Logo

युद्धमा होमिएका रुस र युक्रेनसँग कस्तो छ नेपालको व्यापारिक सम्बन्ध ? कस्तो असर पर्ला नेपाली अर्थतन्त्रमा ?

युद्धमा होमिएका रुस र युक्रेनसँग कस्तो छ नेपालको व्यापारिक सम्बन्ध ? कस्तो असर पर्ला नेपाली अर्थतन्त्रमा ?



काठमाडौं । युक्रेन र रुसबीच अहिले तीन दिनयता युद्ध चलिरहेको छ । यी दुई मुलुकबीचको द्वन्दले विश्वअर्थतन्त्रमा ठूलो असर गर्ने विश्लेषण विश्लेषकहरुले गरिरहँदा यसको असर नेपालमा पनि पर्न थालेको छ । कोरोना महामारीले संकटमा परेको विश्व अर्थतन्त्र पूर्ण सुधार नहुँदै अर्को भयावह स्थिति आउन लागेको विश्लेषकहरुबताउँछन् । बिहीबार रुसले युक्रेनमाथि हमला गर्दा विश्व अर्थबजारमा प्रत्यक्ष र महत्वपूर्ण मानिने सुन र पेट्रोलियमको मूल्य एकाएक बढ्यो । त्यसदिन सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा उच्च रुपमा बढ्दा पेट्रोलियमको मूल्य ८ बर्षयताकै उच्च पुग्यो ।

यसरी विश्व अर्थतन्त्रमै प्रत्यक्ष सम्बन्ध राख्ने तेल र सुनको मूल्य बढेको असर नेपालमा पनि पर्यो । नेपालमा त्यसदिन सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ५ सय रुपैयाँले बढ्यो भने पेट्रोलियम पदार्थको मूल्य बढ्ने निश्चित जस्तो देखिएको छ । दुई देशको युद्धको विश्व अर्थतन्त्रमा प्रभावसँगै नेपालले पनि ठूलो व्यापार घाटा बेहोर्न सक्ने देखिन्छ ।

पछिल्लो समय नेपालको निर्यात व्यापारमा प्रमुख हिस्सा रहेको खानेतेलको कच्चा पदार्थ खासगरी यी दुई देशबाट आयात हुन्छ । कच्चा खानेतेल, भटमास, सुर्यमुखीको बीयाँलगायत यी दुई देशबाट आउने हुनाले नेपालले यस्ता कच्चा पदार्थ प्रशोधन गरी विदेशमा खानेतेल निर्यात गर्ने गरेको थियो । यस्तै यी दुई देशबाट नेपालले आयात मात्रै नगरी निर्यात पनि सोही अनुसारको गर्ने गरेको विभिन्न तथ्यांकहरुले देखाउँछन् । नेपालको निर्यात व्यापारमा करिव ६० प्रतिशत हिस्सा खानेंतेलको छ ।

नेपालले यसको कच्चा पदार्थ भने रुस र युक्रेनबाट ल्याउँछ । अब यी दुई देशमा चर्किएको युद्धले नेपालको निर्यात व्यापार खस्किने छाँटकाँट त देखिएको छ नै नेपालीको भान्सा पनि महंगिने पक्काजस्तो भयो । नेपालले यी दुई देशमा गर्ने निर्यात व्यापार अब युद्धकै कारण घट्ने अवस्था आउन लागेको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका तथ्यांक विश्लेषक कृष्ण बजगाईँ बताउँछन् । नेपालको यी दुई देशसँगको व्यापार प्रवृत्तिका बारेमा हामीले तथ्यांकीय विश्लेषण गर्ने प्रयास गरेका छौं ।

युक्रेन

युक्रेनसँग नेपालले पछिल्लो ७ महिनामा १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने १५ लाख ७८ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी नेपालले चालु आवको ७ महिनामा मात्रै युक्रेनसँग १४ अर्ब १७ करोड ४२ लाख रुपैयाँ बराबरको व्यापारघाटा बेहोरेको छ ।
युक्रेनबाट भने नेपालले अधिकतम कच्चा खाने तेल आयात गर्ने गरेको तथ्यांकले देखाउँछ । पछिल्लो ७ महिनामा युक्रेनबाट नेपालले ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ बराबरको कच्चा सुर्यमुखी तेल आयात गरेको छ । यस्तै यसै अवधिमा ७९ करोड ४७ लाख रुपैयाँ बराबरको भटमासको कच्चा तेल पनि आयात गरेको तथ्यांकमा उल्लेख छ ।

नेपालले कच्चा खानेतेल मात्रै नभएर युक्रेनबाट जनावरको खाना, जनावरलाई लगाउने खोप, हेलिकप्टर र हवाईजहाजमा प्रयोग हुने केही उपकरणहरु, धनियाँको विउलगायत आयात गर्ने गर्दछ । यता व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका अनुसार भने नेपालले हरेक बर्ष युक्रेनबाट ६ देखि १० अर्व रुपैयाँ बढिको वस्तु खरिद गर्ने गरेको छ । जसमा पहिलो स्थानमा कच्चा तेल, दोस्रोमा मकैको विउ, केराउलगायतका वस्तुहरु पर्दछन् , पछिल्ला ५ बर्षमा युक्रेनबाट नेपालमा हुने व्यापार प्रतिवर्ष १ देखि २ अर्ब रुपैयाँले बढेको देखिन्छ । युक्रेनमा नेपालले यार्सागुम्बा, म्युजिकल उपकरणहरु, गरगहना तथा जडिबुटी निर्यात गर्ने गरेको देखिन्छ ।

रुस

पछिल्लो ७ महिनामा नेपालले रुससँग भने ४ अर्ब १६ करोड १७ लाख रुपैयाँ बरारबरको व्यापारघाटा बेहोरेको छ । जसमध्ये नेपालले रुसबाट ४ अर्ब ३१ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु खरिद गर्दा जम्मा १५ करोड ११ लाख रुपैयाँको वस्तु विक्री गरेको छ । नेपालले रुसबाट खासगरी कच्चा सोयाविन तेल तोरीको बियाँलगायत आयात गर्ने गरेको छ । पछिल्लो ७ महिनामा मात्रै नेपालले रुसबाट २ अर्ब ५८ करोड रुपैयाँ बढीको कच्चा सोयाविन तेल आयात गर्दा ७५ करोड ३० लाख ९५ हजार रुपैयाँ बराबरको तोरीको बियाँ आयात गरेको छ ।

यस्तै नेपालले रुसबाट सुर्यमुखीको बियाँ, केराउ, धनियाँको विउ र चक्लेट पनि आयात गर्ने गरेको छ । नेपालमा इन्टरनेट विस्तारका लागि आवश्यक अप्टिकल फाईबरसमेत रुसबाट आयात हुने गरेको तथ्यांकमा उल्लेख छ । नेपालले पछिल्लो ७ महिनामा ३ करोड ८७ लाख रुपैयाँ बराबरको १ लाख ८७ हजार मिटर अप्टिकल फाईबर रुसबाट मात्रै आयात गरेको छ । पत्रपत्रिका छाप्ने कागज, नेटवर्कसम्बन्धी उपकरणहरु र स्याम्पु पनि नेपालमा रुसबाट आउँछ ।

तर, आयातको हिस्सा रुसभन्दा बढि युक्रेनको नै छ । पछिलो बर्ष रुसबाटको आयात बढेपनि प्रतिबर्ष १ देखि ३ अर्ब रुपैयाँ बराबरको मात्रै वस्तु आयात हुने गरेको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको तथ्यांकले देखाउँछ । रुसबाट नेपालमा आयात हुने वस्तुको पहिलो स्थानमा भने केराउ, पोटासियम क्लोराईड, तोरीको बियाँ, हवाईजहाजका पार्टपुर्जालगायतका वस्तुहरु छन् । रुसमा नेपालले अगरबत्ती, चिया, गलैंचा, तयारी पोशाकलगायत निर्यात गर्ने गरेको छ । तर, यसरी वस्तु निर्यात गर्दा पनि रुससँगको व्यापारघाटा भने उच्च नै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्