काठमाडौं । पछिल्लो समय सरकारले बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मर्मत गरेरै भएपनि चैत महिनाभित्रै काठमाडौमा मेलम्चीको पानी पुनः वितरण गर्ने बताइरहेको छ । खानेपानी मन्त्री उमाकान्त चौधरी हरेकजसो सार्वजनिक कार्यक्रमहरुमा आगामी चैतभित्रै काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याइपुर्याउने बताउँदै आएका छन् । आईतबार नेपाल खानेपानी संस्थानको ३३ औं बार्षिकोत्सवमा पनि उनले सोही भाई दोहोर्याए । मन्त्री चैधरीले मेलम्ची आयोजनाको कार्यप्रगति पनि भइरहेको दाबी गरे ।
गत बर्षको फाल्गुन १० गतेबाट मेलम्ची नदीको पानीलाई अस्थायी बाँध बनाएर काठमाण्डूमा ल्याइएको थियो । परीक्षणका लागि मात्रै मेलम्चीबाट काठमाडौंमा पानी पुगेपछि केयूकेएलका अधिकारीहरूलगायत काठमाडौंबासी सबैजना खुसी भए । काठमाडौंबासीको अनुहारमा खुसीयाली छायो । तर, त्यो खुसी ४ महिनापनि टिकेन । गत असार १ गते राति आएको अविरल बर्षाका कारण मेलम्ची आयोजनामा गम्भीर क्षति पुग्यो । आयोजनाको हेडवर्क्समा गेग्रान भरियो भरिदा २ दशकको मेहनत खेर गयो । जसका कारण अस्थायी रुपमा काठमाडौं पुगेको मेलम्चीको पानी बन्द भयो
यसपछि सरकारले अध्ययन समिति बनाएर आयोजनाको पुनर्निर्माणका लागि काम अघि बढाएको थियो । त्यसयता ४ महिनाजति त पुनर्निर्माणका लागि भन्दै ठेक्का सम्झौतामै खेर गयो । गत महिना देखि आयोजनाको मर्मतको काम सुरु भएको छ । चीनको सिनो हाईड्रोले उक्त पुनर्निमाणको ठेक्का पाएर काम अघि बढाइसकेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
उनका अनुसार गत जनवरी ३० तारिखदेखि नै उक्त आयोजनाको हेडवर्क्समा भरिएको गेग्रान हटाउने काम भईरहेको छ । पछिल्लो एक महिनामा सन्तोषजनक काम भएको उनले बताए । मन्त्रालयकै निर्देशनमा समितिले ठेकेदार कम्पनीलाई तिव्र काम गर्ने निर्देशन दिएपछि सोहीअनुसार काम भईरहेको उनले बताए । ‘हामीले लक्ष्यअनुसार काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘सोही अनुसार ठेकेदार कम्पनीले पनि उपकरण थपेर काम गरिरहेको छ ।’
हाल आयोजनाको गेट नं। १ मा भएको गेग्रान हटाउने क्रममा ठूलाठूला ढुंगा लागेका छन् । ती ढुंगा हटाइसकेपछि काठमाडौंमा पानी पठाउने गेट खुल्ने र अस्थायी पानी पठाउन सकिने प्रवक्ता पन्तले जानकारी दिए । पन्तका अनुसार तत्कालका लागि केही काम गरेर अस्थायी रुपमा मात्रै काठमाडौंमा पानी खसाल्ने र स्थायी रुपमै पानी ल्याउनका लागि थप अध्ययन भइरहेको छ ।
आयोजनास्थलमा ठूलो क्षति भएकाले र पहिलो आउने सम्भावना अझै भएकाले स्थायी रुपमा पानी पठाउने उपायबारे अध्ययन भइरहेको उनको भनाई छ । ‘पुरानै संरचनाले पुग्ने नपुग्ने, नयाँ संरचना बनाउनुपर्छ कि भन्नेलगायतका विषमा हाल अध्ययन भइरहेको छ,’ उनले भने, ‘उक्त अध्ययनको प्रतिवेदन अनुसार काठमाडौंमा मेलम्चीको पानी स्थायी रुपमै पठाउने प्रक्रिया सुरु गरिने छ ।’
यसको अध्ययनका लागि एशियाली विकास बैं (एडीबी)ले आयोजनामा आएको बाढी पहिरोका कारण पुगेको षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायका लागि जलाधार संरक्षण गर्नै विषयमा अध्ययन गरिरहेको छ । विस २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरी आयोजनाको काम अघि बढाइएको थियो । त्यसको ९ बर्षपछि विस २०६४ सालमा नेपाल सरकार र प्रमुख दाता एशियाली विकास बैंकबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति गरिएको थियो ।
पुनर्संरचनामार्फत आयोजनालाई दुई भागमा विभाजन गरी मुख्य पानी पथान्तरण कार्य मेलम्ची खानेपानी विकास समितिमार्फत्, अनि वितरण तथा व्यवस्थापन कार्य काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय गरिएको थियो । त्यसपश्चात विभिन्न चरणमा भएका बाधाअवरोधका बीच पनि काम अघि बढेर २०७७ फागुन २२ गते मेलम्चीको पानी सुन्दरीजल ल्याइपुर्याइएको थियो ।
यस्तै विस २०७७ चैत १५ गते मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा पठाइएको र चैत २० गते राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन समेत गरिएको थियो । त्यसपछि गत असार पहिलो साता बाढीबाट ठूलो क्षति पुगेसँगै ठप्प रहेको योजना हाल पुनर्निर्माण भइरहेको छ ।