Logo

नेपालको संसदबाट भएको एमसीसी अनुमोदन अमेरिकाद्धारा स्वीकार, प्रधानमन्त्री देउबालाई धन्यवाद

नेपालको संसदबाट भएको एमसीसी अनुमोदन अमेरिकाद्धारा स्वीकार, प्रधानमन्त्री देउबालाई धन्यवाद



काठमाडौं । नेपालको संसदबाट ब्याख्यात्मक टिप्पणीसहित पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको अनुमोदनलाई अमेरिकाले स्वीकार गरेको छ । ब्याख्यात्क टिप्पणीसहित पास भएसँगै सम्झौता अनुमोदनलाई अमेरिकाले स्वीकार गर्ला कि नगर्ला भन्ने प्रश्न उठिरहेको सन्दर्भमा अमेरिकाले परियोजना पारित गरेसँगै एमसीसी कार्यान्वयनको बाटोमा अघि बढेको बताएको छ ।

एमसीसी मुख्यालयले मंगलबार राति जारी गरेको विज्ञप्तिमा एमसीसी सम्झौता अनुमोदन भएसँगै यसअन्तर्गतका परियोजना अघि बढ्नेतिर बाटो खुलेको बताएको हो ।

एमसीसी सम्झौता अनुमोदनपछि नेपाल सरकारसँग सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक देशका रूपमा सहकार्य गर्ने एमसीसीले उल्लेख गरेको छ । ‘एमसीसीले नेपालमा विद्युत विस्तार, ढुवानी खर्चमा कटौती गर्नुका साथै रोजगारी सिर्जना गर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच फोनवार्तासमेत भएको छ । विदेश मन्त्री ब्लिन्केनले मंगलबार राति देउवासँग गरेकोे फोनवार्तामा एमसिसी पारित गरेकोमा धन्यवाद ज्ञापन गरेको बताइएको छ ।

नेपालको ऊर्जा र सडक पूर्वाधारका लागि आएको ५०० मिलियन अमेरिकी डलर संसद्बाट फागुन १५ मा अनुमोदन भएको थियो । अनुमोदन भएलगत्तै काठमाडौंस्थित अमेरिकी राजदूतावासले अब एमसीसी सम्झौता कार्यान्वयनको चरणमा अघि बढेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL