लले बताए ।

नेपाल र बोत्स्वानाबीच सन २००९ मा कुटनीतिक सम्वन्ध स्थापना भएको थियो । भौगोलिक तथा शासकीय दृष्टिकोणले पनि नेपाल र बोत्स्वाना समान भएकाले दुई पक्षीय लगानी, व्यापार, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्न अध्यक्ष मल्लले राजदूत म्याङगोलसंग आग्रह गरे ।

जलविद्युत, भौतिक पूर्वाधार तथा सेवा क्षेत्रमा लगानीका लागि पनि अध्यक्ष मल्लले राजदूत म्याङगोलसमक्ष आग्रह गरे । ‘नेपालको जलविद्युत, भौतिक पूर्वाधार, सेवा क्षेत्रमा थुप्रै मुलुकले लगानी गरिरहेका छन, । उनले भने, हामी बोत्स्वानो निजी क्षेत्रलाई पनि लगानीको सम्भाव्यता अध्ययनका लागि आग्रह गर्दछौं । त्यसका लागि तपाईले पहल गरिदिनपर्यो ।’ नेपाल र बोत्स्वानाको निजी क्षेत्रबीच लगानी तथा व्यापार सहजीकरणका लागि उच्चस्तरीय भेटवार्ताको पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत म्याङगोलसमक्ष आग्रह गरे ।

नेपालको हस्तकलाका सामानहरु, पस्मिना, जडिवुटी तथा चियाको माग विश्वमै उच्च रहेकाले बोत्स्वानामा पनि निर्यात गर्न चाहेको अध्यक्ष मल्लले बताए । हिमालयको देश नेपाल पर्यटनका दृष्टिकोणले समेत उच्च रहेकाले दुई मुलुकबीच पर्यटकीय गतिविधि वढाउन सकिने अध्यक्ष मल्लको भनाई छ ।

जवाफमा राजदूत म्याङगोलले नेपालमा व्यापार सम्भावनाको खोजी गर्न आफुले पहल गर्ने बताए । यस्तै राजदूत म्याङगोलले लगानीको सम्भावना तथा व्यापार सहजीकरणका लागि आफुले पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् । नेपालबाट निर्यात योग्य वस्तुहरुको बजारीकरणका लागि आफ्नो मुलुकका निजी क्षेत्रसंग उच्चस्तरीय भेटवार्ताको पहल गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL